कांग्रेस पनि उच्चस्तरीय छानबिन समिति गठनको विपक्षमा, प्रहरीकै छानबिनमा सन्तुष्ट

नेपालभ्युज

कांग्रेस पनि उच्चस्तरीय छानबिन समिति गठनको विपक्षमा, प्रहरीकै छानबिनमा सन्तुष्ट

काठमाडौं। क्विन्टल सुन तस्करी काण्डबारे उच्चस्तरीय छानबिन समिति बनाउने या नबनाउने भन्ने विषयमा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सांसदहरूबीचमै मतभेद देखिएपछि छानबिन समिति गठनको विपक्षमा उभिएको छ।

शुक्रबार र आइतबार र सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकमा सो प्रकरणबारे सांसदहरूको मत बाझिएपछि कांग्रेसले नबनाउने निर्णय लिएको हो। तीन दिनसम्म बसेर सोमबार सकिएको बैठकले छानबिन समितिको पक्षमा निर्णय गरेन।

सोमबार सकिएको बैठकको निर्णयमा सुन प्रकरणका सन्दर्भमा कांग्रेसले धेरै शब्द खर्चिएन। निर्णयमा भनिएको छ, ‘‘त्रिभुवन विमानस्थल जस्तो सरकारका सबै महत्त्वपूर्ण निकायको सदैव निगरानीमा रहने स्थानबाट नै अवैध ढङ्गले सुन बाहिरिनु गम्भीर चिन्ताको विषय भएको छ।’’

बैठकले छानबिन समितिबाट नभई प्रहरीबाटै घटनाबारे निष्पक्ष, स्वतन्त्र र गहिराइका साथ अनुसन्धान, छानबिन गरी घटनामा संलग्न जोसुकै भए पनि अभियोजन गरी कानुनी दायरामा ल्याउन अनुरोध गरेको छ।

बैठकका निर्णय सुनाउँदै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘‘यस्ता प्रकृतिका अपराधजन्य कार्यका लागि अनुसन्धान, छानबिन र अभियोजन गर्ने प्रयोजनका लागि नै गठित भएको केन्द्रीय अनुसन्धान ब्युरोलगायत सरकारी निकायहरूले छानबिन, अनुसन्धान गरिरहेको छ। नेपाली कांग्रेस संसदीय दलको यो बैठक नेपाल सरकार यस घटनाबारे निष्पक्ष, स्वतन्त्र र गहिराइका साथ अनुसन्धान, छानबिन गरी घटनामा संलग्न जोसुकै भए पनि अभियोजन गरी कानुनी दायरामा ल्याउन अनुरोध गर्दछ।’’

५४ जना सांसदले धारणा राखेर सकिएको तीन दिनको बैठकमा धेरै जना नेताहरूले छानबिन समितिको पक्षमा आवाज राखेका थिए। नेता डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, प्रदीप पौडेललगायतले उच्चस्तरीय छानबिन समितिको माग गरे पनि बहुमतले ती आवाजको सुनुवाइ भएन।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन प्रकरणको उच्चस्तरीय छानबिनको माग गर्दै संसद् अवरुद्ध गर्दै आएको अवस्थामा कांग्रेसको यो निर्णयले राजनीति थप पेचिलो बन्ने देखिन्छ।

संसदमा गतिरोध कायम रहँदा ठूलो दल कांग्रेसले उच्च स्तरीय छानबिन बनाउनुपर्ने एमालेको मुद्दालाई अस्वीकार गरेपछि एमालेको प्रतिक्रिया आउन बाँकी छ।

२ साउनमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट पास भएको क्विन्टल सुन बरामद भएको थियो।

राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको सुन प्रकरणमा प्रारम्भमा राजश्व अनुसन्धान विभागले अनुसन्धान गरेको थियो।

अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले सीआईबीको अनुसन्धानलाई स्वीकार गर्न तयार देखिएको छैन। छानबिनको लागि समिति बनाउनुपर्ने अडानमा एमाले छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved