भारतमा लद्दाखलाई भिन्नै राज्यको मान्यता दिन माग, हिउँको बीचमा वाङचुकको आमरण अनशन

उनी माइनस १० डिग्री तापक्रम भएको लेहमा खुल्ला चौरमा अनशन बसिरहेका छन् । लेहमा यतिखेर हिमपातको मौसम छ । लद्दाखी जनताले उनको अनसनलाई समर्थन गरिरहेको देखिन्छ ।

नेपालभ्युज

भारतमा लद्दाखलाई भिन्नै राज्यको मान्यता दिन माग, हिउँको बीचमा वाङचुकको आमरण अनशन

काठमाडौं । भारतमा प्राचीन हिमाली राज्य लद्दाखलाई भिन्नै राज्यको मान्यता दिनुपर्ने माग चर्किँदै गएको छ । प्रसिद्ध लद्दाखी बुद्धिजीवी, म्यागासेसे पुरस्कार विजेता, आविष्कारक तथा नागरिक अभियानकर्मी सोनाम वाङचुक लद्दाखी स्वायत्तताको पक्षमा आमरण अनशनमा बसेपछि यो माग अगाडि आएको हो ।

सन् २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले संविधानको धारा ३७० खारेज गर्दै जम्मू-कश्मीरको विशेष स्वायत्तता अन्त्य गरेको थियो । त्यसअघि जम्मू-कश्मीर राज्यको अङ्ग रहँदै आएको लद्दाखले केन्द्रशासित प्रदेशको मान्यता पाएको थियो ।

लद्दाख निकै पालतो वस्ती भएको हिमाली पठार क्षेत्र हो । यसको उत्तरमा चीनको तिब्बत पर्दछ भने पूर्वमा हिमाञ्चल प्रदेश छ । पूर्वदक्षिण जम्मू-कश्मीर र अक्साई चीन क्षेत्र पर्दछ । लद्दाखीको शताब्दीऔंदेखि आफ्नै भाषा, संस्कृति र पहिचान छ ।

लद्दाखको क्षेत्रफल ५९ हजार १४६ वर्ग किलोमिटर छ । यो भारतका राज्य र केन्द्रशासित राज्यमध्ये क्षेत्रफलमा १७औं ठूलो हो । तर, जनसङ्ख्याको आधारमा भने यो ३४औं स्थानमा पर्छ । सोनाम वाङचुक भन्छन्— लद्दाखभन्दा साना धेरै राज्यले प्रदेशको मान्यता पाएका छन्, लद्दाख किन केन्द्रशासित हुने ? लद्दाखी जनताले आफ्नो प्रदेशसभा आफैँ निर्वाचित गर्न र आफ्नो शासनप्रशासन आफैँ चलाउन पाउनु पर्दछ ।

आमरण अनशनकै क्रममा उनले पत्रकारलाई भनेका छन्, “लद्दाख कुनै उपनिवेश हैन, टाढाका मान्छे आएर यहाँ शासन प्रशासन चलाउने हो भने लद्दाखी जनताको स्वायत्तता र लोकतान्त्रिक अधिकार खै कहाँ गयो ? यो पुरानो समयको उपनिवेशिक तरिका हो, अब मान्य हुँदैन ।”

उनले मार्च ६ बाट आमरण अनशन सुरू गरेका हुन् ।

को हुन् सोनाम वाङचुक ?

भोक हड्तालमा बसेका सोनाम वाङचुक एक प्रतिष्ठित आविष्कारक, बुद्धिजीवी तथा नागरिक अधिकारकर्मी हुन् । सन् २०१८ मा उनले रोमान म्यागासेसे पुरस्कार पाएका थिए । भनिन्छ— बलिउडको चर्चित सिनेमा ‘थ्री इडियट्स’ उनकै जीवनीबाट प्रभावित थियो । यस सिनेमामा मूल पात्रलाई फुन्सुक वाङडुको नाम दिइएको छ । अमिर खानले यो भूमिका गरेका छन् ।

आमरण अनशनअघि उनका सहयोगीले सङ्घीय गृहमन्त्री अमित शाहसँग कुराकानी गरेका थिए । तर, त्यो वार्ता कुनै निष्कर्षका पुग्न सकेन । वाङचुकले ‘सरकारको असंवेदनशील व्यवहारले लद्दाखी जनता निराश’ भएको बताए ।

भारतीय जनता पार्टीले सन् २०१९ यता चुनावी घोषणापत्रमा लद्दाखलाई विशेष स्वायत्त क्षेत्रको मान्यता दिने प्रतिबद्धता जनाउँदै आएको छ । तर, सोनाम वाङचुकले भने राज्यको मान्यता दिनुपर्ने माग गरेका छन् ।

उनले आफ्नो अनशनलाई ‘क्लाइमेट फष्ट’ को नाम दिएका छन । र, यो २१ दिनको हुनेछ । उनी माइनस १० डिग्री तापक्रम भएको लेहमा खुल्ला चौरमा अनशन बसिरहेका छन् । लेहमा यतिखेर हिमपातको मौसम छ ।

लद्दाखी जनताले उनको अनशनलाई समर्थन गरिरहेको देखिन्छ । सोनाम यसअघि पनि पाँच दिन भोक हड्तालमा बसेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved