एचआइभी संक्रमित महिलाको पीडा- म बाँचेर पनि पलपल मरिरहेकी छु

नेपालभ्युज

एचआइभी संक्रमित महिलाको पीडा- म बाँचेर पनि पलपल मरिरहेकी छु

जनकपुरधाम । धनुषाको तारापट्टी सिर्सिया निवासी शोभा मण्डल एचआइभी सङ्क्रमित भएको १५ वर्षभन्दा बढी भएको छ । यो बीचमा उनका संक्रमित श्रीमानको ज्यान गयो ।

भारतको दिल्लीमा काम गर्ने क्रममा श्रीमानबाट संक्रमित भएको बताउने शोभा श्रीमान् गुमेपछिको पीडाभन्दा समाजले गरेको तिरस्कारले आफू पटकपटक मरेर बाँचिरहेको बताउँछिन् ।

“श्रीमान् संक्रमणको केही वर्षमै बित्नुभयो तर म बाँचेर पनि पलपल मरिरहेकी छु”, शोभाले भनिन्, “रोगसँग त औषधि सेवन गरेर लडिरहेकी छु तर समाजसँग लड्न निकै चुनौतीपूर्ण हुँदोरहेछ ।”

शोभाका अनुसार विगत १५ वर्षदेखि एचआईभी एड्सविरुद्धको एआरभी औषधि नियमित लिइरहेकाले जोखिमपूर्ण स्वास्थ्य समस्याबाट गुज्रिनुपरेको छैन । जसले आफ्नो जीविकोपार्जनका लागि काम गरिखान सजिलो छ । तर सङ्क्रमित भएको थाहा पाएपछि काम नपाउने समस्याले उनलाई सताउन छोडेको छैन ।

“१५ वर्षअघि सङ्क्रमणका कारण श्रीमान् बितेपछि मलाई र मेरो एउटा छोरालाई घरबाट निकालियो । छोरालाई सङ्क्रमण छैन तर मलाई सङ्क्रमण भएको थाहा पाएदेखि औषधि सेवन गर्न थालेकाले खासै समस्या छैन । समस्या मलाई हेर्ने दृष्टिकोणले छ”, शोभाले भनिन्, “ठेलामा भाजा र अण्डाको व्यापार सुरु गरे पनि सङ्क्रमित भनेर ग्राहक आएनन् । घरमा सरसफाइलगायतको काम गर्न थाले तर सङ्क्रमित भएको थाहा पाएकै दिन हटाइ दिए । एउटा डाक्टरले त्यही व्यवहार गरे । मैले के गरेर खाने, कसरी बाँच्ने ?”

धनौजी गाउँपालिका–१ की सञ्जयकुमारी दास पनि एचआइभी संक्रमित छन् । यौनिक तथा अल्पसङ्ख्यक समुदायकी दास विगत चार वर्षदेखि नियमित औषधि सेवन गरिरहेकी छन् । अल्पसङ्ख्यक भएकाले समुदायबाट अपहेलनाको अवस्था त थियो नै, त्यसैमा एचआइभी सङ्क्रमण भएपछि उनी आफ्नै समूहका साथीहरुबाट तिरस्कारमा परेको बताउछिन् ।

“हामीले त नाचेरै आफ्नो जीविको चलाउने हो तर त्यो पेशा पनि सङ्कटमा परेपछि विदेश जाने सोचले चार वर्षअघि स्वास्थ्य परीक्षण गराउँदा रोग लागेको थाहा पाए । त्यही बेलादेखि औषधि खाइरहेकी छु”, सञ्जयकुमारीले भनिन्, “औषधि खाएर बाँच्न सजिलो छ तर समाज, साथीभाइले गर्ने हेलाले थप पीडा दिँदो रहेछ । समस्यामा सहयोग गर्नुको सट्टा उल्टै हतोत्साहित गर्ने प्रवृतिले रोगले भन्दा पनि बढी पिरोलिरहेको छ ।”

-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved