प्रधानमन्त्रीलाई गगनको प्रश्न– तपाईँलाई यतिधेरै फुर्सद किन ?

नेपाली कांग्रेसमा महामन्त्री तथा सांसद गगन थापाले निर्देशन र घोषणाबाट शासकीय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट मुक्त हुन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

नेपालभ्युज

प्रधानमन्त्रीलाई गगनको प्रश्न– तपाईँलाई यतिधेरै फुर्सद किन ?

काठमाडौं। नेपाली कांग्रेसमा महामन्त्री तथा सांसद गगन थापाले निर्देशन र घोषणाबाट शासकीय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट मुक्त हुन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल निर्देशन र घोषणाहरू मात्रै गर्दै हिँडेको आरोप लगाए। प्रधानमन्त्रीलाई उद्घाटन र सम्मेलनहरूमा जान भ्याइनभ्याइ भएको भन्दै प्रधानमन्त्री फुर्सद भएकोप्रति आफू छक्क परेको समेत बताए।

सांसद थापाले प्रधानमन्त्री लक्ष्यमा पुग्नका लागि अलमलमा परिरहेको भन्दै प्रधानमन्त्रीसँग लक्ष्य पुरा गर्ने आत्मविश्वास नदेखिएको आरोप समेत लगाए। ‘प्रधानमन्त्री सबैभन्दा शक्तिशाली र सबैभन्दा जिम्मेवार पनि हो । सरकार भनेको एक प्रकारले प्रधानमन्त्री हो’ उनले भने–‘अब साझा न्यूनतम कार्यक्रमपछि यात्रा शुरु भयो । मेरो लक्ष्य प्रस्ट छ । यो लक्ष्यसम्म पुर्‍याउने जिम्मेवारी मेरो हो । जस भए पनि मेरो हो । अपजस भए पनि मेरो हो भन्ने अठोट, दृढता, आत्मविश्वास प्रधानमन्त्रीमा हुनुपर्छ।’

प्रधानमन्त्रीको काम,कारबाही हेर्दै गर्दा त्यो आत्मविश्वास नभएको र बढी अलमल भइरहेको पाएको भन्दै उनले कसैले कार्यक्रममा बोलाउँदा आफूले भ्याउँदिन भनेको तर आयोजकहरूले प्रधानमन्त्रीलाई फुर्सद हुने तिमिलाई फुर्सद नहुने ? भनेर प्रश्न गरेको समेत बताए।‘प्रधानमन्त्रीलाई यति धेरै फुर्सद किन छ भनेर कहिलेकाहीँ म छक्क पनि पर्छु’ उनले भने–‘उद्घाटन र सम्मेलनमा जान भ्याइएको छ।’

सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम संसदमा चलिरहेको बेलामा बाहिरबाट सार्वजनिक गरिएकोप्रति पनि उनले विरोध जनाए। न्यूनतम साझा कार्यक्रम सांसदभित्रै प्रस्तुत हुनुपर्ने तर संसद् चलिरहेको बेलामा बाहिर सार्वजनिक हुनु दुःखद भएको बताए।

सांसद थापाले प्रधानमन्त्रीलाई काम गर्नका लागि राम्रो समूह चाहिने भन्दै प्रधानमन्त्रीसँग राम्रा समूह नभएको पनि बताए। उनले प्रधानमन्त्रीको सरकारी समूह सजाय पाएको जस्तो रहेको भन्दै काम केही नभएर प्रधानमन्त्री कार्यालयमा कर्मचारीहरूलाई थन्क्याउन लगिएको जस्तो भान हुने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved