पार्टीको दोस्रो वरीयतामा शेखर कोइरालालाई स्थान दिन उपयुक्त छ : सहमहामन्त्री पाण्डे

नेपालभ्युज

पार्टीको दोस्रो वरीयतामा शेखर कोइरालालाई स्थान दिन उपयुक्त छ : सहमहामन्त्री पाण्डे

धनगढी । नेपाली कांग्रेसका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य बद्री पाण्डेले नेपाली कांग्रेसमा पार्टीको दोस्रो वरीयतामा शेखर कोइरालालाई स्थान दिन उपयुक्त रहको बताएका छन् । कैलालीको धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले यस्तो बताएका हुन् ।

‘परम्परा नै स्थापित भएको छ । शेखर कोइरालाले दोस्रो वरीयता प्राप्त गर्नुपर्छ’ उनले भने, ‘शेखर कोइरालालाई छेउमा राख्दा सभापति पूर्ण हुनुहुन्छ । सभापतिले उहाँलाई दोस्रो वरियतामा दिनु र्छ । यो सभापतिको विवेकले गर्ने निर्णय हो ।’

त्यस्तै पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अब एक वर्षको समयसीमा मात्रै रहेको बताएका छन् । ‘हामीलाई आधिकारिक जानकारी त दिइएको छैन, तर, सुन्नमा आए अनुसार प्रचण्डलाई दुई वर्षको समय छ’ उनले भने ‘अब एक वर्ष मात्रै उहाँसँग छ । अझै तदारुकताका साथ अगाडि बढ्नु पर्छ ।’ उनले पहिलो चरणमा भएको सहमति कार्यान्वयन गर्नु पर्नेमा जोड दिए ।

‘प्रचण्ड, माधवकुमार नेपाल र शेरबहादुर देउवाबीच सहमतिको आधारमा प्रधानमन्त्री बन्ने सहमति भएको सुनेका छौँ’ उनले भने ‘माधव नेपाललाई पनि आश्वासन दिइएको थियो भने बन्न दिनु र्छ शेरबहादुर देउवा पनि बन्नुपर्छ ।’

वर्तमान सरकारका ठूला काण्ड सुन्न परेको बताउँदै उनले त्यसलाई उपलब्धिका रूपमा चित्रण गरे । उनले अघिल्लो कार्यकालमा प्रधानमन्त्री रहेका केपी ओलीबाट ठूला काण्डहरू भएको आरोप लगाए ।

‘अहिले ठूला काण्ड सुन्नु परेको छैन । प्रधानमन्त्री र मन्त्रीले काण्ड गरेको सुन्न परेको छैन’ उनले भने, ‘केपी ओली प्रधानमन्त्री काण्ड भएको बेला धेरै सुनियो । अहिले एनसेलकाण्ड बाहेक अरू छैन । यसलाई पनि व्यवस्थापन गर्ने गरी काम गरिरहेको छ ।’

अहिले अर्थतन्त्रमा केही सुधार भए पनि अरू सूचकहरूमा परिवर्तन आउन नसकेको उनको भनाइ थियो । पुँजीगत खर्च अझै बढ्न नसकेको उनले बताए । अर्थतन्त्र कमजोर हुँदा रुसको सेनामा पनि गैर कानुनी रूपमा जानु पर्ने बाध्यता आएको उनको भनाइ थियो । सरकारले एक वर्षको यो ठाउँमा उभिँदा गम्भीर समीक्षा गर्नु पर्नेमा जोड दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved