एनसेलबाट आत्महत्या रोकथाम हटलाइन ११६६ मा निःशुल्क फोन गर्न सकिने

नेपालभ्युज

एनसेलबाट आत्महत्या रोकथाम हटलाइन ११६६ मा निःशुल्क फोन गर्न सकिने

काठमाडौं । आत्महत्या रोकथामका लागि सरकारले सञ्चालन गरेको राष्ट्रिय हेल्पलाइन ११६६ मा अब एनसेलका ग्राहकहरूले निःशुल्क फोन गरेर मनोपरामर्शदातासँग परामर्श लिन सक्ने भएका छन् । यसका लागि एनसेल आजियाटा लिमिटेड र मानसिक अस्पतालले सहकार्य सुरु गरेको हो ।

हालै मात्र विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा मानसिक अस्पताल, लगनखेलमा आयोजित एक कार्यक्रममा एनसेलले यस हेल्पलाइनको लागि सिमसहितको ह्यान्डसेट सोलुसन्स हस्तान्तरण गरेको छ । यससँगै अब यो हटलाइनमा एनसेल नेटवर्कबाट पनि फोन लाग्ने भएको हो ।

आत्महत्या रोकथामको लागि राष्ट्रिय हेल्पलाइन ११६६ मा एनसेलबाट पनि सेवाको पहुँच सुनिश्चित भएको अवसरमा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ‘हामी सबैको जीवनमा स्वस्थ मानसिक स्वास्थ्यले ठूलो भूमिका राख्दछ । राष्ट्रिय हेल्पलाइनमा आबद्ध भई यो सेवालाई अझ प्रभावकारी बनाउनका लागि योगदान पुर्‍याउन सहकार्य गर्न पाएकोमा हामी हर्षित छौँ ।’

कुनै पनि व्यक्तिमा आत्महत्याको सोच आए, कोही व्यक्तिले त्यस्तो व्यवहार देखाए, आत्महत्याको अवस्थाबाट उनीहरूलाई बचाउने उद्देश्यले सरकारले यो हेल्पलाइन सुरु गरेको हो । ‘आत्महत्याको सोच र अन्य मानसिक स्वास्थ्य समस्याहरूका बारेमा फोन आउने क्रम बढिरहेको हाम्रो तथ्याङ्कले देखाउँछ । यस्तो अवस्थामा एनसेलको यो सहकार्यले ठूलो महत्व राख्छ र अमूल्य जीवनहरू बचाउन योगदान पुर्‍याउने छ,’ मानसिक अस्पतालका निर्देशक डा. अनन्त प्रसाद अधिकारीले भने ।

जहिले मनमा गाह्रो महशुस हुने, तनाव हुने, आफैँलाई हानि पुर्‍याउन वा दुख दिन मन लाग्ने जस्ता लक्षणहरू देखिएमा तत्काल यस हटलाइनमा फोन गरी तालिम प्राप्त मनोपरामर्शदातासँग परामर्श गरि त्यस्ता सोचहरूबाट बाहिर आउन मद्दत लिन सकिने मानसिक अस्पतालले जनाएको छ । सरकारले विश्व स्वास्थ्य सङ्गठन र टीपीओ नेपालको सहयोगमा मानसिक अस्पताल, लगनखेल पाटनबाट यो सेवा सञ्चालन गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved