स्क्वायर होटेल घटना : पीडित पक्ष भन्छ- लापरबाही, होटेल भन्छ- दुर्घटना

पुलचोकस्थित होटेल स्क्वायरको स्वीमिङ पुलमा करेन्ट लागेर घाइते भएको घटनामा पीडित पक्षले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेपछि होटेल पक्षले भने दुर्घटना भएको जनाएको छ ।

नेपालभ्युज

स्क्वायर होटेल घटना : पीडित पक्ष भन्छ- लापरबाही, होटेल भन्छ- दुर्घटना

काठमाडौं । पुलचोकस्थित होटेल स्क्वायरको स्वीमिङ पुलमा करेन्ट लागेर घाइते भएको घटनामा पीडित पक्षले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेपछि होटेल पक्षले भने दुर्घटना भएको जनाएको छ ।

घटनाको ६ महिनापछि मात्र जाहेरी परेको सो घटनामा होटेल पक्षले भने भवितव्य भएको दाबी गरेको हो ।

गत १५ भदौमा स्विमिङ पुलमा पौडी खेल्दा पुलचोकका ४१ वर्षीय सजिलमान शाक्यलाई करेन्ट लागेको थियो ।

घटनापछि अचेत रहेका उनको  उपचार भइरहेको छ । सो घटनामा पीडितका आफन्तले ज्यान मार्ने उद्योग अन्तर्गत प्रहरीमा जाहेरी दिएका छन् । सोही आधारमा होटेल स्क्वायरका प्रबन्ध निर्देशक रोमी अर्याल पक्राउ परेकी छन् ।

यसअघि होटेलकी अर्की सञ्चालिका ललिता भण्डारी देवकोटाले माघ ७ मा प्रहरीमा आत्मसमर्पण गरेकी थिइन् । ललिता अदालतको आदेश अनुसार ‘तारेख’मा रिहा भइसकेकी छिन् ।

घाइते भका सजिलमान शाक्यका आफन्तले भने होटेलका उद्देश्य ‘ज्यान मार्ने मनसाय’ रहेको दाबी गर्दै जाहेरी दिएका छन् ।

‘न्याय पाउँ’ भन्दै मङ्गलवार ललितपुरमा प्रदर्शन समेत गरे । प्रदर्शनमा शाक्यका परिवार, शुभेच्छुकलगायत झन्डै १५ सय जना सहभागी थिए ।

पीडितका आफन्तहरू मंगलबजारबाट सुरू भएको प्रदर्शन पाटन दरबार स्क्वायर, कुमारीपाटी, जिल्ला प्रशासन कार्यालय ललितपुर, जावलाखेलहुँदै पुल्चोकस्थित होटेल स्क्वायर पुगेका थिए ।

होटेल स्क्वायरको लापरबाहीले स्वीमिङ पुलमा उनलाई करेन्ट लागेको परिवारका सदस्यहरूको भनाइ छ । सजिलमान झन्डै पाँच महिनादेखि अचेत रहेको उनका भाइ विवेकले बताएका छन् । आफ्नो दाजु अचेत हुनुमा पुल्चोकस्थित होटेल स्क्वायर जिम्मेवार रहेको उनको दाबी छ ।

उनी भन्छन्, ‘‘स्विमिङ पुलमा करेन्ट थियो । यसैले मेरो दाजुलाई करेन्ट लाग्यो । बाहिरबाट भाउजू र होटलका स्टाफले हातमा समातेर तानेर बाहिर निकाले । यसैले बाँच्न त सफल भए त अचेत नै छन् ।’’

स्वीमिङ पुलसँगैको फोकस लाइट भएको ठाउँबाट बिजुली चुहावट भएकोले दुर्घटना भएको विवेकको भनाइ छ । उनी भन्छन्, ‘‘करेन्ट लिग भइरहेको रहेछ, पानीभित्रै भएका बेला दाइको हातले त्यहाँ छुन पुगेछ । यसैले करेन्ट लाग्यो ।’’

यता होटलले भने आफूहरूको नियत ग्राहकलाई चोट पुर्‍याउने नभएको र भवितव्य भएको बताएको छ । साथै आफ्नो होटलभित्र भएको घटनाको जिम्मेवारी लिन आफूहरू तयार भए पनि ज्यान मार्ने नियत भने नभएको होटेल सञ्चालकहरू बताउँछन् ।

‘‘हाम्रो होटलमा ग्राहकहरू जति आए त्यति राम्रो हो । यसैले उहाँहरूको राम्रोकै लागि धेरै सेवासुविधा दिइरहेका हुन्छौँ । यत्रो लगानी गरेको ठाउँमा कोही ग्राहकलाई नराम्रो होस् भनेर कसले सोच्छ र । यसैले त्यो दिन दुर्घटना भएको हो । अर्को कुरा पानीमा करेन्ट फैलिएको थिएन । त्यो दिन अरू धेरैले स्विमिङ गरेका थिए,’’ होटेलका एक अधिकारीले नेपालभ्यूजसँग भने ‘‘तर, सजिलमानजीले भने स्विमिङ गर्दागर्दै स्विमिङ पुलको माथि रहेको बत्तिमा अँगालो हाल्न पुग्नुभएछ । त्यसकारण त्यहाँबाट उहाँलाई करेन्ट लागेको सीसीटीभी फुटेज हेर्दा देखिएको छ । पानीमा खेल्दा लागेको देखिएको छैन । तर जे भएपनि त्यो घटनाको जिम्मा हामी लिन्छौँ । उपचार खचै बेहोरौँ भनेका छौँ । तर, उहाँहरू अनावश्यक बार्गेनिङ गर्दै ज्यान मुद्दा हाल्न गए ।’’

होटलले बिजुली चुहावट नरोक्दा भएको लापरबाहीले सजिलमान अचेत अवस्थामा पुगेको भन्दै परिवारले जिल्ला प्रहरी परिसर ललितपुरमा होटेल सञ्चालकविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत जाहेरी दिन पुगेका थिए ।

तर प्रहरीले समयमै जाहेरी नलिएको पीडित सजिलमानका भाइ विवेक बताउँछन । धेरैपछि सरकारी वकिलमार्फत जाहेरी दिइएपछि प्रक्रिया अघि बढेको जानकारी पाइएको उनले बताए । यता होटेल पक्षले भने घटनालगतै प्रहरीलेले सीसीटी फुटेज मागेकोले दिएको बताएको छ ।

होटेलका माथिल्लो तहका एक कर्मचारी भन्छन्, ‘‘घटनालगतै प्रहरीले सीसीटीभी फुटेज मागेको थियो । सोधपुछ गरेको थियो । त्यो बेलामा हामीले १५ दिनअघिदेखिकै फुटेज दिएका थियौँ । ती सबै विवरण हेरेर प्रहरीले ज्यान मार्ने षड्यन्त्र नभएको भन्ने लागेको होला । यसैले उजुरी लिएन होला । तर, अहिले हाम्रो दबाबले उजुरी नलिएको भनेको छ, त्यो हामीलाई केही थाहा छैन ।’’

घटनापछि पीडित पक्षले होटेल सञ्चालकहरू दण्डित गर्ने र होटेल बन्द गराउने सम्मका माग राखेका छन् । पीडितका पक्षहरू भन्छन्, ‘‘ होटलमा समस्या देखिएपछि समाधान गर्नुपर्‍यो । लापरबाही गर्ने होटेल बन्द गर्नुपर्‍यो ।’’ तर, होटेल पक्षले भने घटनाको जिम्मेवारी पहिल्यैदेखि लिएको उपचार खर्च बेहोर्ने र केही क्षतिपूर्ति दिन तयार रहेको बताएको छ । तर, होटेल नै बन्द गराउने माग भने असल नियत नभएको प्रतिक्रिया दिएको छ ।

गत भदौ १५ गते शुक्रबार सजिलमान श्रीमती र छोरीसँगै होटेल स्क्वायर गएका थिए। होटलमा रहेको स्वीमिङ पुलमा अपराह्न ३ बजेतिर उनले पौडी खेलेका थिए।

पेशाले व्यवसायी रहेका सजिलमानले स्वीमिङ गर्दागर्दै श्रीमती र साढे २ वर्षकी छोरीसँग फोटो खिचेका थिए । केहीबेरमा उनको हात लाइटमा परेको र करेन्ट लागेको सीसीटीभी फुटमा देखिएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्तासमेत रहेका एसपी नवराज कार्कीले यस घटनामा क्षतिपूर्तिका विषयमा अदालत जान पीडितका परिवारलाई सुझाव दिइएको बताए ।

उनी भन्छन्, ‘‘‘परिवारले क्षतिपूर्तिको मागदाबी गरेकोले यो प्रहरी कार्यालयमा नभई अदालत जाने विषय हो भनेर पीडित परिवारलाई सुझाव दिएका थियौँ । पछि उहाँहरूले सरकारी वकिल कार्यालयमार्फत जाहेरी दिनुभयो । यसबारे अनुसन्धान भइरहेको छ ।’’

यो घटनामा होटेलका सञ्चालक रोमी अर्याल र अर्की सञ्चालिका ललिता भण्डारी देवकोटालाई समेत जारी भएको थियो । होटेल सञ्चालकहरू केही समयदेखि भारतमा उपचारमा थिए । भारतबाट फर्किएपछि उनीहरु प्रहरीमा गएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved