रवि, स्वर्णिम र उपेन्द्रलाई गगनको बधाई

'कांग्रेस रुपान्तरण गर्न कठोर निर्णय लिन्छु'

नेपालभ्युज

रवि, स्वर्णिम र उपेन्द्रलाई गगनको बधाई

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी रुपान्तरण योजना सार्थक बनाउन जुनसुकै कठोर निर्णय लिन तयार हुने बताएका छन् । हालै सम्पन्न उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित उपेन्द्र यादव, रवि लामिछाने र स्वर्णिम वाग्लेलाई सामाजिक सञ्जालमा एक बधाई सन्देश दिँदै बुधबार उनले उक्त कुरा बताएका हुन् ।

महामन्त्री थापाले उपनिर्वाचनको मतादेश र जनताको सन्देशलाई सम्मान र शिरोपर गर्दै विचार र विश्लेषणलाई आत्मसात गरेर इमान्दार आत्मसमीक्षा गर्ने घडी भएको बताएका छन् ।

सम्मुनति र सुशासनका लागि संसदको कार्यकाललाई उपलब्धिमूलक बनाउन  सहकार्य हुने बताउँदै उनले उपनिर्वाचनको परिणामले  नेपाली कांग्रेसलाई दिएको सन्देश के हो र यो सन्देशलाई पार्टीले कसरी लिनुपर्छ भन्ने लगायतका सन्दर्भमा सार्वजनिक बहस र विश्लेषण भइरहेको बताए।

‘पार्टीभित्र र पार्टी बाहिर देश विदेशमा रहनुभएका शुभेच्छुक, समर्थक तथा आम मतदाता समेत विभिन्न माध्यमबाट बहसमा सहभागी हुनु भएको छ । राजनीतिप्रतिको यो चासो र चिन्ताले नेपालको राजनीतिको सुद्धीकरण र नेपाली कांग्रेस रूपान्तरणको अभियानलाई थप मद्दत पुग्छ भन्ने म ठान्दछु, उनले भनेका छन् ।

‘पार्टीमा जहाँ समस्या छ त्यसलाई पन्छाएर वा लुकाएर पार्टीमा नवजीवन संभव छैन । त्यसैले, सौम्यता र धैर्यतापूर्वक सवैको कुरा सुनौं, मनन गरौं अनि आफैतिर फर्केर निर्मम समीक्षा गर्दै वैचारिक र सांगठनिक दृष्टिले रूपान्तरण गरी हाम्रो पार्टीलाई जन भावनाअनुसार नयाँ जीवन दिने गरी लागौं’ उनले लेखेका छन, ‘विगत लामो समयदेखि पार्टी रूपान्तरण, सुदृढीकरण तथा शुद्धीकरणको लागि पार्टीभित्र निरन्तर इमान्दार प्रयत्न गर्दै आएको छु ।’

उनले अगाडी भनेका छन्, ‘निश्चय नै पार्टी गतिशील र जनमुखी भइदियोस् भन्ने आम चाहना अनुरुप अपेक्षित परिणाम आइ सकेको छैन । प्रयत्न गरे पनि परिणाम नदेखिएको गुनासो गर्दै आगामी दिनमा थप सार्थक प्रयत्न गरेर परिमाणमुखी भूमिका निर्वाह गर्न नेपाली जनता र पार्टीका साथीहरुले दिएको सुझावलाई मैले गम्भीरतापूर्वक आत्मसात गरेको छु । आम जनता र पार्टीका साथीहरुको गुनासो, सुझाव र खवरदारीले मलाई सदा झै ठूलो उर्जा, प्रेरणा र आत्मबल दिएको छ ।’

उनले परिणाममुखी भूमिका निर्वाह गर्न कहीँ कतै आफैं पनि खरो उत्रन सकिन की भनेर आत्मसमीक्षा र आत्मनिरीक्षण गरिरहेको बताएका छन् ।  सोही  क्रममा उनले पार्टीका  समर्थक, शुभेच्छुक तथा वौद्धिक समुदायसँग परामर्श र आम नागरिक तहमा संवाद गरी छिट्टै नै एउटा दृढ संकल्पका साथ नेपाली कांग्रेस रूपान्तरणको ठोस नीति, योजना र कार्यक्रम सहितको स्पष्ट मार्गचित्र लिएर आउने बताए ।

‘पार्टी रुपान्तरण र सुदृढीकरणको यात्रा प्रारम्भ भइसकेको छ । हामीलाई अलमलिने न छुट छ न त समय नै । यही समर्पित र संगठित प्रयत्नले परिणाम पनि उत्साहजनक बनाउने ठाँउमा हामी छिट्टै नै अवश्य पुग्नेछौं भन्ने मलाई दृढ विश्वास छ’, उनले भनेका छन, ‘पार्टीलाई रूपान्तरण गरी जनचाहना अनुसार अझै लोकतान्त्रिक,प्रगतिशील, समावेशी र निर्णायक राजनीतिक शक्तिको रुपमा नेपाली कांग्रेसलाई स्थापित गर्नेछौं  र जननायक बीपी कोइरालाको परिकल्पना अनुरुपको “समुन्नत नेपाल सम्मानित नेपाली” को हाम्रो संकल्प पूरा गर्नेछौं ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved