महिला उद्यमी मेलामा स्थानीय उत्पादनलाई प्राथमिकता

नेपालभ्युज

महिला उद्यमी मेलामा स्थानीय उत्पादनलाई प्राथमिकता

दमौली । तनहुँको दमौलीमा शुक्रबारदेखि सुरु भएको महिला उद्यमी मेलामा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ ।

महिला उद्यमी सङ्घ तनहुँको आयोजनामा दमौलीको खुला मैदानमा सुरु भएको मेलामा तनहुँका अतिरिक्त मुस्ताङबाटसमेत महिला उद्यमीले स्थानीय उत्पादन बिक्रीवितरणका लागि ल्याएका छन् ।

मेलामा तनहुँभित्रका सङ्घमा आबद्ध विभिन्न इकाइबाट महिलाका अतिरिक्त मुस्ताङको घरपझोङ गाउँपालिका–३ बाट स्थानीय उत्पादन बिक्री वितरणका लागि ल्याइएको छ ।

मार्फा, फलफूल तथा तरकारी प्रशोधन उद्योगका सञ्चालक सुकुना रसाइलीले मुस्ताङमा उत्पादित विभिन्न सामग्री बिक्री वितरण तथा प्रदर्शनीका लागि ल्याएको जानकारी दिए ।

उनले भने, “महिला उद्यमीले उत्पादन गरेका सामग्री बिक्री वितरण गर्ने कार्यक्रम हुँदैछ भन्ने जानकारीमा आएपछि दमौली आइपुगेका हौँ । मेलामा मुस्ताङमा उत्पादित अर्गानिक सामग्री बिक्रीका लागि राखिएका छन् ।”

रसाइलीका अनुसार सिस्नोको पाउडर, जिम्बु, आलुको चिप्स, रातो मकै, टिमुरको छोप, स्याउको जुस बिक्रीका लागि राखिएको छ ।

मेलामा हालै मात्र सीप सिकेर साबुन बनाएका महिलाले झोल साबुन बिक्रीका लागि राखेका छन् । म्याग्दे गाउँपालिकाको सहयोगमा सीप सिकेका महिलाले आत्मनिर्भर बन्दै आयआर्जनका लागि झोल साबुन बिक्रीका लागि राखेका हुन् । मेलामा व्यास नगरपालिका–११ महिलाले थाकलबाट बनाइएको टोपी प्रदर्शन तथा बिक्रीका लागि राखेका छन् ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सङ्घले पहिलो पटक व्यापार प्रदर्शन एवं प्रवर्द्धन मेला आयोजना गरेको हो । महिला उद्यमीले उत्पादन गरेका सामग्री बिक्री वितरण गर्ने उद्देश्यसहित मेला आयोजना गरिएको सङ्घकी अध्यक्ष निर्मला मल्लले जानकारी दिइन् ।

अध्यक्ष मल्लले भन्नुभयो, “परम्परागत सीप र पेसालाई प्रवर्द्धन गर्न र स्थानीय उत्पादन बिक्रीका लागि मेला सहयोगी हुने विश्वास लिएका छौँ । यसले महिला उद्यमीलाई थप प्रोत्साहन हुनेछ ।” उहाँका अनुसार मेलामा ५० स्टल रहेका छन् ।

मेलामा होजियारी, हस्तकला, कृषिजन्य सामग्री बिक्री वितरणका स्टल रहेका छन् । मल्लका अनुसार बाहिरबाट खरिद गरेर ल्याइएका सामग्री बिक्री वितरण गर्न नपाइने र स्थानीयस्तरमा उत्पादित वस्तुमात्रै बिक्री गर्न पाइनेछ । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved