इजरायल र हमासबीचको वार्तामा मध्यस्थता गर्दै कतार, युद्धविराम र बन्धकको रिहाईमा जोड

नेपालभ्युज

इजरायल र हमासबीचको वार्तामा मध्यस्थता गर्दै कतार, युद्धविराम र बन्धकको रिहाईमा जोड

एजेन्सी । छोटो युद्धविरामको बदलामा गाजामा बन्धक बनाइएका १० देखि १५ जना व्यक्तिको सम्भावित रिहाईका लागि कतारले इजरायल र हमासबीचको वार्तामा मध्यस्थता गरिरहेको वार्ताबारे जानकार एक स्रोतले बुधबार जानकारी दिएको छ ।

“एक वा दुई दिनको युद्धविरामको बदलामा १०–१५ जना बन्धकको रिहाईका लागि अमेरिकासँगको समन्वयमा कतारी नागरिकको मध्यस्थतामा वार्ता जारी छ,” वार्ताको संवेदनशीलताका कारण नाम नबताउने शर्तमा स्रोतले भन्यो ।

प्यालेस्टिनी लडाकू समूहले अक्टोबर ७ मा गरेको आक्रमणमा एक हजार ४०० भन्दा बढीको मृत्यु हुनुका साथै २४० भन्दा बढीलाई बन्धक बनाइएको इजरायली अधिकारीहरूले बताएका छन् ।

गाजामा इजरायलको जवाफी कारबाहीमा १० हजार ५६९ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित प्यालेस्टिनी क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कतारले हमासको कब्जामा रहेका चार जना बन्धक (दुई इजरायली र दुई अमेरिकी) लाई हालैका हप्ताहरूमा सुपुर्दगी गर्न वार्ता गर्दै तीव्र कूटनीतिमा संलग्न रहेको छ ।

धनी खाडी राष्ट्र कतार प्यालेस्टिनी मुद्दाको कट्टर समर्थक रहेको छ र गाजाको इस्लामी शासकहरू हमाससँग सञ्चारको खुला च्यानलहरू छन् ।

मध्यपूर्वमा अमेरिकाको सबैभन्दा ठूलो सैन्य अखडा रहेको कतारमा हमासको राजनीतिक कार्यालय पनि छ र यो उसको स्वनिर्वासित नेता इस्माइल हनियेहको मुख्य निवास पनि हो । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved