निर्वाचनमा अन्तरघात गर्नेलाई कारबाही गर्ने जसपाको निर्णय

नेपालभ्युज

निर्वाचनमा अन्तरघात गर्नेलाई कारबाही गर्ने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले वि सं २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अन्तरघात गर्ने नेता तथा कार्यकर्तालाई कारवाही गर्ने भएको छ ।

उक्त पार्टीको कार्यकारिणी समितिको बैठकले गरेको निर्णयअनुसार चुनावमा अन्तरघात गर्ने नेता तथा कार्यकर्तालाई विधानमा भएको व्यवस्थाअनुसार कारबाही गर्ने निर्णय भएको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार पार्टीको विधानमा भएको व्यवस्थाअनुसार जो जहाँका समितिमा आबद्ध छन्, त्यही समितिले कारबाही गर्ने निर्णय भएको छ । स्थानीय तहमा रहेकालाई स्थानीय समिति, जिल्लामा रहेकालाई जिल्ला समन्वय समिति, प्रदेशमा रहेकालाई प्रदेश समिति तथा केन्द्रमा रहेकालाई केन्द्रीय कमिटीले कारबाही गर्नेछ ।

कारबाहीमा पार्टी सदस्यबाट हटाउनेदेखि लिएर नसिहतसम्म तोकिएको छ । गत मंसिर  ४ गते सम्पन्न आम निर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादव पराजित भएपछि त्यसको अध्ययन तथा छानबिनका लागि कार्यदल गठन गरिएको थियो ।

पार्टीका कार्यकारिणी सदस्य शिवलाल थापाको संयोजकत्वमा गठन भएको सो कार्यदलले गएको फागुन २० गते पार्टी अध्यक्ष उपेन्द्र यादवलाई प्रतिवेदन बुझाएको थियो ।

कार्यदलले करिब डेढ महिना लगाएर ४८ जना केन्द्रीय सदस्यसहित एक सय ५२ जनासँग बयान लिएको थापाले जानकारी दिए । उनका अनुसार जिल्ला जिल्लाबाट आएको उजुरीका आधारमा पार्टीका ती नेतासँग बयान लिइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved