फैलँदै छठ : पर्व मनाउने पहाडिया समुदाय बढ्दै

नेपालभ्युज

फैलँदै छठ : पर्व मनाउने पहाडिया समुदाय बढ्दै

चितवन । तराई समुदायका व्यक्तिले मनाउँदै आएको छठपर्वमा पछिल्ला वर्षमा पहाडिया समुदायका व्यक्तिले पनि मनाउन थालेका छन् । छठीमाईको पूजा गर्दा मनोकाङ्क्षा पूरा हुने भन्दै पहाडिया समुदायका व्यक्ति पनि यस पर्वलाई मनाउन थालेका हुन् । तराई सामुदायिक सेवा समितिले हरेक वर्ष नारायणी नदी किनारमा छठपर्व मनाउँदै आएको छ ।

यहाँ पूजा गर्न आउनेको सङ्ख्या बर्सेनी बढ्दै गएको समितिका सल्लाहकार राजकुमार गुप्ताले बताए । उनले भने “तराई मुलकासँगै पाहाडिया समुदायका व्यक्तिमा पनि छठपर्वको महत्त्व बढ्दै गएको छ । अहिले ४५ प्रतिशत हाराहारी पाहाडिया समुदायका व्यक्तिले यो पर्वमा पूजा गर्ने गरेका छन् ।”

गुप्ताका अनुसार विसं २०२२ तिर नारायणगढमा छ/सात घरले मात्रै छठपर्व मनाउने गरेकामा अहिले यो सङ्ख्या बढेको हो । प्रकृति र अदृश्य शक्तिसँग जोडेर सूर्य भगवानलाई पूजा गर्ने गरिएको उनको भनाइ थियो । उनले थपे “छठीमाईको पूजा गर्दा सन्तान प्राप्ति हुनुका साथै दीर्घरोग निको हुने विश्वासका साथ मनाइने गरिएको छ ।” छठपर्वप्रति आस्था र विश्वास बढ्दै गएको गुप्ताले बताए ।

व्रत बस्ने र छठीमातालाई प्रसाद चढाउनेको सङ्ख्या पाहाडिया समुदायमा बढ्दै गएको भन्दै उनले भने “पाहाडिया समुदायका व्यक्ति तराई समुदायका व्यक्तिकामा गएर पर्वको विधिबारे बुझ्ने र आफूले पनि मनाउने प्रचलन वढ्दै गएको छ ।”

नदी किनारमा बसी बालुवाको स्तुप बनाउने भन्दा प्रसाद चढाउन आउने पाहाडिया समुदाय धेरै रहेका समितिका सल्लाहाकार गुप्ताले जानकारी दिए । यसवर्ष नारायणी नदी किनारमा २५÷३० हजार भक्तजनले छठीमाईको पूजा गर्ने अनुमान गरिएको उनले बताए । समितिले पूजा व्यवस्थापनका लागि नदीको बगरमा त्रिपाल टाँगेर व्यवस्थित गरेको छ । व्रत बस्ने भन्दा हेर्न आउनेको सङ्ख्या निकै धेरै हुने उनले जानकारी दिए ।

भरतपुर–१० की जुना पौडेलले विगत पाँच वर्षदेखि छठीमाईको पूजा गर्दै आएको बताए । उनले भने “छठीमाईको वर्त बस्दा मनलाई शािन्त मिल्नुका साथै मनोकाङ्क्षा पूरा भएपछि हरेक वर्ष व्रत बस्ने गरेकी छु ।” आफू मात्रै नभइ अन्य दिदीबहिनी पनि परिवारको श्रीवृद्धि र दिर्घायुको कामना गर्दै छठपर्वको व्रत बस्ने गरेका उनको भनाइ थियो ।

भरतपुर–१९ की नवीना चौलागाईं ढकालले दुई वर्षदेखि छठपर्वको व्रत बस्न थालेको बताए । छठीमाईप्रति विश्वास भएकाले व्रत बस्न थालेको बताउँदै उनले व्रत बस्दा मनोकाङ्क्षा पूरा भएको अनुभव सुनाए । विधिपूर्वक व्रत बसेर आज अस्ताउँदो सूर्य र सोमबार उदाउँदो सूर्यलाई अर्घ्य चढाउने, प्रसाद चढाउने गरेको उनले जानकारी दिए ।

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठपर्व तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चल भरि धुमधामका साथ मनाइँदैछ ।

छठपर्वका अवसरमा सहरी एवम् ग्रामीण क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाउ तथा प्रसिद्ध नदी तथा नहरको किनारमा अघ्र्य चढाउने गरिन्छ । छठपर्व सत्य तथा अहिंसाप्रति मानवको रुचि बढाउन र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रुपमा मनाउने गरिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved