बच्चालाई ज्वरो आउँदा अपनाउनुपर्ने सतर्कता

नेपालभ्युज

बच्चालाई ज्वरो आउँदा अपनाउनुपर्ने सतर्कता

एजेन्सी। बच्चालाई ज्वरो आउनेबित्तिकै अभिभावक आत्तिएर अस्पताल लगिहाल्ने गरेको पाइन्छ । तर, कुन अवस्थामा अस्पताल लैजाने र कुन अवस्थामा नलाने भन्ने जान्न आवश्यक छ । खासगरी, बालबालिका भाइरल ज्वरोबाट धेरै नै प्रभावित हुने गर्छन् । त्यस्तै अहिले पनि मौसम फेरिने समय छ र भाइरल ज्वरोको प्रकोपमा बच्चाहरू परिरहेको पाइन्छ ।

घरमा कसैमा रुघाखोकी लागेमा बच्चाहरू छिटै प्रभावित हुने गर्छन्, जसले गर्दा ज्वरो आउन सक्छ । त्यसकारण ज्वरो आउँदा केही सतर्कताका विधिहरू अपनाएर सुरक्षित हुन सकिन्छ ।

कतिपय बच्चा धेरै ज्वरो आउँदा बेहोस हुने पनि गर्दछन् । तर, ज्वरोमा तापक्रम ९९ डिग्रीभन्दा कम छ भने आत्तिनुपर्दैन । बच्चालाई पर्याप्त मात्रामा पानी पिउन लगाउनुपर्छ ।

तुरुन्तै औषधि दिइहाल्नु हुँदैन । के कारणले ज्वरो आएको छ भनेर पत्ता लगाउन आवश्यक छ । यदि, ज्वरो १०० डिग्रीभन्दा माथि नै छ भने डाक्टरको सल्लाहअनुसार सही मात्रामा औषधी खुवाउनुपर्दछ । ज्वरो आइरहेको बेला धेरै कपडा ओढाइदिने वा लगाइदिने गर्नु हुँदैन । बरु कपडाहरू खोलेर बच्चालाई पातलो कपडामा राख्ने र पानी पट्टी लगाउँदा तापक्रम घट्दै जान्छ।

बच्चालाई ज्वरो आएर आत्तिएको खण्डमा बच्चा लड्ने तथा खाटबाट खसेर चोटपटक लाग्ने सम्भावना हुन्छ। यस्तो बेला होसियार हुनुपर्छ । बच्चालाई उत्तानो पारेर राख्दा थुक वा अरू केही सर्किने सम्भावना हुन्छ, जुन अत्यन्तै खतरनाक हुन सक्छ । त्यसैले बच्चालाई ज्वरो आएको वेलामा देब्रेतिर फर्काएर सुताउनुपर्छ ।

त्यस्तै, चिसो पानीमा नरम कपडा भिजाएर टाउको र पाइतालामा राखिदिनुपर्छ । यसो गर्दा तापक्रम घट्छ । बच्चा दुई वर्ष मुनिको छ भने आमाको दुध प्रशस्त खुवाउनुपर्छ । बालबालिकालाई पनि झोलिलो खानेकुरा खुवाउँदा ज्वरो कम हुँदै जान्छ ।

घरमै बनाएको फलफूलको जुस, घरमै बनाएको अन्य खानेकुरा खुवाउँदा बच्चाको प्रतिरोधी क्षमता बढाउन राहत पुग्छ । अरू सामान्य खानेकुरा खुवाउँदा राम्रो हुन्छ ।

ज्वरो बढेमा के गर्ने ?

बच्चालाई सामान्यतः ज्वरो आएको पहिलो २४ घन्टा निगरानीमा राखेर हेर्नुपर्ने हुन्छ । कतिपयमा सामान्य ज्वरो वा भाइरल संक्रमण भइरहेको हुन्छ । कतिपयमा काम्ने वा बेहोस हुने अवस्था पनि आउँछ । त्यसैले बच्चा काम्न छाडे पनि निको भयो भनेर ढुक्क हुनुहुँदैन ।

एकपटक चिकित्सकलाई देखाउनु उपयुक्त हुन्छ । कुनै गम्भीर स्वास्थ्य समस्याका कारण ज्वरो आएको पनि हुन सक्छ । त्यसकारण सामान्य ज्वरो हो भनेर मात्रै बस्नुहुँदैन । ज्वरोको कारण चिकित्सकले मात्र पत्ता लगाउन सक्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved