भारतका ५ राज्यमा विधानसभा चुनाव नजिकिँदै : लोकसभा चुनावका लागि ‘सेमिफाइनल’सरह

यो वर्षको अन्त्यसम्म भारतीय जनता पार्टीको नरेन्द्र मोदी नेतृत्वको सरकारले १० वर्ष पूरा गर्नेछ । विधानसभा निर्वाचन हुन लागेका ३ प्रदेश मध्यप्रदेश, राजस्थान र छत्तिसगढमा भारतीय जनता पार्टी र प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसबीच प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

नेपालभ्युज

भारतका ५ राज्यमा विधानसभा चुनाव नजिकिँदै : लोकसभा चुनावका लागि ‘सेमिफाइनल’सरह

काठमाडौं । ५ राज्य राजस्थान, मध्यप्रदेश, तेलगांना, छत्तिसगढ र मिजोरममा विधानसभा निर्वाचनको मिति नजिकिँदै जाँदा भारतीय राजनीतिमा सरगर्मी बढेको छ ।

नोभेम्बर ७ मा मिजोरम, १७ मा मध्यप्रदेश, ७ र १७ मा दुई चरणमा गरी छत्तिस गढ, नोबम्बर २३ मा राजस्थान र ३० तारिखमा तेलंगना विधानसभाका लागि मतदान हुनेछ ।

५ वटै प्रदेशको मत गणना भने डिसेम्बर ३ मा सुरुवात हुनेछ ।

सन् २०२४ मा १८औं लोकसभा निर्वाचन हुनेछ । लोकसभा निर्वाचनको केही महिनाअघि हुने लागेको यी ५ प्रदेशको विधानसभा निर्वाचनले राष्ट्रिय राजनीतिमा सेमिफाइनल सरहको भूमिका गर्ने छ ।

यो वर्षको अन्त्यसम्म भारतीय जनता पार्टीको नरेन्द्र मोदी नेतृत्वको सरकारले १० वर्ष पूरा गर्ने छ ।

विधानसभा निर्वाचन हुन लागेका ३ प्रदेश मध्यप्रदेश, राजस्थान र छत्तिसगढमा भारतीय जनता पार्टी र प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसबीच प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

यीमध्ये राजस्थान र छत्तिसगढमा अहिले पनि कांग्रेसको सरकार छ भने मध्यप्रदेशमा भारतीय जनता पार्टीको सरकार छ । मध्यप्रदेशमा पनि अघिल्लो विधानसभा चुनाव कांग्रेसले जितेको थियो ।

कांग्रेसको ज्योतिरादित्य सिन्धिया गुट विभाजित भई भारतीय जनता पार्टीमा प्रवेश गरेपछि कमलनाथको सरकार ढलेर शिवराज सिंह चौहानको सरकार बनेको थियो ।

तेलंगनामा भारतीय राष्ट्रिय समितिको सरकार छ । यो दल तेलंगना स्थापनाका लागि संघर्ष गरेको तेलंगना राष्ट्रिय समितिको उत्तराधिकारी हो ।

तेलंगना स्थापनापछि यसको नाम परिवर्तन गरी भारतीय राष्ट्रिय समिति बनाइएको हो । तेलंगनामा बिआरएस र कांग्रेसबीच प्रतिस्पर्धा हुनसक्ने छ ।

मिजोरममा भने मिजो नेसशनल फ्रन्टको सरकार छ ।

चुनाव हुन लागेका प्रदेशमा भाजपा, राष्ट्रिय कांग्रेस र प्रादेशिक दलहरूले आ-आफ्ना गतिविधि बढाएका छन् । कांग्रेसको तर्फबाट पार्टी अध्यक्ष मल्लिकार्जुन खड्गे, राहुल गान्धी र प्रियांका गान्धीले निर्वाचन हुने प्रदेशमा चुनावी दौड बढाएका छन् ।

मध्यप्रदेशमा मुख्यमन्त्री शिवराज सिंह चौहानका अतिरिक्त मोदी सरकारका केन्द्रीय मन्त्री कृषिमन्त्री नरेन्द्र सिंह तोमरसमेत विधान सभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।

मध्य प्रदेशका तेस्रो पार्टीका रूपमा आम आदमी पार्टीका राम्रै प्रदर्शन हुने अपेक्षा गरिएको थियो तर पछिल्लो समय पार्टीका मुख्य दुई नेता मनिष सिसोदिया र सञ्जय सिंह पक्राउ परेपछि अरविन्द केजरीवाल कमजोर देखिएका छन् ।

छत्तिसगढमा सन् २०१८ को चुनावमा पहिलोपटक कांग्रेस सरकार गठन भएको थियो । त्यहाँका मुख्यमन्त्री भूपेश बेघल यद्यपि लोकप्रिय छन् भन्ने ठानिन्छ । तर, भारतीय जनता पार्टीले निरन्तर दबाब बढाइरहेको छ ।

तेलंगनामा मुख्यमन्त्री के. चन्द्रशेखर रावको सरकारले दुई कार्यकाल पूरा गरेको छ । यस प्रदेशमा भने भारतीय जनता पार्टी तेस्रो दलको भूमिकामा हुन सक्ने ठानिएको छ ।

मिजोरममा दुवै मुख्य दल प्रादेशिक दल छन् । त्यहाँ मिजो नेसनल फ्रन्ट र मिरोरम पिपुल्स मुभमेन्टबीच प्रतिस्पर्धा हुन सक्ने छ ।

सन् २०२४ को लोकसभा निर्वाचनका लागि ३२ विपक्षी दलहरूले ‘इन्डिया गठबन्धन’ बनाएका भए पनि चुनाव हुन लागेका यी प्रदेशमा ‘इन्डिया गठबन्धन’ को खासै भूमिका देखिँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved