मधेसको स्वाभिमान र समृद्धिका लागि एमालेको सरकार आवश्यक छ : सचिव भट्टराई

मधेसको स्वाभिमान र समृद्धिका लागि एमालेको सरकार आवश्यक छ : सचिव भट्टराई

जनकपुरधाम। नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेसको स्वाभिमान र समृद्धिका लागि नेकपा एमालेको सरकार चाहिने बताएका छन्। एमाले अब सोही लक्ष्यका साथ क्रियाशील हुने उनले बताए ।

मधेश प्रदेश अधिवेशनका लागि जानकारी दिने उद्देश्यले जनकपुरधाममा प्रेस चौतारी धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले सामाजिक विभेद, बेरुजु र भ्रष्टाचार सबैभन्दा धेरै मधेस प्रदेशमा भएको बताउँदै एमालेको मुख्य काम सुशासन र सामाजिक न्याय भएको बताए ।

‘मधेसको अहिलेको मुख्य कार्यभार सुशासन र सामाजिक न्याय हो,’ भट्टराईले भने, ‘त्यसको निम्ति मधेसको स्वाभिमानलाई सगरमाथाको शीरमा उठाउनु छ अनि मधेसको स्वाभिमान र समृद्धिका लागि एमालेको सरकार आवश्यक छ ।’ उनले थपे, ‘एमालेको मुख्यमन्त्री चाहिन्छ, १३६ वटा पालिकामा एमालेको प्रमुख चाहिन्छ, प्रधानमन्त्री एमालेको चाहिन्छ । अब मधेस प्रदेशको अधिवेशनको ध्यान त्यता जान्छ ।’

सचिव भट्टराईले आगामी चुनावमा अहिलेको एमालेको तागतलाई बढाउन चाहेको भन्दै त्यही मिसनका साथ अगाडि बढ्ने बताए । उनले भोली देखि हुने एमाले प्रथम मधेस अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको बताए।  असोज २४ र २५ गते हुने पहिलो अधिवेशनबाट मधेस प्रदेशमा आउने नेतृत्वले पार्टीलाई अझ बढी बलियो बनाउने विश्वास व्यक्त गरे ।

उनका अनुसार ८ जिल्ला रहेको मधेस प्रदेशमा अधिवेशनका लागि प्रतिनिधि छनोट समेत सम्पन्न भइसकेको छ । मधेसका १३६ पालिका, २३ जनसंगठन, ८ प्रदेश विभागबाट १ हजार २७ प्रतिनिधि छनोट गरिएको छ । पालिकाबाट ३ देखि २३ जनासम्म, जनसंगठनबाट ७९ र विभागबाट १६ जना छनोट गरिएको उनले जानकारी दिए ।

“सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिका लागि एमालेको सरकार” मूल नारा रहेको अधिवेशनको जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको हलमा हुने कार्यक्रमको उद्घाटन एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने एमाले सचिव एवं प्रदेश इन्चार्ज भट्टराईले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved