देशभर फैलियो आँखा पाक्ने रोग

नेपालभ्युज

देशभर फैलियो आँखा पाक्ने रोग

काठमाडौं। केही दिनयता देशका विभिन्न ठाउँमा आँखा पाक्ने रोग फैलिरहेको छ । चिकित्सकीय भाषामा आँखा पाक्ने रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ।

आँखा पाक्ने रोगको लक्षण भएका व्यक्तिहरूबाट नमुना संकलन गरी परीक्षण गर्दा उक्त भाइरस पुष्टि भएको हो।

विभिन्न अस्पतालको बहिंरग सेवामा सयौँ बिरामी आँखा जँचाउन आउने गरेका छन्। पछिल्ला दिनमा बिरामी तीन गुणासम्मले बढेका छन्।

यो रोगको संक्रमणले आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने हुन्छ । कतिपय संक्रमितमा परेला सुन्निने, आँखा बिझाउने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुनेलगायतका समस्या पनि देखिएको छ । यो रोग सबै उमेर समूहमा देखिएको छ।

विभिन्न समयमा संक्रमणको रूपमा फैलिने यो रोग भाइरस संक्रमणले हुन्छ। जसमा ८० प्रतिशत ‘एडिनो भाइरस’ को कारणले हुने गर्दछ।

त्यसबाहेक केही भाइरल कन्जंक्टिभाइटिसको सङ्क्रमण इन्टेरो भाइरस तथा हरपिस भाइरसहरूले पनि गराउने तथ्यहरूले देखाएका छन्।

देशभर फैलिएको आँखा पाक्ने रोगको मुख्य कारण पत्ता लगाउनका लागि नेपाल अफ्थालमिक सोसाइटी तथा नेपाल नेत्र ज्योति संघसँग सहकार्य गरेर सातै वटा प्रदेशबाट थप नमुनाहरू संकलन गरेर परीक्षण गर्ने योजना रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिए।

कसलाई बढी जोखिम ?

चिकित्सकका अनुसार आँखा पाक्ने समस्या जोसुकैलाई देखिन सक्छ । किनकि, एडिनो भाइरस बढी सङ्क्रामक हुन्छ र एक व्यक्तिबाट अर्कोमा सजिलैसँग सर्न सक्छ ।

विद्यालय, कलेज लगायत धेरै भिडभाड हुने ठाउँहरूमा यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्छ । सजिलै सर्ने भएकाले यसले घरको सबै सदस्यलाई सङ्क्रमित पनि गराउन सक्छ ।

‘तर आँखा पाकेको मानिसलाई हेर्दैमा रोग सर्दैन । आँखा पाक्ने रोग आँसुबाट मात्रै सर्छ’, डा. पोखरेल भन्छन् ।

कसरी बच्ने ?

चिकित्सकका अनुसार सङ्क्रमण भएको व्यक्तिले आँखा छोएर टेबल, मेच, लुगा वा अन्य व्यक्तिलाई छुँदा सङ्क्रमण फैलिन सक्छ। आँखा पाक्ने एउटै माध्यम भनेको आँसुबाट नै हो।

त्यस कारण पाकेको आँखा छुन हुँदैन। छोइहाले पनि हातलाई साबुन पानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्नुपर्छ।

डा. अडिगा भने आँखा पाक्ने रोग लागेमा नजिकको आँखा उपचार केन्द्र वा अस्पतालमा जाँच गराउन सुझाव दिन्छन्।

त्यसपछि चिकित्सक वा विशेषज्ञले दिएको औषधि मात्र आँखामा हाल्नुपर्ने उनी बताउँछन्। त्यस्तै, रातो भएको आँखालाई बरफ वा आइसले सेकाउन पनि सकिन्छ।

घरमा खानेपानी लाई बरफ बनाएर त्यसले आँखा सेकाउन पनि मिल्छ । एउटा आँखामा प्रयोग गरेको बरफ अर्कोमा प्रयोग गर्न भने हुँदैन।

आँखा पाकेका मानिसले आँसु पुछ्दा ‘डिस्पोजेबल टिस्यु’ प्रयोग गर्नुपर्छ।

चिकित्सकका अनुसार रोग लागेमा आँखा नमाड्न, पानी नछ्याप्न, जथाभावी औषधिको प्रयोग नगर्न, घरबाहिर जाँदा कालो चस्मा प्रयोग गर्नुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved