राष्ट्रपतिको सवारी

विद्या भण्डारीको त्यो सवारी, रामचन्द्र पौडेलको यो सवारी

विद्या भण्डारीको त्यो सवारी, रामचन्द्र पौडेलको यो सवारी

काठमाडौं। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सदनमा सम्बोधन गर्न आउँदा शीतल निवासदेखि नयाँ बानेश्वरसम्म सडक खाली गरिन्थ्यो। फर्कने क्रममा समेत सडक खाली गराइन्थ्यो। सर्वसाधारण घण्टौँ जाममा बस्नुपर्थ्यो।

२८ माघ २०७९ मा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभालाई संयुक्त सम्बोधन गर्न आउँदा त सडकमा हिँडेको भन्दै वीर अस्पतालका डाक्टरले समेत प्रहरीको कुटाइ खाएका थिए। त्यो ज्यादतीको सर्वत्र विरोध भयो।

राष्ट्रपतिका हरेक सवारीमा सडक खाली गराउने अभ्यासको नतिजाको रूपमा नागरिकले सास्ती व्यहोर्दै आएका थिए। सास्ती भोग्दाभोग्दै आजित जनताले गणतन्त्रकै विरोध गर्न थालेका थिए। गणतन्त्रको स्थापनापछि पनि राजतन्त्रकालीन अभ्यासलाई निरन्तरता दिएको भन्दै चर्को आलोचना भइरहेको थियो ।

राष्ट्रपतिको सामान्य सवारी (तस्वीरहरू)

तर, नयाँ राष्ट्रपति चयन भएसँगै रामचन्द्र पौडेलले तडकभडकपूर्ण सवारीको परम्परा बदले। राष्ट्रपति चुनिएको भोलिपल्ट पशुपतिनाथ मन्दिरमा पूजा गर्न जाँदा बाटो खाली गराए पनि त्यसपछि उनको सवारी सामान्य हुँदै आएको छ ।

आज शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेल संसद् भवन जाँदा पनि पुरै सडक खाली भएन। सामान्य औपचारिकताका लागि संसद् भवनको गेटबाट मात्र कारकेडको व्यवस्था गरिएको थियो।

राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि सरकारी निवास शीतलनिवासदेखि सङ्घीय संसद् भवनसम्म पुगे, बिनातामझाम।

विगतका राष्ट्रपतिको सवारीको नकारात्मक नजिरलाई तोड्दै पौडेलले सामान्य सवारी गरे । विगतमा राष्ट्रपतिको सवारी हुँदा आमनागरिकले घण्टौँसम्म कुर्नुपर्ने परिपाटी बनेको थियो। तर, पौडेल सामान्यरूपमै संसद् भवन नयाँ बानेश्वर पुगे ।

यसअघि राष्ट्रपति पौडेल ललितपुरमा जात्रामा जाँदा समेत बाटो खाली गराएनन्। यसअघिकी राष्ट्रपति भण्डारी सामान्य कार्यक्रममा जाँदा आउँदा समेत घण्टौँ सम्म सडक खाली गराएर सर्वसाधारणलाई हिँड्न समेत रोक लगाइन्थ्यो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved