महामन्त्री थापा पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित

नेपालभ्युज

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेको बताएका छन् । प्रधानमन्त्री बन्ने तयारीमा रहेका महामन्त्री थापाले पार्टी संसदीय दलको नेता चयन प्रक्रियामा आफू लागि परेको बताएका हुन् ।

महिला सुरक्षा दबाब समूह, नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मंसिर १५ गते शुक्रबार (भोलि) सम्म आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिने कार्यक्रम रहेको उल्लेख गर्दै त्यसपछि भने सम्पूर्ण रूपमै संसदीय दलको नेता चयन हुने निर्वाचनमा जुट्ने योजनामा आफू रहेको बताए ।

महामन्त्री थापाले केही दिनभित्र नयाँ मन्त्रिपरिषद् बन्नेसमेत बताए । उनले मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिता हुनेगरी कानुन निर्माण गर्न आफू प्रतिबद्ध भएर लागिपर्ने आश्वासन पनि दिए ।

महामन्त्री थापाले भने, ‘अस्ति मलाई निम्तो गर्न आउँदाखेरि पनि म यो कार्यक्रमबाहेक अन्य कार्यक्रमहरूमा आउँछु भन्ने अवस्था नै थिएन । शुक्रबारसम्म हामी धन्यवादको कार्यक्रम सकौं । त्यसपछि, अरू काममा जुट्नुपर्नेछ । मेरो त अर्को चुनाव आउँदै छ । मैले त्यो काममा केन्द्रित हुनुछ । केही दिनमा नयाँ मन्त्रिपरिषद् बन्छ ।

हाम्रो कानुनमा मन्त्रिपरिषदभित्र महिलाको प्रतिनिधित्व यति हुनैपर्छ भनेर बोलेको छैन । तर, संसदमा हामी ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनुपर्ने भएकाले अब १/२ जनाभन्दा बढी पुरुषहरू पर्दैनन्, तर मन्त्रिपरिषदमा कानुनी व्यवस्था नभएकाले गर्दा मुस्किलले एक जना महिला समावेश हुने गरेका छन् ।’

उनले थपेका छन्, ‘अब संसदमा र मन्त्रिपरिषदमा महिला सहभागिता बढाउन निर्वाचन कानुन बदल्न सुरु गरौं । म अहिल्यै भन्न सक्छु–मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिता हुने कानुन हामीले बनाउनैपर्छ ।

प्रत्यक्ष निर्वाचन प्रणालीमा पनि ३३ प्रतिशत महिला उम्मेदवार दिनुपर्ने कानुन हामीले बनाउनै पर्छ । यो कुरा अहिलेदेखि नै छलफल गर्दै गयो भने आगामी निर्वाचनसम्म त्यो काम हुन्छ । पुसमा नयाँ मन्त्रीपरिषद् बन्छ । माघबाटै सो कानुन बनाउने काममा लागौं ।’

महामन्त्री थापाले सबै राजनीतिक दलहरूले प्रत्यक्षतर्फको निर्वाचनमा पनि ३३ प्रतिशत महिला अनिवार्य उम्मेदवार उठाउनुपर्ने गरी निर्वाचन कानुन संशोधन गर्ने काममा ढिलाइ गर्न नहुने दोहोर्‍याए । महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका घर-घरमै अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved