करको विषय सम्बोधन नहुँदा पोखराको १४ औँ नगर सभा स्थगित 

नेपालभ्युज

करको विषय सम्बोधन नहुँदा पोखराको १४ औँ नगर सभा स्थगित 

काठमाडौं । पोखरा महानगरपालिकाको १४ औँ नगर सभा स्थगित भएको छ । करको विषय सम्बोधन हुन नसक्दा महानगरपालिकाको नगर सभा नै स्थगित भएको हो ।

पुस २९ गते महानगरको हिउँदे सभा बोलाइए पनि करको  विषय सम्बोधन हुन नसक्दा नगर सभा स्थगित भएको बताइएको छ । पोखरा महानगरपालिकाका प्रवक्ता मोती तिमिल्सिनाले आर्थिक ऐनमा राजश्व सम्बन्धी विषयहरू समेटिने जानकारी गराउँदै त्यसमा केही संशोधन गर्नुपर्ने विषयवस्तुहरूको लागि पोखरा महानगरपालिका वडा न ४ का अध्यक्ष देवकृष्ण पराजुलीको संयोजकत्वमा १३ सदस्य समिति गठन भएको बताए ।

यससँगै उनले माघ १८ गते पुन सञ्चालन हुने गरी नगर सभा स्थगित गरिएको पनि बताए । पोखरा महानगरपालिकाकाले पोखराको घरजग्गा कर घटाउने एजेन्डा नराखेपछि पोखराको कार्यपालिका बैठक स्थगित भएको थियो  । मंगलवार बस्ने भनिएको कार्यपालिका बैठक कर घटाउने एजेन्डा नराखेपछि नेपाली काँग्रेसबाट वडाध्यक्ष भएकाहरू बैठकमा सहभागी नहुने भनेसँगै बैठक स्थगित भएको थियो  ।

यता पोखरा महानगरपालिका वडा नं।२ का वडा अध्यक्ष तथा नेपाली काँग्रेस दलका नेता दिवसमान प्रधानांगले पोखरेली जनताको चाहना र भावनाअनुसार काम गर्नुपर्ने कर्तव्य भएकोले विविध कारणले गर्दा रोकिएको विशेष प्रस्तावलाई सम्बोधन गरेर राजश्वलाई घटाउनको लागि कार्यदललाई दुई हप्ताभित्र घटाउन समय दिएको प्रवक्ता तिमिल्सिनाको भनाई छ ।

त्यस्तै, पोखरा महानगपालिका वडा नम्बर १७ का अध्यक्ष राधिकाकुमारी शाहीले कार्यपालिकाको बैठक नेकपा एमालेले बहिष्कार नगरेको बताइन । बैठक समयमा नेपाली काँग्रेसका निर्वाचित सदस्यहरू नआउँदा नगर सभा नै स्थगित भएको उनको भनाई छ ।

पोखरा महानगरपालिकामा काँग्रेसका वडाध्यक्षहरूको बहुमत छ । २२ जना वडाध्यक्ष रहेको काँग्रेसले मंगलवार बस्ने भनेको कार्यपालिका बैठकमा कर घटाउने एजेन्डा राख्न सुझायो । तर महानगरले कर घटाउने बारेको एजेन्डा बैठकमा राखेको थिएन ।

एजेन्डा नै समावेश नभएपछि काँग्रेसका वडाध्यक्षहरूले बैठकमा सहभागी नहुने जानकारी मेयर धनराज आचार्यलाई गराएका थिए । त्यसअघि सभामा प्रस्तुत हुने कार्यसूची पास गर्न कार्यपालिका बैठक डाकिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved