शालीन आत्महत्या प्रकरण : ‘गर्ल्स होस्टल’मा विद्यालयले किन राख्यो पुरुष वार्डेन ?

फागुन १२ गते कक्षा ८ मा अध्ययनरत एक छात्रा शालीन मृत अवस्थामा भेटिएको घटनामा अनुसन्धान हुँदैगर्दा ‘बालिका राख्ने होस्टलमा वार्डेन किन महिला नराखिएको’ भन्दै विद्यालयको आलोचना भएको छ ।

नेपालभ्युज

शालीन आत्महत्या प्रकरण : ‘गर्ल्स होस्टल’मा विद्यालयले किन राख्यो पुरुष वार्डेन ?

काठमाडौं । चितवनको रत्ननगर १० मा रहेको शिशु निकेतन माविको छात्रावासमा शालीन पोखरेल मृत अवस्थामा भेटिएको घटनामा ‘वार्डेन’ महिला किन नराखिएको भन्ने प्रश्न उठेको छ ।

फागुन १२ गते कक्षा ८ मा अध्ययनरत एक छात्रा शालीन मृत अवस्थामा भेटिएको घटनामा अनुसन्धान हुँदैगर्दा ‘गर्ल्स होस्टलमा वार्डेन किन महिला नराखिएको’ भन्दै विद्यालयको आलोचना भएको छ ।

यो घटनामा सालिनको मृत्यु आत्महत्या नभएर बलात्कारपछि हत्या गरेर झुन्ड्याइएको हो भन्ने परिवारको दाबीपछि घटना झनै गम्भीर मात्रै बनेको छैन, यसबारे अनेकन शंका र आशंका पनि उब्जिन सुरु भएको छ । त्यसलाई बल पुग्ने कमजोरी विद्यालय प्रशासनको देखिएको कतिपय बताउँछन् ।

तीनतले भवन रहेको स्कुलको तेस्रो तलामा छात्रावास थियो । शालीन दुई वर्षयता त्यही पढ्दै आएकी थिइन् । त्यही झुन्डिएको अवस्थामा भेटिएकी हुन् ।

विद्यालय प्रशासनका अनुसार होस्टेलमा पाँच जना छात्रा र २६ जना छात्रहरू अलग–अलग बस्दै आएका थिए । छात्र र छात्राको भवन बीचमा च्यानलगेट रहेको बताए पनि वार्डेन भने पुरुष नै थिए । पाँचजना छात्रको लागि वार्डेन पुरुष नै थिए, महिला थिएनन् । बालिकाको सबै रेखदेख पुरुष वार्डेनले नै गर्थे ।

घटनामा प्रहरीले गम्भीर अनुसन्धान जारी रहेको बताए पनि मृतकका परिवारका सदस्यहरू विश्वस्त छैनन् । उनीहरूले यो घटना आत्महत्या नभएर हत्या भएको दाबी मात्रै गरेका छैनन्, बलात्कारपछि हत्या भएको जिकिर गरिरहेका छन् ।

मृतकका बुबा दीपेन्द्र पोखरेलले भने, ‘हामीलाई आएको प्रारम्भिक विवरणलाई आधार मान्दा उनको मृत्यु स्वाभाविक छैन । बलात्कारपछि हत्या भएको हो भन्ने हामीलाई लाग्छ ।’

झुन्डिएर आत्महत्या गरेको भनिएकी शालीनको यौनाङ्ग र गालामा कसरी चोट ?

प्रहरीका अनुसार शालीन मृत फेला परेको कोठामा पाँच जना छात्रा सँगै बस्थे । घटनापछि प्रहरीले उनीहरूसँग पनि सोधपुछ गरेको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका डीएसपी श्रीराम भण्डारीले गहन अनुसन्धान थालिसकेको बताए ।

उनले भने, ‘होस्टेल कोठाको पङ्खामा झुन्डिएको अवस्थामा शव भेटिएको हो । हामीले सुसाइड नोट पनि बरामद गरेका छौँ ।’

त्यस दिन खाना खाने बेलाहुँदा सालिन जुत्ता धुँदै गरेको र पछि खाना खान आउँछु भनेकी थिइन् । खाना खाएर यताबाट साथीहरू जाँदा बस्ने कोठाको ढोका खोल्न नसकेपछि फोडेर हेर्दा झुन्डिएको सीसीटीभीमा देखिएको बताइएको छ ।

‘‘उनका साथीहरू जाँदा ढोका खुलेन । पछि शिक्षक पनि आएर जोड गरेर ढोका खोलेको देखिन्छ । ढोका खोल्दा उनले पासो लगाएर आत्महत्या गरेको देखियो । प्रहरीलाई विद्यालयबाटै खबर भएको हो,’ डीएसपी भण्डारीले भने ।

गोरखा घर भए पनि उनी रत्ननगर–१५ माधवपुर मामा घरमा रहँदै आएकी थिइन् । बाबुआमाको सम्बन्धविच्छेदपछि उनको संरक्षकत्वमा आमा रहेकी थिइन् ।

परिवारका अनुसार सालिन साढे तीन वर्षकी हुँदा आमाबाबुको सम्बन्धविच्छेद भएको थियो । घटनापछि वैदेशिक रोजगारीमा दुबई रहेकी आमा नेपाल फर्केकी छन् । काठमाडौंमा रहेका बाबुले सम्बन्धविच्छेद भए पनि छोरीको पढाइ खर्च दुवै मिलेर ब्यहोरिरहेको बताए ।

होस्टेल घटना : शालिन पोखरेलको सुसाइड नोट भेटियो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved