कोशी-सभामुखका कारण राप्रपामा झमेला, पार्टी नै समाप्त हुनेसम्मको ‘चेतावनी’

कोशी प्रदेश सभामा सभामुख लिएको विषयले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र झैझमेला मच्चिएको छ । 

नेपालभ्युज

कोशी-सभामुखका कारण राप्रपामा झमेला, पार्टी नै समाप्त हुनेसम्मको ‘चेतावनी’

विराटनगर । कोशी प्रदेश सभामा सभामुख लिएको विषयले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र झैझमेला मच्चिएको छ ।

सभामुख लिएको विषयलाई लिएर पार्टीका नेताहरू विभाजित भएका छन् । कतिपय नेताहरूले कुनै पनि हालतमा सभामुख लिन हुँदैनथ्यो भन्ने पक्षमा उभिएका छन् भने कतिपयले लिँदा फरक पर्दैन र लिइहालेपछि फिर्ना नगर्न भनेका छन् ।

खासगरी पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी पक्ष सभामुख लिन नहुने पक्षमा थियो । तर, लिइहालेपछि पार्टी नै समाप्त हुनेसम्मको चेतावनी दिइरहेको छ ।

प्रदेश सभामा राप्रपाका तर्फबाट समानुपातिक सांसद रहेका अम्बरबहादुर विष्ट गत २४ गते नै सभामुख बनिसकेका छन् । लोहनी पक्षले विष्ट सभामुख निर्वाचित हुनुअगावै सभामुख लिन नहुने बताएको थियो । तर, विष्ट निर्विरोध निर्वाचित भए ।

महामन्त्रीसमेत रहेका लोहनी पक्षका नेता डा. धवलशमशेर राणा अझै पनि सभामुख फिर्ता हुनुपर्ने अडान राख्छन् । “सभामुख फिर्ता हुनुपर्छ । यसमा यो या त्यो भन्ने कुरै छैन,” महामन्त्री राणाले नेपालभ्यूजसँग भने ।

पार्टी केन्द्रका ९५ प्रतिशत नेताहरूको निर्णयविरुद्ध कोशीमा सभामुख लिइएको उनी बताउँछन् । “यत्ति बहुमतले गरेको निर्णयविरुद्ध किन र कसरी अघि बढियो । पार्टीले यस सम्बन्धमा हेर्छ । यसले पार्टीलाई विभाजन मात्रै होइन, समाप्त नै पार्न पनि सक्छ,” उनले भने ।

सभामुख अम्बरबहादुर विष्ट पनि केही नेताले असन्तुष्टि जनाएर केही नहुने बताउँछन् । “पार्टीले नपठाउने भनेर निर्णय गरेको छैन । केही नेताहरूले मनपरी बोलेर केही हुँदैन, असन्तुष्टि जनाएर केही हुँदैन,” सभामुख विष्ट भन्छन् ।

यता प्रदेश सभाका संसदीय दलका नेतासमेत रहेका नेता भक्तिप्रसाद सिटौला भने सभामुख फिर्ता नहुने बताउँछन् । सभामुख लिनु भनेको सरकारमा जानु नभएको उल्लेख गर्दै उनले भने, “सभामुख प्रदेश सभाको सर्वोच्च पद हो । सरकार र संसद् त छुट्टाछुट्टै कुरा हुन् नि ।”

उनी थप्छन्, “सभामुख निर्वाचित भएर शपथ पनि भइसकेको अवस्थामा सभामुखज्यू फिर्ता हुने कुरा आउँदैन । उहाँ फिर्ता हुनुहुन्न । अरु नेताहरूले के भन्नुहुन्छ, त्यो उहाँहरूको कुरा हो । तर, सभामुख फिर्ता हुनुहुन्न ।”

प्रवक्ता मोहनकुमार श्रेष्ठ भने पार्टीमा समाधान खोज्ने बताउँछन् । पार्टी केन्द्रले प्रदेश समिति र प्रदेश संसदीय समितिलाई निर्णय गर्ने अधिकार दिएको उल्लेख गर्दै उनले भने— यसमा समाधान खोज्छौँ । पार्टी समाप्त हुन्छ भन्ने कुरा कहाँबाट हुन्छ त ? त्यो हुँदैन ।

सभामुखको विषयले पार्टीका नेताहरूबीच मत बाझिएको स्वीकार्दै प्रवक्ता श्रेष्ठ भन्छन्— यसमा समाधानार्थ छलफल गर्छौँ । समाधान निस्कन्छ ।

लोहनी पक्ष भने अध्यक्ष राजेन्द्र लिङ्देनकै ‘ग्रीन सिग्नल’मा कोशीमा सभामुख लिइएको भन्ने ठान्छ । त्यसो त त यसअघि संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले पनि त्यहीसँग मिल्दोजुल्दो अभिव्यक्ति दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved