रास्वपाका यी १४ सांसद जसलाई केन्द्रीय समिति बैठकमा छैन प्रवेश

पार्टीका २१ सांसदमध्ये ७ जना मात्रै केन्द्रीय सदस्य

अहिले ४० जना केन्द्रीय सदस्य छन्। तर, त्यसमा नाम चलेका पूर्व मन्त्रीदेखि सांसद,व्यवसायी र सामाजिक व्यक्तित्व समेटिन सकेका छैनन्।

रास्वपाका यी १४ सांसद जसलाई केन्द्रीय समिति बैठकमा छैन प्रवेश

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका २१ सांसदमध्ये १४ सांसद पार्टीको साधारण सदस्य मात्रै छन्। जसले आजको केन्द्रीय समिति बैठकमा प्रवेश पाएनन्।

वैशाख १० को उपनिर्वाचनमा तनहुँ १ बाट निर्वाचित सांसद डा.स्वर्णिम वाग्ले र उपनिर्वाचनमा पराजित पूर्वडीआईजी रमेश खरेल पनि रास्वपाको केन्द्रीय भूमिकामा छैनन्। वाग्लेले साधारण सदस्यता लिएको भए पनि खरेलको आफ्नै नेपाल सुशासन पार्टी छ। उनी त्यसको अध्यक्ष हुन्। तर, उनको पार्टी छिट्टै रास्वपासँग एकता गर्ने तयारीमा छ।

राष्ट्रिय स्वतन्त्र पार्टी गठनको समयमा २४ सदस्यीय केन्द्रीय समिति रहेकोमा फागुन १ गते विभिन्न क्षेत्रका १६ जना थप गरी ४० सदस्यीय पुर्‍याइयो। तर, पार्टीका २१ सांसदमध्ये १४ जना अझै केन्द्रिय समितिमा पुगेका छैनन्। उनीहरू साधारण सदस्य मात्रै छन्।

पूर्व सञ्चारकर्मी रवि लामिछाने रास्वपाको सभापति छन् । चितवन २ का निर्वाचित सांसद लामिछाने पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत हुन्। त्यसैगरी, विदेश बसेर फर्केका व्यवसायी डीपी अर्याल पार्टीको उपसभापति छन्। उनी समानुपातिकबाट सांसद छन्।

यसैगरी, पार्टीको महामन्त्रीमा डा.मुकुल ढकाल र सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी छन्। पेशाले चिकीत्सक रहेका डा.ढकाल र व्यवसायी बुर्लाकोटी भने सांसद छैनन्। २०७९ असार १७ गते निर्वाचन आयोगमा दर्ता हुँदा रास्वपामा २१ जना केन्द्रिय सदस्य थिए।

संस्थापक केन्द्रीय समितिमा दीपकराज बोहरा, विपिन कुमार आचार्य, महेश्वर घिमिरे, वसुमाया तामाङ्ग, उपेन्द्र पाण्डे, इथा मुल्ला मिया, गणेश पराजुली, सोविता गौतम, कुसुम महर्जन, विष्णुकुमार श्रेष्ठ, रामकृष्ण भट्टराई, डा.प्रभात अधिकारी, गीता रेग्मी, डा.राकेश यादव, प्रमिला कुलुजु, रविना घिमिरे र एलिजा गुरुङ रहेका थिए।

अहिले ४० जना केन्द्रीय सदस्य छन्। तर, त्यसमा नाम चलेका पूर्व मन्त्रीदेखि सांसद,व्यवसायी र सामाजिक व्यक्तित्व समेटिन सकेका छैनन्। प्रतिनिधिसभा सांसद तथा पूर्वशिक्षामन्त्री शिशिर खनाल,ललितपुर ३ बाट सांसद रहेकी पूर्वस्वास्थ्य राज्यमन्त्री डा.तोसिमा काकी, चितवन १ का सांसद हरि ढकाल, काठमाडौं ८ का सांसद विराजभक्त श्रेष्ठ पार्टी केन्द्रीय सदस्य छैनन्।

त्यसैगरी, समानुपातिकबाट सांसद बनेका प्रमुख सचेतक सन्तोष परियार,अशोक चौधरी, निशा डाँगी, डा.चन्दा कार्की र मनीष झासमेत रास्वपा केन्द्रीय समितिमा छैनन्।

सांसदहरू चलचित्र निर्देशक असिम साह, विनिता कठायत, लक्ष्मी तिवारी, शिव नेपाली पनि रास्वपाको केन्द्रीय समितिमा छैनन्। संसदीय भूमिकामा मुख्य रहेपनि पार्टीको केन्द्रीय समितिमा नभएकै कारण उनीहरू पार्टीले लिने कतिपय महत्त्वपूर्ण निर्णयमा बेखबर देखिन्छन्।
तर, रास्वपा नेताहरू भने यसलाई खासै ठूलो ठान्दैनन्।

पार्टीको सबै कुरा सबैले जानकारी पाउने संयन्त्र बनाइएकोले संसदीय फाँटको कुरा र केन्द्रीय समितीको कुरामा पार्टी नेता जानकार हुने रास्वपाको तर्फबाट प्रमुख सचेतक रहेका सन्तोष परियार बताउँछन्। ‘पार्टीमा सबैले सबै पद लिनु राम्रो पनि होइन,सबैको फरक–फरक भूमिका हुन्छ’,नेपालभ्युजसँग उनले भने–‘म छुट्टै काममा व्यस्त छु। केन्द्रिय समिति बैठकमा भएको कुरा पछि संसदीय दलको बैठकमा जानकारी पाइहाल्छु।’

यस्तै, कुरा पार्टी सह-महामन्त्री कविन्द्र बुर्लाकोटी पनि बताउँछन्। ‘पार्टीको संरचना अनुसार नै भूमिका र जिम्मेवारी हुने भएकोले अरु पार्टीको जस्तो सबैले सबै पद लिनुपर्छ भन्ने होइन’ उनले भने–‘रास्वपाभित्र पदको कुरामा कसैको कुनै गुनासो छैन। सांसद वा केन्द्रीय सदस्य जसको जता जिम्मेवारी हो त्यतै व्यस्त हुनुहुन्छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved