विश्वकप फुटबल : स्पेन र जर्मनी भिड्दै

नेपालभ्युज

विश्वकप फुटबल : स्पेन र जर्मनी भिड्दै

काठमाडौं। विश्वकप फुटबलमा आज आइतबार स्पेन र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ। कतारको अल बेत रंगशालामा हुने खेलमा स्पेन र जर्मनी नेपाली समयअनुसार राति पौने १ बजे आमने-सामने हुनेछन्।

अहिलेसम्म स्पेन र जर्मनी २५ खेलमा आमने-सामने भएका छन्। जसमध्ये ८ खेल स्पेनले जितेको छ भने जर्मनीले ९ खेल जितेको छ। ८ खेल भने बराबरीमा सकिएको छ। विश्वकपमा भने स्पेन र जर्मनी ४ पटक भिडिसकेका छन्। सन् २०१० को विश्वकपको सेमिफाइनलमा स्पेन र जर्मनी आमने सामने भएका थिए। जसमा स्पेनले जर्मनीलाई १–० ले पराजित गरेको थियो।

समूह ‘ई’ मा ३ अङ्कसहित स्पेन शीर्ष स्थानमा रहेको छ। अङ्कविहीन जर्मनी भने तेस्रो स्थानमा छ । जापान ३ अङ्कसहित दोस्रो स्थानमा छ भने अंकविहीन कोस्टारिका पुछारमा छ । पहिलो खेलमा कोस्टारिकालाई ७–० ले पराजित गरेको स्पेन उच्च मनोबलले मैदानमा प्रतिस्पर्धा गर्ने देखिन्छ । जपानसँगको खेलमा २–१ ले स्तब्ध भएको जर्मनी भने स्पेनविरुद्धको खेलमा गल्ती सच्याएर जित निकाल्न चाहन्छ।

स्पेनका कप्तान सर्जियो बुस्केट्सको मैदानमा उत्कष्ट पासको अपेक्षा गर्न सकिन्छ। खेलमा गाभी, दानी ओल्मो र फेरान टोरेसको सहकार्यमा आक्रमक रूपमा प्रस्तुत हुने देखिन्छ।

साथै, अनुभवी खेलाडी रोड्री, मार्कोस लोरेन्ट र अल्भारो मोराटाले टोलीमा युवा खेलाडीहरूलाई राम्रो सहयोग गर्ने देखिन्छ। सन् २०१० मा विश्वकप जितेको स्पेन यसपटक पनि उपाधि दाबेदारको रूपमा रहेको छ। तथापि, जर्मनी भने स्पेनलाई पराजित गर्दै अन्तिम १६ को सम्भावना कायम गर्न चाहन्छ । जर्मनीको टोलीमा थोमस मुलर र इल्के गुन्डोगनको अनुभव यस खेलमा अत्यावश्यक देखिन्छ।

१९ वर्षका जमाल मुसियाला पनि विश्वकपमा विङ्गर र मिडफिल्डमा चम्किनको लागि तयारी अवस्थामा छन्। जोनास होफम्यान पनि आफ्नो अनुभवको प्रस्तुत गर्न आतुर देखिन्छन्। गोलरक्षक पनि म्यानुअल नेउर प्रहार छेक्न तयार देखिन्छन्।

यद्यपि, जापानसँगको पराजयपश्चात् स्पेनसामु जर्मनी कसरी प्रस्तुत हुन्छ भने पनि यस खेलको रोमाञ्चक पक्ष हुनेछ।

समूह ‘ई’ मा स्पेन, जर्मनी, जापान र कोस्टारिका रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved