चालीस अंक ल्याए जिल्ला न्यायाधीश !

नेपालभ्युज

चालीस अंक ल्याए जिल्ला न्यायाधीश !

काठमाडौं । जिल्ला न्यायाधीश बन्न अब ४० प्रतिशत अंकमात्र ल्याए पुग्ने भएको छ । आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय र मानवअधिकार समितिको बैठकमा न्याय सेवा आयोग ऐन २०७३ को दफा १३ लाई केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकभित्र राखेर संशोधन गर्न सांसदहरु सहमत भएका हुन् ।

मूल विधेयकमा दफा १३ को ४ मा जिल्ला न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्न न्याय सेवा आयोगले लिने परीक्षामा उत्तीर्ण हुनका लागि प्रत्येक पत्रमा कम्तीमा ५० प्रतिशत अङ्क प्राप्त गर्नुपर्ने व्यवस्था यसअघि गरिएको थियो । गत साउन १६ गतेदेखि २० गतेसम्म २९ जिल्ला न्यायाधीशका लागि लिएको परीक्षामा २११ जना परीक्षार्थी सहभागी भए पनि एक जना मात्रै पास भएपछि यसमाथिको बहस सुरु भएको हो ।

उत्तीर्ण हुन कम्तीमा ५० अङ्क ल्याउनुपर्ने व्यवस्थालाई परिमार्जन गरी ४० मा झार्न न्याय परिषद्ले सरकारलाई सुझाव पठाएको थियो ।

यद्यपि नेपाली कांग्रेसका सांसदहरु भने यसको विपक्षमा उभिएका थिए । कांग्रेस सांसद जीवन परियारले ४० अंक ल्याउनेलाई न्यायाधीश बनाउन नहुने भन्दै परीक्षाको पाठ्यक्रम र विधिलाई व्यवस्थित गर्न आवश्यक रहेको बताउँदै पास हुन ५० अंक ल्याउने वर्तमान कानुन सही रहेको जिकिर गरे ।

समिति बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले जिल्ला न्यायाधीश उत्तीर्ण हुनका लागि कम्तीमा ४० प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्थामा सहमति जनाउन सांसदहरूलाई आग्रह गरेका थिए । उनले ४० अंक ल्याउँदा पास हुने व्यवस्थाले कुनै कमजोरी ननिम्तने तर्क गर्दै बढी अंक ल्याउनेलाई प्राथमिकताका आधारमा नियुक्त गर्न सकिने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved