काठमाडौँ महानगरपालिकाले गौरव र स्वर्णिम योजना कार्यान्वयनमा ल्याउने

नेपालभ्युज

काठमाडौँ महानगरपालिकाले गौरव र स्वर्णिम  योजना कार्यान्वयनमा ल्याउने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षका लागि १० गौरवका योजना र २५ स्वर्णिम योजना कार्यान्वयनमा ल्याउने भएको छ ।

महानगरपालिकाले ती योजनाका लागि पाँच अर्ब ८० करोड रकम विनियोजन गरेको छ । गौरवको आयोजनाका लागि  तीन अर्ब ८० करोड र स्वर्णिम योजनाका लागि दुई अर्ब विनियोजन गरिएको छ ।

आम नागरिकसँग प्रत्यक्ष जोडिएका स्वास्थ्य, शिक्षा, रोजगारीको प्रवर्द्धन, वातावरण सुधार र पूर्वाधार कार्यको प्राथमिकता गौरवका योजनामा समेटिएको कामपाका उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिईन् ।

त्यसैगरी नागरिकको प्रत्यक्ष चासोका विषय निरन्तर सञ्चालन हुने कार्यमध्ये प्राथमिकतामा परेका योजनालाई स्वर्णिम योजनाका रूपमा राखिएको छ । उक्त योजना १३ औँ नगरसभाको अधिवेशनमा विनियोजन वियेधकमा पेश भएर छलफलपछि सभाले पारित गरेको हो । कामपाले निर्धारण गरका गौरवका आयोजना आगामी तीन वर्षभित्र सम्पन्न हुने बताइएको छ ।

गौरवका आयोजनाअन्तर्गत ‘उज्यालो सहर’, ‘मेरो महानगर’, ‘महानगरले देख्छ’, ‘धुलोरहित सडक’, ‘रोजगारी र आय वृद्धि’, ‘काठमाडौँको समृद्धि’, ‘मेरो रहर, सुन्दर र हरित सहर’, ‘संस्कृति, सम्पदा र पर्यटन’, ‘महानगरको धन’, ‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’, ‘सबैको चाहना, ढुङ्गेधारा, हिटी र पोखरीको पुनःस्थापना’, ‘सुशासनका लागि अनलाइन सेवा’ र ‘गरी खाने शिक्षा महानगरको इच्छा’ कार्यक्रमलाई समेटिएको छ ।

त्यसैगरी स्वर्णिम योजनाअन्तर्गत ‘सुन्दर विद्यालय परियोजना’, ‘स्वच्छ भान्सा कार्यक्रम’, ‘खेलकुद पूर्वाधार परियोजना’, ‘एग्रो पुलिङ परियोजना’, ‘पूर्वाधार एम्बुलेन्स’, ‘एकल सेवा केन्द्र’, ‘श्रम बैंक’ र ‘न्याय चौतारी’जस्ता कार्यक्रम रहेका छन् ।

त्यस्तै ‘पिउने पानी तथा सार्वजनिक शौचालय’, ‘इरेण्टल’, ‘सुलभ फार्मेसी’, ‘यातायात तथा ट्राफिक’, ‘नदी सफाइ’, ‘डुबान समाधान’, ‘ढुङ्गेधारा हिटी र पोखरी संरक्षण’, ‘आरोग्य जीवन’, ‘मेट्रो मार्ट’, ‘साथी महानगर’, ‘स्मार्ट टोल’, ‘सांस्कृतिक सहर’, ‘पर्यटकीय सहर’, ‘सम्पदा मर्मत तथा संरक्षण कार्य’, ‘अनुसन्धान तथा अन्वेषण केन्द्र’, ‘सबैको योजना, सबैको विकास’, ‘सुन्दर महानगर’जस्ता योजना रहेका छन् ।

पच्चीस वटा स्वर्णिम योजनामध्ये सार्वजनिक निर्माण विभाग र सम्पदा तथा पर्यटन विभागले कार्यान्वयन गर्नुपर्ने तीन/तीनवटा योजना छन् । स्वास्थ्य विभागसँग दुई वटा आफैँ र एउटा नगर प्रहरीको सहकार्यमा गर्नुपर्ने छ । प्रशासन विभागले कार्यान्वयन गर्नुपर्ने दुई वटा योजना छन् । तेह्र वटा विभाग रहेको कामपामा अन्य विभागमा एक/एक वटा कार्यक्रम रहेको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved