वित्तीय पहुँच विस्तार गर्ने लक्ष्यसहित ‘फाइनान्सियल लिट्रेसी नेपाल’को शुभारम्भ

वित्तीय शिक्षामा जोड दिँदै वित्तीय पहुँच विस्तार गर्ने लक्ष्यसहित ‘फाइनान्सियल लिट्रेसी नेपाल’को शुभारम्भ गरिएको छ। शुक्रबार काठमाडौंमा आयोजित एक समारोहकाबीच राष्ट्रपतिका आर्थिक सल्लाहकार तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले संस्थाको शुभारम्भ गरेका हुन्।

नेपालभ्युज

वित्तीय पहुँच विस्तार गर्ने लक्ष्यसहित ‘फाइनान्सियल लिट्रेसी नेपाल’को शुभारम्भ

काठमाडौं। वित्तीय शिक्षामा जोड दिँदै वित्तीय पहुँच विस्तार गर्ने लक्ष्यसहित ‘फाइनान्सियल लिट्रेसी नेपाल’को शुभारम्भ गरिएको छ। शुक्रबार काठमाडौंमा आयोजित एक समारोहकाबीच राष्ट्रपतिका आर्थिक सल्लाहकार तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले संस्थाको शुभारम्भ गरेका हुन्।

नेपालको आर्थिक क्षेत्रलाई सुधार गर्नका लागि पर्याप्त मात्रामा वित्तीय साक्षरताको खाँचो रहेको विश्लेषणसहित बैंकिङ तथा बीमा र पुँजी बजार क्षेत्रका विज्ञहरूको समूहले फाइनान्सियल लिट्रेसी नेपालको स्थापना गरेको हो। उक्त संस्थाले देशैभरीका वित्तीय, फाइनान्स, इकोनोमिक पढाउने शिक्षक तथा बैंक वित्तका कर्मचारीहरू तथा वित्तहरूलाई वित्तीय साक्षरता सम्बन्धित स्रोत व्यक्तिको रूपमा प्रशिक्षण दिन सक्ने गरी परिचालन गर्ने लक्ष्य लिएको छ।

विशेष गरी संस्थाले वित्तीय साक्षरताको तालिम दिन सक्ने ट्रेनरहरू उत्पादन गर्नेछ। नियमनकारी निकाय, आर्थिक संघसंस्थाहरु, नेपाल उद्योग वाणिज्य महासंघ, सरकारी निकायहरू र अन्तर्राष्ट्रिय संघसस्थाको सहकार्यमा संस्थाले कार्यक्रमहरू अघि बढाउने लक्ष्य लिएको छ।

कार्यक्रममा प्रमुख अतिथि नेपालले नेपालमा फाइनान्सियल लिट्रेसी बढ्न नसकेको अवस्थामा माथिल्लो तहदेखि ग्रासरुटसम्म रहेर काम गर्न संस्थालाई आग्रह गरे।

उनले फाइनान्सियल लिट्रेसी मान्छेको जीवनको एक पाटो बनेको भन्दै हरेक व्यक्ति, संस्थालाई आवश्यक रहेको बताए। नेपालले फाइनान्सियल लिट्रेसीमार्फत देशको अर्थतन्त्रलाई सहयोग गर्न पनि आग्रह गरे।

अर्थतन्त्रलाई सुधार्न वित्तीय साक्षरताको अपरिहार्य भन्दै उनले यसमा सम्बन्धित क्षेत्रका विज्ञहरू सक्रिय हुनुपर्ने बताए। यस्तै सम्पूर्ण क्षेत्रका विज्ञहरूबिच सहकार्यको खाँचो रहेको पनि उनको भनाइ छ।

कार्यक्रममा संस्थाका अध्यक्ष एवं बैंकिङ विज्ञ भुवन दाहालले ‘वर्तमान आर्थिक अवस्था तथा भावी कार्यदिशा’ विषयक कार्यपत्र प्रस्तुत गर्दै देशमा भ्रष्टाचार नियन्त्रणको खाँचो रहेको बताए।

उनले नेपालमा सिंगापुर भन्दा धेरै प्राकृतिक स्रोत, साधन रहे पनि सही रूपमा सदुपयोग हुन नसक्नु विडम्बनाको विषय भएको बताए। यस्तै दाहालले आर्थिक विज्ञहरू राजनीतिक क्षेत्रमा सक्रिय हुनुपर्ने बताए। प्रधानमन्त्रीको नेतृत्वमा आर्थिक संयन्त्र निर्माण गर्नुपर्ने उनको भनाइ छ। नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नेपालको बैंकिङ क्षेत्र अन्य देशको तुलनामा राम्रो रहेको बताए।

उनले सरकारले आगामी आर्थिक वर्षको बजेटमा सरकारले फर्दर पब्लिक अफरिङ्ग (एफपीओ) जारी गरेका कम्पनीबाट कर असुल गर्ने घोषणा गरेको भन्दै कुनै पनि देशमा यस्तो व्यवस्था नरहेको र यो दुर्भाग्य भएको बताए। उनले फाइनान्सियल लिट्रेसी नेपालसँग सहकार्य गर्न तयार रहेको बताए।

कार्यक्रममा पूर्वबैंकर एवं इसेवा प्रा.ली.का अध्यक्ष पशुराम कुँवर क्षेत्रीले नेपालमा ग्रासरुट लेभलमै फाइनान्सियल लिट्रेसीको खाँचो रहेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे।

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्ष सुयोग श्रेष्ठले आ–आफ्नै संस्थाबाटै लिट्रेसीको सुरुआत गर्नुपर्ने बताए।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का निरञ्जन फुयाँलले शेयर बजारमा लगानी गर्ने धेरै लगानी कर्तालाई यसमा रिक्स छ भन्ने थाहा नभएको अवस्था रहेको भन्दै बुझेर मात्र यसमा लाग्न आग्रह गरे। उनले पोलिसी मेकरदेखि फाइनान्सियल सेक्टरसम्म फाइनान्सियल लिट्रेसीको ज्ञान हुनु आवश्यक रहेको बताए।

नेपाल बैंकर्स संघका सिइओ अनिल शर्माले हरेक क्षेत्रमा फाइनान्सियल लिट्रेसीको महत्त्व रहेको भन्दै योजनाबद्ध रूपमा संस्थालाई अगाडि बढाउन आग्रह गरे। कार्यक्रममा बैंकिङ विज्ञहरू कुमार लम्साल, शोभनदेव पन्त र रादेश पन्त लगायतले फाइनान्सियल लिट्रेसी राजनीतिक दल, नेतादेखि नीति निर्माता र तल्लो वर्गका व्यक्तिलाई समेत आवश्यक रहेको बताए।
संस्थाका सदस्य माधव निर्दोष र वर्षा श्रेष्ठले सहजीकरण गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष श्रीप्रसाद भण्डारीले धन्यवाद ज्ञापन गर्दै संस्थाले नयाँ–नयाँ जोस र जाँगरका साथ काम गर्ने बताए।

डा.चिरञ्जीवी नेपाल संरक्षक रहेको संस्थामा भुवन दाहाल अध्यक्ष, नीरज गिरी सचिव, श्रीप्रसाद भण्डारी कोषाध्यक्ष र सदस्यहरूमा शिवनाथ पाण्डे, देवेन्द्र गौतम, वर्षा श्रेष्ठ, रेशमराज रेग्मी, रविराज भट्टराई, दिलमान सिंह चन्द, परशु नेपाल र माधव निर्दोष रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved