प्रहरीले प्रारम्भिक अनुसन्धानमा भन्यो- तीर्थमालीलाई गोली लाग्नु दुर्घटना

नेपालभ्युज

प्रहरीले प्रारम्भिक अनुसन्धानमा भन्यो- तीर्थमालीलाई गोली लाग्नु दुर्घटना

काठमाडौं । नेपाल प्रहरीले नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनकी आमा तीर्थमाली पुनमगरलाई गोली प्रहार गर्नाका कारण दुर्घटना भएको बताइएको छ । उक्त घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न प्रहरी सहायक हबल्दार प्रकाश पुनमगरलाई शनिबार बिहान प्रहरीले बागडोलबाट पक्राउ गरी प्रहरी प्रधान कार्यालयस्थित नं १ गणमा आन्तरिक थुनामा राखेको छ ।

प्रकाशले नियतवश गोली नचलाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष रहेको जनाइएको छ । प्रारम्भिक अनुसन्धानबाट ‘दुर्घटना’ भएको देखिएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले  बताए । उनले भने, ‘प्रारम्भिक अनुसन्धानबाट नियतवश गोली हानेको जस्तो देखिँदैन, यो दुर्घटना हो, यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’ प्रधान न्यायाधीशका सुरक्षा टोलीमा कार्यरत प्रहरी सहायक हबल्दार पुनमगरसँग प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको चाइनिज ‘टाइप–५४’ पेस्तोल साथमा थियो ।

सोही पेस्तोलबाट शनिबार राति एक राउन्ड फायर भएको भेटिएको प्रहरीले जनाएको छ । शनिबार राति नयाँ वर्ष मनाउन ७४ वर्षीया हजुरआमा तीर्थमालीको निवास बालुवाटार गएका प्रकाश गोली चलेपछि भागेका थिए । पेस्तोलबाट फायर भएपछि डरले उनी त्यहाँबाट भागेको अनुसन्धान अधिकृतहरू बताउँछन् । नयाँवर्ष मनाउने क्रममा पारिवारिक जमघटमा वर्षमान पुनका भाइहरू पनि सहभागी रहेका प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved