कृषि अनुदान लिन कागज नभएर उत्पादन देखाउनु पर्छ : अर्थमन्त्री महत 

नेपालभ्युज

कृषि अनुदान लिन कागज नभएर उत्पादन देखाउनु पर्छ : अर्थमन्त्री महत 

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले कृषि अनुदान लिनका लागि उत्पादन देखाउनु पर्ने बताएका छन् ।

कांग्रेसको महासमिति बैठकमा देशको अर्थतन्त्र सुधारका लागि आफ्नो पार्टी सरकारमा रहँदा के–के गर्यो त्यसको प्रस्तुति दिँदै उनले अबका दिनमा कृषि अनुदान लिनका लागि उत्पादन देखाउनु पर्ने बताएका हुन् ।

कृषि अनुदानमा बिचौलिया हाबी भएको र फ्रड व्यक्तिहरूको बिगबिगी भएकाले वास्तविक किसानसमक्ष कृषि अनुदान पुग्न नपाएको बताउँदै उनले अबका दिनमा कृषि अनुदानका लागि उत्पादन देखाउनु पर्ने कुरामा उनी अडिग छन् ।

अर्थमन्त्रीको कार्यभार आफूले सम्हालिरहँदा देशको अर्थतन्त्रका धेरै सूचकहरू सुस्त रहेको उनको भनाई छ । त्यो समयमा सरकारी बजेटलाई स–साना आयोजनाहरूमा छर्ने काम गरेका हुनाले देशको अर्थतन्त्र लथालिंग अवस्थामा भएको उनले बताएका छन् ।

सोही समयमा स–साना आयोजनाहरूमा बजेट छरेको कारणले अहिले सरकारले तिर्नुपर्ने ऋणको दायित्व बढेको र अहिले पुँजीगत खर्च पनि कम भएको उनको भनाई छ ।

‘पहिला स–साना आयोजनाहरूमा बजेट छर्ने काम भएकाले सरकारी बजेट र देशको अर्थतन्त्र लथालिंग थियो । बैंक तथा वित्तीय संस्थाका कर्जाहरु अनुत्पादक क्षेत्र तथा रिस्की क्षेत्रमा लगानी भएको थियो त्यसैले पनि त्यो समयमा आर्थिक सूचकहरू सुस्त थिए’, उनले भने ‘त्यो समयमा लगानी सुरुवात गरेका छिटपुट आयोजनाहरूको कारण सरकारले तिर्नुपर्ने ऋणको दायित्व बढ्यो, त्यसैको भारको कारण अहिले पुँजीगत खर्चमा कमी आएको छ ।’

यद्यपि, चालु आवको आगामी ६ महिनामा सरकारको पुँजीगत खर्च ह्वातै बढाउन आफूले भरपुर प्रयास गरिरहेको उनले बताए ।

देशको अर्थतन्त्र सुधार्न आफ्नो पाटी सरकारमा रहँदा धेरै प्रयासहरु गरेको बताउँदै उनले १ सय रुपैयाँमा कम्पनी खोल्न पाउने व्यवस्था लागु गरेको, निजी क्षेत्रको मनोबल उच्च बनाउन निकै प्रयासहरू भएको, मौद्रक नीति  खुकुलो बनाएको, घरजग्गा कित्ताकाट फुकुवा गरेको, बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा कडाइ गरेको लगायतका बुदाँहरुलाई उठाए ।

उनले नेपालमा पर्यटनको सम्भावना धेरै देखेको बताउँदै आगामी दिनमा पर्यटकीय क्षेत्रमा लगानी बढाइने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved