संयुक्त राष्ट्रसंघका प्रमुखले गरे एलाइड डेमोक्रेटिक फोर्सेजको आक्रमणको निन्दा

नेपालभ्युज

संयुक्त राष्ट्रसंघका प्रमुखले गरे एलाइड डेमोक्रेटिक फोर्सेजको आक्रमणको निन्दा

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले पश्चिमी युगान्डाको एक माध्यमिक विद्यालयमा एलाइड डेमोक्रेटिक फोर्सेज (एडीएफ) समूहले गरेको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् ।

युगान्डाका अधिकारीहरूका अनुसार एडीएफ विद्रोहीहरूले शुक्रबार राति डीआरसीसँग सीमा जोडिएको मपोन्ड्वेस्थित ल्हुबिरिरा माध्यमिक विद्यालयमा आक्रमण गर्दा कम्तीमा ३७ विद्यार्थीको मृत्यु भएको थियो भने कम्तीमा आठ जना विद्यार्थीको अवस्था गम्भीर रहेको छ ।

आक्रमणकारीले छ जना विद्यार्थीलाई कब्जामा लिई आफुसँगै लगेका छन् ।

उपप्रवक्ता फरहान हकले एक विज्ञप्ति जारी गर्दै यस भयानक आक्रमणका लागि जिम्मेवार व्यक्तिहरूलाई न्यायको कठघरामा ल्याउनुपर्ने बताएका  छन् । महासचिवले मृतकका परिवार, युगान्डाको सरकार र जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दै अपहरणमा परेकालाई तत्काल रिहा गर्न आह्वान गरेका छन् ।

गुटेर्रेसले प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) र युगान्डाबीचको सीमापार असुरक्षाको सामना गर्न र यस क्षेत्रमा दिगो शान्ति बहालीका लागि क्षेत्रीय साझेदारीमा वृद्धि सहित सामूहिक प्रयासको महत्वलाई दोहोर्‍याएका छन् ।

एडीएफ युगान्डाको विद्रोही समूह हो जुन पूर्वी कङ्गोको जङ्गलमा लुकेर आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ । यो मध्य अफ्रिकामा इस्लामिक स्टेटको एउटा शाखा हो । विद्रोही समूहलाई पूर्वी कङ्गोका गाउँहरूमा आतंक मच्चाएको आरोप लगाइएको छ ।

युगान्डा र कङ्गोका सेनाले सन् २०२१ को नोभेम्बरमा विद्रोही समूहविरुद्ध संयुक्त अभियान चलाएका थिए ।  सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved