गण्डकीमा राप्रपालाई फकाउँदै एमाले, सरकार गठनमा साथ दिए केन्द्रसम्मै अवसरको ‘अफर’

नेपालभ्युज

गण्डकीमा राप्रपालाई फकाउँदै एमाले, सरकार गठनमा साथ दिए केन्द्रसम्मै अवसरको ‘अफर’

काठमाडौं । नेकपा (एमाले)ले गण्डकी प्रदेशमा सरकार गठनका लागि निर्णायक मानिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सहमतिमा ल्याउने प्रयास तीब्र बनाएको छ ।

अघिल्लो साता काठमाडौंमा अध्यक्ष राजेन्द्र लिङदेनलाई बोलाएर गठबन्धनमा सहभागी हुन आग्रह गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार पोखरामा राप्रपाका गण्डकी प्रदेश सदस्यहरुलाई सहमतिमा आउन प्रस्ताव गरेका हुन् ।

स्रोतका अनुसार, प्रधानमन्त्री पुष्पकमल दाहालसमेत सहभागी काठमाडौंको छलफलमा अध्यक्ष लिङदेनले आफुहरु आन्दोलनमा रहेकाले तत्काल गठबन्धनमा सहभागी नहुने जवाफ दिएका थिए ।

लगत्तै बसेको राप्रपा केन्द्रीय पदाधिकारीको बैठकले प्रदेश सरकार गठनमा बर्तमान गठबन्धनलाई समर्थन नगर्ने औपचारिक निर्णय गरेको छ ।

उसले कांग्रेससहितको गठबन्धनलाई साथ दिने नदिने बारे निर्णय गर्ने अधिकार भने अध्यक्ष लिङदेनलाई दिएको छ । गत महिना गठबन्धन बनेलगत्तै शीर्ष नेताहरुले फरक एजेन्डा बोकेको दललाई सहभागी नगराउने बताएपछि राप्रपा रुष्ट छ ।

नयाँ राजनीतिक समीकरणले गण्डकीमा सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले यहीँ २७ गतेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरुलाई आह्वान गरिसकेका छन् ।

राप्रपाको साथ बिना गण्डकीमा गठबन्धनलाई सरकार गठन गर्न कठिन छ । ६० सदस्य रहेको प्रदेशसभामा एमालेका २२ र माओवादीका ७ (समामुखबाहेक) छन् । राप्रपाका २ सदस्य छन् । सरकार गठनमा राप्रपाले साथ दिए बहुमत संख्या ३१ पुग्नेछ ।

राप्रपालाई मनाउने प्रयासस्वरुप पोखरामा रहेका एमाले अध्यक्ष ओलीले शुक्रबार राप्रपा संसदीय दलका नेता पञ्चराम तमु गुरुसँग लामै वार्ता गरेका छन् । नेता तमुसँगको भेटमा अध्यक्ष ओलीले गठबन्धनलाई सहयोग गर्न र सहकार्य गरेर अघि बढ्न आग्रह गरेका थिए ।

अध्यक्ष ओलीले भने, ‘खगराज अधिकारी नेतृत्वको सरकारमा राप्रपा सहभागी हुँदा धेरै राम्रो काम भएको छ । र अब पनि मिलेर जाँदा धेरै काम हुन सक्छ । त्यसैले मिलेर जाउँ ।’

यसअघि आवश्यक परे राप्रपालाई नै मुख्यमन्त्री दिन सकिने बताएका ओलीले शुक्रबारको भेटमा भने गण्डकीमा गठबन्धनलाई साथ दिए केन्द्रसम्मै सहकार्य गर्न सकिने धारणा राखेका थिए । यद्यपि शुक्रबारको भेटमा भने अध्यक्ष ओलीले मुख्यमन्त्रीको अफर नगरेको नेता तमुले बताए ।

राप्रपाले सरकार गठनमा साथ नदिने र नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गर्ने त्रासका बीच एमाले माओवादी गठबन्धन संकटमा परेको हो । सरकार गठनका लागि गठबन्धनलाई दुवैका साथ अपरिहार्य छ ।

स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपा (एकीकृत समाजवादीं) त्यागेर पाण्डे नेतृत्वको सरकारमा सहभागी भएका थिए । मनाङे र राप्रपाले साथ दिए तथा नेसपाका फणिन्द्रले फ्लोर क्रस गरे गण्डकीमा कांग्रेस नेतृत्वको सरकार गठन हुनेछ ।

यो अवस्था बुझेका ओलीले तमुसँगको भेटमा सत्ता गठबन्धनलाई साथ नदिने हो भने कांग्रेसलाई समर्थन नगरी तटस्थ बस्न आग्रह गरेका थिए। तमुले आफूले मात्र चाहेर नहुने बताउँदै केन्द्रीय नेतृत्वको निर्णय अन्तिम हुने जवाफ ओलीलाई दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved