राहुल गान्धीको सम्पत्ति कति ?

नेपालभ्युज

राहुल गान्धीको सम्पत्ति कति ?

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेस पार्टीका पूर्वअध्यक्ष तथा लोकसभा सांसद राहुल गान्धी(Rahul Gandhi)ले बुधबार केरला राज्यको वायनाड लोकसभा सीटबाट उम्मेदवारी दर्ता गराएका छन्।

सन् २०१९ मा गान्धीले उत्तर प्रदेशको अमेठीसँगै केरलाको वायनाड सीटबाट पनि चुनाव लडेका थिए ।

अमेठीमा राहुलले भाजपाकी स्मृति इरानीसँग हार व्यहोरेका थिए भने वायनाडबाट विजयी भएका थिए ।

राहुलले यसपटक अमेठीबाट चुनाव लड्ने कि नदिने भन्नेमा पार्टी मौन छ ।

मनोनयनअघि गान्धी र बहिनी प्रियंका गान्धीले वायनाडमा दुई किलोमिटर लामो रोड शो गरेका थिए । गत निर्वाचनमा उनले सो क्षेत्रमा भारतीय जनता पार्टी (भाजपा)का उम्मेदवार पीपी सुनीरलाई चार लाख मतान्तरले पराजित गरेका थिए ।

यस सिटमा आगामी अप्रिल २६ मा मतदान हुँदैछ । जिल्ला कलेक्टरको कार्यालयमा उम्मेदवारी दर्ता गर्दा गान्धीले आफ्नो भिडियो सोशल मिडिया प्लेटफर्म एक्समा पोस्ट गरेका छन् ।

राहुलले लेखेका छन्, ‘वायनाड मेरो घर हो र यहाँका मानिसहरू मेरो परिवार हुन्। मैले विगत पाँच वर्षमा उहाँहरूबाट धेरै कुरा सिकेको छु र उहाँहरूले मलाई धेरै माया र स्नेह देखाउनुभएको छ। धेरै गर्व र नम्रताका साथ, म यो सुन्दर भूमिबाट लोकसभा सन् २०२४ को लागी मेरो उम्मेदवारी दर्ता गरेको छु।’

गान्धीले उम्मेदवारी दर्ता गरेसँगै चुनावी शपथ पत्रमा धेरै जानकारी बाहिर आएको छ । उनले आफ्नो नाममा कुनै पनि सवारी साधन नभएको शपथपत्रमा उल्लेख गरेका छन् ।

धनमा वृद्धि

गान्धीले आफ्नो शपथपत्रमा विगत ५ वर्षमा ६ करोड रूपैयाँ आम्दानी गरेको बताएका छन् ।

राहुलले आफ्नो कुल सम्पत्ति २०.३९ करोड बराबरको रहेको उल्लेख गरेका छन् । यसअघि सन् २०१९ मा उनले १५.८८ करोड रूपैयाँ बराबरको सम्पत्ति रहेको घोषणा गरेका थिए ।

पछिल्लो पाँच वर्षमा गान्धीको सम्पत्ति करिब ५ करोड रूपैयाँ बराबरले बढेको छ ।

शपथपत्रका अनुसार राहुल गान्धीसँग ५५ हजार रूपैयाँ नगद र २६.२५ लाख रूपैयाँ दुई बैंक खातामा रहेको छ ।

कति छ सेयरमा लगानी ?

गान्धीले आफूसँग १ लाख ९० हजार रूपैयाँ बराबरको यंग इन्डियनका १९०० कित्ता सेयर रहेको बताएका छन् ।

गान्धीले आफूले २५ कम्पनीको शेयर किनेको र त्यसमा ४.३३ करोड खर्च भएको शपथपत्रमा उल्लेख गरेका छन् ।

यसबाहेक उनीसँग सात म्युचुअल फण्डमा रू ३.८१ करोड र करिब १५ लाख बराबरको सुनको ऋणपत्र पनि छ ।

शपथपत्रअनुसार गान्धीले ६१.५२ लाख रूपैयाँ बिमा जम्मा गरेका छन् ।

उनीसँग ४.२० लाख रूपैयाँ बराबरको सुन र अन्य प्रकारका गरगहना छन् । गान्धीको कुल चल सम्पत्ति ९.२४ करोड रूपैयाँ छ ।

घर जग्गा कति छ ?

शपथपत्रका अनुसार गान्धीसँग करिब ११ करोड १५ लाख रूपैयाँको अचल सम्पत्ति छ ।

राहुलले दिदी प्रियंका गान्धीसँग मिलेर दिल्लीको महरौलीको सुल्तानपुर गाउँमा दुईवटा कृषि जग्गा लिएको बताएका छन्, जसमा उनको आधा सेयर छ ।

शपथ पत्रअनुसार उक्त जग्गाको हालको बजार मूल्य २ करोड १० लाख रूपैयाँ रहेको छ ।

यसबाहेक गान्धीको नाममा गुरूग्राममा ५ हजार ५३८ स्क्वायर फिटको अफिस स्पेस छ, जसको हालको मूल्य करिब ९ करोड रूपैयाँ छ ।

कहाँबाट अध्ययन गरे ?

शपथ पत्रमा गान्धीले सन् १९८९ मा सीबीएसईबाट १२ कक्षा उत्तीर्ण गरेको बताएका छन् ।

त्यसपछि उनले सन् १९९४ मा अमेरिकाको फ्लोरिडाको रोलिन्स कलेजबाट ब्याचलर अफ आर्ट्स गरे ।

उनले सन् १९९५ मा क्याम्ब्रिज विश्वविद्यालयको ट्रिनिटी कलेजबाट विकास अध्ययनमा एमफिल गरेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved