बाइडेन र सीबीच सैन्य सञ्चार पुनःस्थापना गर्न सहमती

नेपालभ्युज

बाइडेन र सीबीच सैन्य सञ्चार पुनःस्थापना गर्न सहमती

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी चिनफिङले सैन्य सञ्चार पुनःस्थापना गर्न सहमती भएको छ।

बाइडेन र सीबीच भएको एक वर्षपश्चातको भेटमा दुवैले सैन्य सञ्चार पुनःस्थापना गर्न सहमति जनाएका हुन्। यद्यपि बाइडेनले चिनियाँ राष्ट्रपति सीलाई अझै पनि आफूले ‘तानाशाह’ मानेको बताएका छन्।

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएका यी दुई मुलुकबीचको बढ्दो तनावलाई द्वन्द्वमा परिणत हुनबाट रोक्ने उद्देश्यले चार घन्टाको वार्ताका क्रममा बाइडेन र सीले हात मिलाए। ऐतिहासिक क्यालिफोर्निया एस्टेटको एक बगैँचामा दुवैले छलफल गरेका थिए।

चीनले अमेरिकामा घातक महामारीका लागि जिम्मेबार औषधि फेन्टेनाइलको उत्पादनमाथि रोक लगाउने बारेमा पनि सहमती भएको छ । चीन र ताइवानको ‘पुनःएकीकरण’ रोक्न नसकिने भन्दै चिनियाँ राष्ट्रपति सीले आफ्ना अमेरिकी समकक्षीसमक्ष ताइवानलाई हतियार आपूर्ति रोक्न आग्रह गरेसँगै दुवै नेताले ताइवानको विषयमा आफूलाई टाढा राखे ।

क्यालिफोर्नियाको फिलोली स्टेटमा आयोजना भएको पत्रकार सम्मेलनमा बाइडेनले सन् २०११ देखि नै सीलाई चिनेको उल्लेख गरे। बाइडेनले भने, ‘हामीले अहिलेसम्मको सबैभन्दा रचनात्मक र फलदायी वार्ता गरेका छौँ ।’ द्वन्द्व वा आकस्मिक द्वन्द्वमा नफसियोस् भनेर अमेरिकाले दृढरूपमा प्रस्तुत हुँदै गएको चीनसँग ‘जोडदार’ तर ‘जिम्मेवारीपूर्वक’ प्रतिस्पर्धा गर्ने उहाँले बताए ।

‘हामी कुनै पनि फोन उठाउन सक्छौँ, सिधै फोन गर्न सक्छौँ र हाम्रो कुरा तुरुन्तै सुनिनेछ भन्नेबारेमा उहाँ र म सहमत भएका छौँ , ‘ राष्ट्रपति बाइडेनले बताए ।उनका अनुसार सम्भावित द्वन्द्वबाट बच्न उच्चस्तरीय अमेरिका–चीन सैन्य सञ्चार पुनःस्थापना गर्न ‘आलोचनात्मकरूमा महत्त्वपूर्ण’ थियो । तत्कालीन अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि चीनले सन् २०२२ जुनमा अमेरिकासँगको सैन्य सञ्चार तोडेका थिए।

दुवै पक्ष कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) का साथै आगामी महिना दुबईमा हुने कोप २८ शिखर सम्मेलनअघि जलवायु परिवर्तनसम्बन्धी सहयोगलाई अझ गहिरो बनाउन सहमत भएका छन् ।

तर निकै दुःख गरेर तयार गरिएको दुई पक्षबीचको वार्ता बाइडेनले गरेका एउटा कूटनीतिक टिप्पणीपछि टुङ्गियो । एक पत्रकारले अझै पनि सीलाई तानाशाह मान्नुहुन्छ भनी गरेको प्रश्नमा बाइडेनले भने, ‘हो, उहाँ हुनुहुन्छ।’ बाइडेनको उक्त टिप्पणीपछि बेइजिङबाट रोषपूर्ण प्रतिक्रिया आयो ।

‘उहाँ तानाशाह हुनुहुन्छ भन्ने अर्थमा उहाँ एउटा कम्युनिष्ट मुलुक चलाउने व्यक्ति हुनुहुन्छ जुन हाम्रोभन्दा पूर्णरूपमा फरक सरकारमा आधारित छ, ’ बाइडेनले अभिव्यक्तिलाई प्रस्टाउँदै भने ।

सन् २०२२ नोभेम्बरमा बालीमा वार्तामा सहभागी भएयता यी दुई नेताबीच भेट भएको थिएन । यसै वर्षको फेब्रुअरीमा अमेरिकाले कथित चिनियाँ जासुसी बेलुनलाई गोली हानेपछि दुई मुलुकबीचको सम्बन्ध चिसिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved