अनि सबैथोक सबैतिर एकसाथ ब्याङ भयो !

घरेलु समस्या, पुस्तान्तरका समस्या र मानव सभ्यतामाथिको सवाल, दार्शनिक द्वन्द्व, कलात्मक महत्ता, आध्यात्मिक रूपान्तरण र वैज्ञानिक अनुसन्धानमुखी अवधारणाहरू एउटै फिल्ममा भेटिनु आफैँमा फिल्मको सार्थकता हो। ओस्कारको सार्थकता हो।

अनि सबैथोक सबैतिर एकसाथ ब्याङ भयो !

जब दुई ड्यानियलले संयुक्त फिल्म निर्देशनमा दोस्ती गरे, कसेर हात मिलाए तब ब्याङ भयो। जब ओस्कारमा समेत ड्यानियल्सले ब्याङ गरे तब सबैतिर ब्याङ भयो। हो, कसलाई पो थाहा छैन र यिनै टु डि डिरेक्टर्स अर्थात् ड्यानियल क्वन र ड्यानियल स्किनर्टद्वारा संयुक्तरूपमा निर्देशित फिल्म ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वान्स’ले २०२३ को ओस्कारमा उत्कृष्ट चलचित्र जित्यो!

खैर, कतिलाई यो भने थाहा नहुनसक्छ, जित्न त जित्यो तर किन पो जित्यो? अथवा थाहा भए पनि मेरो नजरबाट थाहा पाउन मन भएको हुनुपर्छ। एकैछिनलाई यसै मानिदिऊँ न, हुन्न? आखिर कुरा पनि त साइन्स-फिक्सन फिल्मको हुँदैछ। मानिदिनुस् तपाईं मलाई सुन्न चाहनुहुन्छ। त्यसोभए आउनुस्, ढिला नगरेरै फिल्मभित्रका सबै सबै ब्रह्माण्डहरूमा एकैसाथ ब्याङ गरौँ!

ओपनिङ सिन

फिल्मको सुरुवातमै हामी एउटा गोलो ऐनाभित्र एविलिन, वेमन्ड र उनीहरूकी छोरी जोयलाई देख्छौँ जो गीत गाइरहेका छन्। ध्यान दिएर हेर्यौँ भने यो पनि देख्छौँ गीतको कुनै एउटा लाइन गाउने बेला भने आमा एविलिनले छोरी जोयको मुख थुनिदिएकी छ। र यो मुख थुनिदिनुले नै फिल्मको बारेमा यथेष्ट बोलिदिएको छ। उप्रान्तका दृश्यहरूमा एविलिनले हातको प्रयोग बिना नै पटकपटक जोयको मुख थुनिदिएकै छे। कसरी? धैर्य गरौँ, हतार के छ?

सानो परिवार, ठूलो भद्रगोल

परिवार सानो छ एविलिनको तर पनि लथालिङ्ग छ। आज चिनियाँ नयाँ वर्ष हो। सधैँझैं लन्ड्रोम्याटको बिजनेस सम्हालेर, घरका सबै कामहरू भ्याएर, ट्याक्सको झमेला पनि सल्टाउनु छ एविलिनलाई। र आजै ती सबै काम फत्ते गरेर धुमधामका साथ नयाँ वर्ष पनि त मनाउनु छ। यो सबैबारे एविलिन एकसाथ सोचिरहेकी हुन्छे। त्यसैले, ऊ सबैतिर सबैथोक भद्रगोल देख्छे, लथालिङ्ग पाउँछे।

उसलाई ग्राहकको सबै लुगा सकुशल र समयमै फिर्ता गर्नुपर्ने पिरलो छ। त्यति नै बेला सिलिङमा रङ लगाउनुपर्नेबारे पनि ऊ सोचिरहेकी छ। नयाँ वर्ष मनाउन आएको आफ्नो बाबुलाई भोक लाग्ने बेला भयो। चाउचाउ पकाएर खुवाउनपर्ने! अनि साँच्चै, सबैलाई निम्ता पनि त दिनुछ उसले। उसकी छोरी जोय किन आइपुग्दिन अझै ? सबै बिल र रिसिप्टहरू अडिटरकहाँ पुर्‍याउनु पनि त छ। नयाँ बिजनेसको लागि लाइसेन्स मिल्छ कि मिल्दैन होला त साच्चै ? साच्चै, वेमन्डले सिलिङमा रङ त लगाएँ भन्थ्यो। तर, कुन सेतो लगायो होला ? हामीसँग दुई खालका सेता रङ थिए। पक्कै बिगार्‍यो। उफ्। यो बेकम्मा लोग्ने हुनु पनि!

हरे! जोयले फेरि त्यही केटी लिएर आइछे। यो बेकीको वाहन बिन बुलाए महेमान। तीनजनाई ठिक्क पकाएथेँ, फेरि पकाउन पर्ने भो! उसलाई त त्यस केटीको छायाँ पनि मन पर्दैन।

हरेक चिजमा उसको लोग्नेले यी गुग्ली आइज किन टाँस्छ? आखिर किन बचपना छोडेर जिम्मेवार हुन सिक्दैन वेमन्ड ? कामको बीचमा स्टाफहरूसँग गएर नाचेर बस्छ। भन्दै त थिएँ, एउटा सेतो लगाउनुपर्ने अर्को सेतो लगाएर मरेछ। लुगा पनि आफ्नै तरिकाले कहाँ लगेर राखिदिएको हुन्छ, उसले खोज्दा कहिल्यै भेट्दिन। अनि, त्यो अडिटर्नीलाई कुकिज कोसेली लग्दिनुपर्ने फेरि! कसैले नजानेको नाटक! ऊ नभएको भए के गरी खान्थ्यो होला उसको लोग्ने?

छोरी त झन् के भन्नू ? बोइफ्रेन्ड बनाउनको साटो गर्लफ्रेन्ड बनाउँदै हिँड्छे। अझ हजुरबुवासँग भेटाउन परेको रे! केटी-केटी लभ गर्ने कस्तो जमाना आयो हो! त्यो पनि चिनियाँ भए त हुन्थ्यो नि, अमेरिकन! यही बेकीको संगतले उसले आफ्नो भाषा बोल्न पनि बिर्सिसकी। बिचरा उसका बिरामी बा’ले थाहा पाए, सुइँकिन बेर लगाउँदैनन्। कतितिर सोच्नुपरेको उसले।

ओहो, त्यो ठूलो नाकेलाई त पार्टीमा बोलाउनैपर्छ। त्यसले पनि त हेरोस् न कति शानदार हुँदोरहेछ चिनियाँ संस्कृति, हामी चिनियाँहरूको नयाँ वर्ष!

यस्तै, यस्तै अनेक थोक वा भनूँ सबैथोक एकसाथ सम्हाल्न खोज्दा केही न केही त छुटिहाल्छ। एविलिनको नजरबाट छुटेको त्यस्तै कुरा हो डिभोर्स पेपर।

एविलिनसँग डिभोर्स चाहन्छ वेमन्ड। थाहाछैन, कहिलेदेखि ऊ डिभोर्स पेपर बोकेर स्वास्नीको वरिपरि घुमिरहेको छ तर, कुनै मौका नै मिलेको छैन डिभोर्सबारे कुरा गर्न। सायद, यसकारण पनि मिलेको छैन, किनभने ऊ एविलिनलाई प्रेम गर्छ। ऊ एविलिनबाट छुट्न चाहँदैन। कुनै त उपाय होला जसले ऊ र एविलिनबिचको सबैथोक फेरि पहिलेजस्तै ताजा होस्, फेरि पहिलेजस्तै सुन्दर होस्।

ट्याक्स अफिस जाँदासमेत वेमन्डले डिभोर्स पेपर बोकेरै हिँडेको छ। तर, त्यही समय पनि ऊ आफूहरूबीच सबै कुरा ठीक होस् भन्ने कामना गरिरहेकै छ। आफ्नो विवाहलाई बचाउन उसले त्यो अन्तिम समयमा पनि प्रयास गरेकै छ। डिभोर्स पेपर साथै बोकेर लिफ्टभित्र छिर्दै गर्दा पनि आशाको त्यान्द्रो लिएर ऊ भन्छ, ‘यो सबै सकिएपछि हामी कतै ट्रिपमा जानुपर्छ। के भन्छौ?’ एविलिन उस्तै रुष्ट आवाजमा भन्छे, ‘अब योभन्दा उता एउटा मात्र कुराबारे सोच्न नलगा मलाई आज। मेरो टाउको पड्किनेवाला छ।’

उता उत्साहित भएर न्यू इयर पार्टी मनाउन गर्लफ्रेन्ड लिइकन आज त आमालाई जसरी पनि फकाउँछु भनेर आएकी जोय विरक्तिएर रुँदै फर्किएकी छ। रुँदै फर्किएकी जोयलाई देख्दा लाग्छ अब ऊ कहिल्यै आउनेछैन आमाकहाँ। जब जोय फर्किनै लाग्छे, आमा आत्तिएर केही महत्त्वपूर्ण कुरा भन्न छुटेझैं दौडिन्छे। आफ्नो यथार्थलाई अब त आमाले बुझिदिई कि? झिनो आशा जोयको मनमा पनि पलाउँछ। तर, एविलिन भन्छे, ‘मोटी भइसकिस्, अलि स्वस्थ खानेकुरा खाने गर्।’ आमाले उसलाई कहिल्यै बुझ्ने कोसिस नै गर्दिन। या फेरि बुझेर पनि बुझ पचाउँछे? यो कुरा जोयले पनि बुझेकी छैन।

यस्तो लाग्छ आमाछोरीबीच उकुसमुकुस छ, लोग्ने स्वास्नीबीच सकस छ। सम्बन्ध जाम परेको छ। बग्न पाएको छैन। फैलिन पाएको छैन। सम्बन्धले मानौँ श्वास फेर्न पाएको छैन। त्यसले पानी पाएको छैन। जरा हाल्न पाएको छैन।

छन त खाली तीनजनाको सानो परिवार छ। तर, भद्रगोल यस्तो छ, लाग्छ, ब्रह्माण्डका हरेक कुरा अन्यत्र कहीँ नभएर यही परिवारभित्र घटिरहेको छ। यस्तो लाग्छ, साराका सारा ब्रह्माण्ड एविलिनको खोपडीभित्र खाँदिएर चलिरहेको छ।

 

दर्शन

उसो त यो साइन्स-फिक्सन फिल्म हो। तर, साइन्सभन्दा अगाडि फिक्सनकै कुरा गरौँ। आखिर विज्ञानको पनि विज्ञान त दर्शनलाई नै मानिन्छ। अल्बर्ट आइन्स्टाइनले पनि त भनेकै हुन् ज्ञानभन्दा ठूलो कल्पना हो। र हो पनि। कल्पनाले सिद्धान्त जन्माउँछ। त्यही सिद्धान्त सिद्ध भएमा विज्ञान कहलिन्छ। विज्ञानतिर पनि जाँदै गरौँला। अहिलेलाई आउनुस्, विविध वादका बात मारौँ।

१. अस्तित्ववाद

हरेक मानिसमा एउटा अहम् हुन्छ आफू हुनुको। र हरेक मानिसमा गौरव हुन्छ आफू आफू नै हुनुको। त्यही आफ्नो अस्तित्वप्रतिको अह्म र गौरवको पक्षमा जुन सिद्धान्तले वकालत गर्छ त्यसैलाई हामी अस्तित्ववाद भन्दछौँ।

अब प्रश्न आउला यो फिल्म र अस्तित्ववादको के सम्बन्ध? फिल्म त निस्सारवादी होइन र? विसङ्गतिवादी होइन र? हो, फिल्ममा निस्सारता भरिभरि छ। विसङ्गति छ अटाई नअटाई। तर, यी दुवैभन्दा अगाडि छ अस्तित्ववाद।

फिल्मको कथाकी पात्र जोय अस्तित्ववादी हो सुरुआतमा। जो ठान्छे म जे हुँ, जस्तो हुँ त्यस्तै प्रस्तुत हुन पाउनुपर्छ र मेरो यथार्थ अस्तित्व समाज र परिवारबाट खुसी खुसी स्वीकृत हुनुपर्छ। त्यसैले, लाखौँ असफल प्रयासका बाबजुद पनि आजको खुसीको दिनलाई एउटा शुभ साइत (अवसर) ठानेर बडो अपेक्षासहित जोय पुन: आफ्नो यथार्थ पहिचान बोकी आमा एविलिनको अघि उभिन पुगेकी छ। ऊ छोरी मान्छे हो जो छोरी मान्छेलाई नै मनपराउँछे। ऊ लेस्बियन हो र ऊ चाहन्छे आफ्नो पहिचानलाई एविलिनले जस्ताको त्यस्तै स्वीकार गरिदेओस्। तर, जब एविलिनले छोरीको कुरालाई बुझ्न खोज्दिन र त्यसलाई खाली एउटा मानसिक तनावको संज्ञा दिन्छे तब अस्तित्ववादी जोयको अस्तित्व सङ्कटमा परिदिन्छ।

यो उसको पहिलो प्रयास थिएन। यो उसको अन्तिम प्रयास थियो। जति मिलाउन खोज्दा पनि नमिलेपछि ऊ आफ्नो अस्तित्व र पहिचानको हिसाब अब कहिल्यै सुल्झिँदैन भन्ने ठानिदिन्छे। तब बाँच्नुको, सम्बन्ध जोगाइरहनुको कुनै सार ऊ देख्दिन। उसलाई सबै कुरा निस्सार लागिदिन्छ। सपना देखिरहेको सुखी-खुसी परिवार, लडेर पाउन खोजिरहेको स्वभिमान, आफूले बाँचिरहेको जिन्दगी, जोगाउन खोजिरहेको सम्बन्ध सबै सबै उसलाई निस्सार लागिदिन्छ।

२. निस्सारवाद

यसरी, अस्तित्ववादबाट क्रमशः निस्सारवादमा जोय पुगेकी छे। आफ्नो अस्तित्व, पहिचान, आत्मसम्मान जोगाउन नसक्दा जोयलाई सारा संसार निरर्थक लागेको छ। ऊ आमाले भइदियोस् चाहेजस्तो हुन सक्दिन। त्यो ऊ हुँदै होइन। जो ऊ हुँदै होइन ऊ त्यो कसरी बन्न सकोस्? र ऊ जे हो, त्यो उसकी आमाले स्वीकार गर्नै सक्दिन। त्यसैले, ऊ जे हो त्यसप्रति गर्व गर्न सक्दिन। खुसी मनाउन सक्दिन। ऊ यसै पनि एक्ली छे, उसै पनि एक्ली।

हरेकपटक आमाकहाँ अपेक्षा बोकेर जाँदा उसले निराश भएर, अपमानित भएर फर्किनुपरेको छ। ऊ आफूले मात्र कहाँ हो र उसकी गर्लफ्रेन्ड बेकीले पनि तिरस्कार र बहिष्कार सहनुपरेको छ। जिन्दगीमा जोय अर्थात् खुसी खोज्दै हिँडेकी जोय आखिर आफ्नो सानो परिवारभित्रै पनि खुसी पाउन सक्दिनँ। प्रयास गर्दा गर्दा हारेर थाकेर ऊ शिथिल भइसकेकी छ। त्यसैले, उसले अहिलेसम्म पाएका तिरस्कार, अस्वीकार र अपमानका चोटहरूलाई उसले नकारात्मक ऊर्जाका रूपमा प्रयोग गर्ने अठोट गरेकी छ। ऊ अब आमासँग कुनै सम्बन्ध राख्नेछैन। ऊ अब बिर्सिदिनेछे ऊ कसैकी छोरी पनि हो। ऊ अब बिर्सिदिनेछे ऊ यो अस्तित्वमा छे भनेर पनि।

उसमा अब कुनै इच्छा, अपेक्षा बाँकी रहेन। उसमा अब बाँचिरहने रहर पनि बचेन। बरु भित्रभित्रै उसलाई लाग्छ यो सबै निस्सार जगत यहीँनेर अन्त्य होस्। ऊभित्र बरु जोबु टुपाकीको जन्म हुन्छ। अर्थात् उसमा सुसाइडल टेन्डेन्सी देखापर्छ।

३. विसङ्गतिवाद

विसङ्गति र निस्सारताबीच उति धेरै भिन्नता त हुँदैन तर जतिपनि भिन्नता हुन्छ त्यो नै व्यापक हुन्छ। फिल्ममा एविलिनको लोग्ने वा भनूँ जोयको बाबु ‘वेमन्ड’ त्यो विसङ्गत पात्र हो जसले सुस्त बोलेर पनि आफ्नो आवाज आखिर एविलिनसमक्ष पुर्‍याएरै छाड्यो। जुन मान्ने हो भने चाइनाको ग्रेट वाल भ्रमण गर्नुजत्तिकै ठूलो कुरा हो। किनभने, एविलिन हत्तपत्त कसैको कुरा सुन्ने पात्र नै कहाँ हो र? खैर, वेमन्डले जितेरै छाड्यो, आफ्नो विसङ्गत कुरा सुनाएरै छाड्यो। तर, वेमन्डको कुरा पो के थियो?

वेमन्ड एक विसङ्गत पात्र हो। विवाह गर्ने उमेरकी छोरी भएको ऊ आफू भने बचपना हर्कत गरिबस्छ। बच्चाले भाँडाकुटीमा टाँस्ने गुगली आइजको स्टिकर जताततै टाँसेर ऊ एविलिनलाई हैरानै बनाउँछ। उसलाई थाहा छ, एविलिन यस्तै छे जो काम, काम र कामबाहेक दायाँबायाँ केही जान्दिन। परिवार के हो? रोम्यान्स के हो? प्रेम के हो? रमाइलो के हो त उसले बिर्सिसकेकी छ। उसलाई बस् कामको तनाव छ। तर, वेमन्ड भने एविलिनलाई मनै नपर्ने हर्कत गरेर अझै बिच्काइरहन्छ।

ऊ स्टाफसँग रोमान्टिक गाना बजाएर नाचिदिन्छ। जति नै छुच्ची भए पनि अडिटरलाई खुसी पार्न ऊ हरेकपटक कुकिज लिएर जान्छ। एविलिनले देखी नसहने छोरीकी गर्लफ्रेन्डसँग ऊ हाँसीखुसी गफ गरिदिन्छ। अरू त अरू, अब त यसरी सम्बन्ध चल्न सक्दैन, सँगै रहन सकिँदैन भनेर सम्बन्धविच्छेद गर्नका लागि कागजात तयार पारिसक्दा समेत ऊ एविलिनले आफूलाई मायालु नजरले हेरिदिएको, चुम्बन गरेको कल्पना गर्छ र कतै घुम्न जानसमेत प्रस्ताव गर्छ।

डिभोर्स पेपर बोकेर रोमान्टिक हुनसक्ने गरी विसङ्गत पात्र हो वेमन्ड। यस्तो लाग्छ, उसलाई पनि जोयलाई जस्तै बाँचिरहेको जिन्दगी, सम्हालिरहेको सम्बन्ध निस्सार त लाग्छ, तर कता कता त्यही निस्सारताबिच पनि खुसी हुने बहाना ऊ खोजी भ्याउँछ। अल्बेयर कामूले भनेजस्तै वेमन्ड सायद आफैसँग प्रश्न गर्दो हो- आखिर केही पनि छैन, केही कुराको कुनै पनि औचित्य छैन भने चिन्ता पनि त के को लिनु छ र? अनि, आफैँलाई उक्साउँदो हो- जतिन्जेल बाँचिन्छ सक्दो रमेर रमाएरै बाँचौँ न!

यही कुरा त हो वेमन्डले त्यत्रो होहल्लाबीच पनि एविलिनजस्ती कसैको नसुन्ने पात्रलाई सुस्तै बोलेर पनि सुनाउन सकेको। हुन त, मनोविज्ञानका अनुसार जति नम्र आवाजमा हामी बोल्छौँ हामीलाई मान्छेले सुन्ने सम्भावना पनि उति नै हुन्छ।

त्यसो त वेमन्डमार्फत मात्रै नभएर भर्स जम्पको दौरान अनेक पात्रलाई अनेक अजिब हर्कत गर्न लगाएर पनि फिल्ममा विसङ्गतिलाई गति दिइएको छँदैछ। र अझै अजिब त सोझो तरिकाले देखाइन्थ्यो भने परिवारसँग बसेर हेर्न नसकिने अनेकौं दृश्यहरू पनि यसरी बङ्ग्याएर प्रस्तुत गरिएको छ कि ती पारिवारिक फिल्मको हिस्सा बन्न पुगेका छन्। सोच्दै जाँदा लाग्न सक्छ, विसङ्गतिले योभन्दा चरम मज्जा पनि दिन सक्ला र?

खैर, यसरी अस्तित्ववादबाट सुरु भएको कथाको निस्सारवाद हुँदै विसङ्गतिवादसम्म आइपुगेर सुखद अन्त्य भएको छ।

विज्ञान

खैर, यो त भयो दर्शनको कुरा। अब केही विज्ञानको कुरा पनि त गरौँ। विज्ञान जगतमा यतिबेला व्यापक चर्चा भइरहेको सिद्धान्त हो- मल्टिभर्स थ्योरी! अर्थात् अस्तित्वमा ब्रह्माण्ड एउटा मात्रै छैन बरु अनगिन्ती छन् जो समानान्तर घटित भइरहेका छन्। अस्तित्वमा एउटा मात्रै होइन गनेरै नसकिने सङ्ख्यामा सूर्य छन्, सौर्य मण्डल छन्, नक्षत्र छन्, ब्रह्माण्ड छन्।

सन् १८९५ मा पहिलोपटक अमेरिकी दार्शनिक विलियम जेम्सले मल्टिभर्सको सिद्धान्त उद्घोष गरेका हुन्। भलै, हालसम्म पनि यो सिद्धान्त सिद्ध भइसकेको छैन तर, यतिबेला विस्तृत रूपमा यस विषयमाथि विचार-विमर्श र प्रयोग-अनुसन्धान भइरहेका छन्। उतिबेला अल्बर्ट आइन्स्टाइनले प्रतिपादन गरेको बिग ब्याङ थ्योरीलाई गलत ठहर्याइएको भए पनि आजको दिनमा सोही सिद्धान्तलाई आधार मानेर मल्टिभर्सको साम्भाव्यतामाथि आजका वैज्ञानिकहरू खोज-अनुसन्धान गरिरहेका छन्। आइन्स्टाइनको बिग ब्याङ थ्योरीका अनुसार बिग ब्याङ हुनुअघि अस्तित्वमा खाली एउटा बिन्दु अर्थात् ‘सिङ्गुलारिटी’ थियो र बिग ब्याङपछि नै उक्त सिङ्गुलारिटी भंग भई ब्रह्माण्ड फैलँदै जान थालेको हो। आजका वैज्ञानिकहरू आइन्स्टाइनले भनेको त्यही सिङ्गुलारिटीको विस्तृतिलाई मल्टिभर्ससम्म तन्काएर अध्य्यन गर्दा छन्।

मल्टिभर्सको यही साम्भाव्यता सत्य साबित भएको खण्डमा विभिन्न ब्रह्माण्डमा भएका आफ्ना भर्सनहरूलाई कसरी एकअर्कासँग जोड्न सकिन्थ्यो होला भन्ने काल्पनिकतालाई फिल्मले दृश्यमा उतारेको छ।

फिल्मले अजिब हर्कत गर्दै भर्स जम्प गर्ने टेक्निकलाई अघि सारेको छ। यसले फिल्मलाई विचारमुखीसँगै रोचक बनाएको छ। साथै, फिल्मले अनेक ब्रह्माण्डमा अनेक सीप भएका पात्रलाई यथार्थ ब्रह्माण्डको पात्रसँग सिन्क (sync) गराउने अवधारणासमेत अघि सारेको छ। यसरी दुई वा दुईभन्दा बढी ब्रह्माण्डका एउटै पात्रको सीपलाई यथार्थ ब्रह्माण्डको सोही पात्रले आफूमा खिचेर त्यसको प्रयोग गर्नसक्ने अवधारणा पनि फिल्मले अघि सारेको छ।

हाल खोज र अनुसन्धानको क्रममै रहेको मल्टिभर्सको सिद्धान्त सुदूर भविष्यमा केही गरी पुष्टि हुन गएमा फिल्मले अघि सारेका भर्स जम्पिङ, भर्सन सिन्किङजस्ता अवधारणाहरू अतिउपयोगी साबित हुन पनि सक्दछन्। आइन्स्टाइनलाई यहाँनेर फेरि पनि सम्झिऊँ। उनी भन्थे, ‘यदि, यथार्थमा परिणत गर्न सकियो भने ज्ञानभन्दा महत्त्वपूर्ण त कल्पनाशीलता नै हुन्छ।’ ड्यानियल्सको यही कल्पनाशीलताको महत्त्व बुझेर हुनसक्छ ओस्कारले यही फिल्मलाई विजेता चुनेको।

फिल्मको जग वा केन्द्रमा भेटिने विज्ञानबारे त यति चर्चा हुनु नै मलाई लाग्छ यथेष्ट छ। यद्यपि, तपसिलका रयल कुराहरू तल पनि आउँदै रहलान्। अब भने केही सिर्जनशीलताका कुरा गरौँ।

विम्ब र प्रतीक

फिल्ममा भेटिएका सिर्जनशीलताको कुरा गर्न खोज्दै गर्दा बिम्ब र प्रतीकहरूको डिकोड गर्नु त अनिवार्य नै हो। जसबारे चर्चा गर्न छुटाए यो सिङ्गो लेख सिङ्गो नरहिरहन सक्छ।

१. ऐना

फिल्मको सुरुवातमै हामी ऐनाभित्र पात्रहरूलाई देख्छौँ। र त्यसपछि पनि ठाउँ-ठाउँमा ऐनाको प्रयोग भएको देख्छौँ। तर, फिल्मैभरि होइन। तबसम्म, जबसम्म एविलिन अल्फा भर्सलगायत अन्य भर्समा भर्स जम्प गर्न सहज अनुभव गर्दिन।

यसर्थ, फिल्ममा ऐनालाई मल्टिभर्समा पुग्नसकिने बाटो वा द्वारका रूपमा देखाइएको छ। हुन पनि हो, यथार्थमा जे भइरहेको हुन्छ ऐनाभित्र पनि समानान्तररूपमा उस्तै दृश्य र घटना घटिरहेका हुन्छन्।

२. मार्सल आर्ट्स

फिल्ममा मार्सल आर्ट्सलाई मास्टर अफ अल आर्ट्सका रूपमा देखाइएको छ। एविलिनको अल्फा भर्सनले जोयलाई बचाउनमा मार्शल आर्ट्सका स्टन्टहरू गरेको देखाइएको छ। र ती अनेक स्टन्टहरूमध्ये केही स्टन्ट उसले कुनै भर्सकी सेफ (chef) एविलिनबाट सिकेकी छे, कुनै ट्राफिक एविलिनबाट, कुनै डान्सर त कुनै सिङ्गरबाट।

यसको मतलब मार्सल आर्ट्समा दुनियाँमा विद्यमान सबै आर्ट्स समावेश हुँदोरहेछ। जसले मार्सल आर्ट्स सम्पूर्ण कलामध्येकै सर्वोत्कृष्ट कला हो भनी पुष्टि गर्नसमेत भ्याएको छ।

३. ब्ल्याक रिङ

अडिटरकहाँ भएभरका बिलहरू बोकेर नयाँ व्यवसायको दर्ता प्रक्रियाका लागि पुगेकी एविलिन मल्टिभर्सको फन्दामा परिसकेकी छे।

अडिटर उसले ल्याएका बिलहरूमा डटपेनले कालो घेरो बनाउँदै सोध्छे, ‘यो के हो ? बुझा मलाई!’ एविलिन बुझ्दिन र भन्छे, ‘यो रिसिप्ट हो।’ अडिटर रिसाउँदै भन्छे, ‘यो तेरो कथा हो। तेरो जीवनको उतारचढावको सबै कहानी यसमै छ। म तेरो भाषा बुझ्दिनँ, छोरीलाई लिएर आइज भनेको किन सुन्दिनस् ?’

उता अल्फा भर्समा उस्तै रिसाउँदै अडिटर एविलिनलाई मार्न भनेर लखेट्दै आउँछे। त्यतिबेला पनि अडिटरको निधारमा उस्तै कालो घेरो हामी देख्छौँ।

यस्तै कालो घेरो जोय अर्थात् अल्फा भर्सकी जोबु टुपाकीले पनि बनाएकी छे। जुन कालो घेरोभित्र छिरेपछि कहिल्यै केही चिज फर्केर आउँदैन।

यता रियल भर्समा अडिटरले बनाएको कालो घेरो एविलिनको व्यवसाय र घर-गृहस्थीको लुप होल हो भने त्यही कालो घेरो उता अल्फा भर्समा भने ब्ल्याक होल हो। रियल भर्समा यदि त्यो लुप होल सच्याउन सक्ने हो भने अल्फा भर्सको ब्ल्याक होलले कसैलाई निल्न सक्दैन। वाह्! कस्तो सुन्दर तादात्म्य!

४. गुग्ली आइज

फिल्मको सुरुआतदेखि नै वेमन्डले जता पनि टाँस्दै हिँडेको खेलौना नै आखिर जोबु टुपाकीसँग लड्ने अचुक अस्त्र भइदिन्छ। आखिर हेर्दा पनि त जोबुको ब्ल्याक रिङ भन्दा ठ्याक्कै उल्टो देखिन्छ वेमन्डको गुग्ली आइज।

जोबुको ब्ल्याक रिङ छेउछेउमा कालो र बीचभागमा सेतो छ। वेमन्डको गुग्ली आइज भने ठीक उल्टो वरिपरि सेतो र बीचमा कालो। ब्ल्याक रिङको कालो घेरोले नकारात्मक ऊर्जा र मध्यभागको सेतोले शून्यता, निस्सारता र रिक्तता बुझाउँथ्यो भने गुग्ली आइजको सेतो घेरोले सकारात्मक ऊर्जा र मध्यभागमा भएको कालो टिकोले आशा, उपलब्धि र सम्पूर्णता बुझाउँछ।

वेमन्डले जस्तै माया, प्रेम र करुणाको आँखाबाट जब एविलिनले दुनियाँलाई नियाल्छे तब ऊ निस्सार संसारप्रति गुनासो गर्नुको कुनै सार हुँदैन भन्ने बुझ्छे। विसङ्गतिमा पनि एउटा गति त अवश्य हुन्छ भन्ने बुझ्छे। जोबुको रौद्र रिसपछाडिको पीडा बुझ्छे। तब, गुग्ली आइज अर्थात् करुणाको आँखाले हेर्दै सबैको घाउ-चोटहरूमा एविलिन मह्लम लगाउन थाल्छे। तब, उसको व्यापार र परिवारको लुप होल पनि सचिन्छ। जोबुको ब्ल्याक होल पनि उही गुग्ली आइजद्वारा परास्त हुन्छ।

जब गुग्ली आइजलाई एविलिन आफ्नो तेस्रो आँखा बनाउँछे तब एविलिनको अडिटरसँग मित्रता हुन्छ। बाबुसँगको त्रास सकिन्छ। लोग्नेसँगको प्रेम ताजा हुन्छ। छोरीसँगको मनमुटाव मेटिन्छ।

५. ढुंगा

फिल्म हेरुन्जेल यस्तो लाग्छ कि कुनै पात्रहरूले श्वास फेरेकै छैनन्। र जब ढुंगाको दृश्य आउँछ बल्ल पात्रहरूले श्वास फेर्छन्।

मानौँ लामो दौडधुपबाट विश्राम लिँदै आमा-छोरी केहीछिन् योग-ध्यान गर्न मौन बसेका हुन्। एउटा ढुंगाले जस्तै बिना कुनै आग्रह/पूर्वाग्रह आफ्ना विचारहरूको साक्षी बसेका हुन्। के हुँदैछ आफूभित्र र आफ्नो वरिपरि होसपूर्वक खाली साक्षातकार गरेका हुन्। यसरी हेर्दा ढुंगा साक्षीभावको बिम्ब हो। बोधिचित्तको बिम्ब हो।

फिल्मको अन्तिम अन्तिमतिर दुई ढुंगाहरूकै अर्को एउटा दृश्य छ। जहाँ जोयको प्रतिनिधि ढुंगा भीरबाट खस्छ र उसलाई बचाउन एविलिनको प्रतिनिधि ढुंगा पनि खस्छ। दुवै ढुंगा एउटा बिन्दुमा पुगेर ठोकिन्छन्। त्यसरी ठोकिनु बिग ब्याङको प्रतीक हो।

अलेक्ज्यान्डर अलेक्ज्यान्ड्रोविच फ्रिडमन, हावर्ड पर्सि रोबर्टसन, रोबर्ट एम वाकर गरी तीन अमेरिकी भौतिकशास्त्री एवं गणितज्ञहरूले प्रतिपादन गरेको फ्रिडमन-रोबर्टसन-वाकर-मोडेल अफ द युनिभर्सले ‘बिग ब्याङ ह्यापन्ड एव्रिह्वेर एट वान्स’ भन्ने सिद्धान्तमाथि वकालत गर्छ। जसले आइन्स्टाइनको सिङ्गुलारिटीदेखि मल्टिभर्सको सम्भाव्यतासम्मको चर्चा गर्छ।

फ्रिडमनका अनुसार बिग ब्याङ कुनै विस्फोट (एक्स्प्लोजन) होइन बरु विस्तृति (एक्स्पान्सन) हो। जहाँ कुनै एक पदार्थ फैलिएर कुनै एक पदार्थबाट टाढा पुग्दैन बरु हरेक पदार्थ हरेक दोस्रो पदार्थबाट उत्तिकै दूरी बनाउँदै फैलँदै जान्छ। उता दुई पिण्डबीच ब्याङ भयो ब्रह्माण्ड फैलिन थाल्यो। यता जोय र एविलिनबीच ब्याङ भयो अर्थात् ब्ल्याक रिङ र गुग्ली आइजबीच ब्याङ भयो परिवार फैलिन थाल्यो। परिवारमा अब बेकी थपिई। र यो विस्तृतिले पनि उत्तिकै दूरी बनाउँदै जानेछ।

हिजो छोरीको जन्म हुनु नै एविलिनको बाबुको लागि समस्या थियो, आज छोरी लेस्बियन हुनु एविलिनका लागि समस्या भइदिएको छ। भोलि जोय र बेकीका सन्तान दरसन्तानले अर्को समस्या, अर्को पुस्तान्तर अर्थात् अर्को दूरी बनाउँदै जानेछन्। उस्तैगरी, जसरी ब्रह्माण्डको विस्तृतिले सबैथोकबाट सबैतिर एकसाथ समानान्तर दूरी बढाउँदै गइरहेको छ।

खैर, जब उता ढुंगाहरू ठोकिएर ब्याङ भयो, हरेक भर्समा जोय र एविलिनका हरेक भर्सनले एकअर्कासँग अङ्कमाल गरे। त्यतिबेला अस्तित्वमा भएका हरेक चिजहरू (जोय र एविलिनहरू) एक-अर्कासँग ठोकिएका छन्। कतिसम्म भने हरेक जोय स्याउ र हरेक एविलिन स्याउसमेत एक-अर्कासँग ठोकिएका छन्। अनि यसरी, सबैतिर एकसाथ ब्याङ भएको छ! हरेकतिर एक साथ ब्याङ भएपछि बिग ब्याङ त हुने नै भयो नि, होइन र ?

पुनश्च:

दैनिक जीवनका घरेलु समस्या, विश्वभरि देखिएका पुस्तान्तरका समस्या र नस्लवादले सिर्जना गरेको मानव सभ्यतामाथिको सवाल, दार्शनिक द्वन्द्व, कलात्मक महत्ता, आध्यात्मिक रूपान्तरण र वैज्ञानिक अनुसन्धानमुखी अवधारणाहरू एउटै फिल्ममा भेटिनु आफैँमा फिल्मको शीर्षकदेखि सामग्रीसम्मको सार्थकता हो। ओस्कारको सार्थकता हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved