बैतडीमा पहिलेका सहयात्री प्रतिस्पर्धामा, गठबन्धनलाई बागी र स्वतन्त्रको डर

नेपाली कांग्रेसका नेता तथा पूर्व सहायकमन्त्री केशव चन्द गठबन्धनबाटै बागी उम्मेदवार बनेका कारण चुनाव रोचक बनेको छ । लामो समयसम्म एमालेमै रहेर राजनीति गरेका एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य परमानन्द भट्टले पनि संघीय संसद्का लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

नेपालभ्युज

बैतडीमा पहिलेका सहयात्री प्रतिस्पर्धामा, गठबन्धनलाई बागी र स्वतन्त्रको डर

धनगढी। मंसिर ४ गते हुने निर्वाचनको मिति नजिकिएसँगै बैतडीमा पनि चुनावी सरगर्मी बढेको छ । सत्ता गठबन्धन दलले साझा उम्मेदवार खडा गरेका भए पनि बागी उम्मेदवारका कारण प्रतिस्पर्धा रोचक हुने देखिएको छ । प्रतिनिधि सभाम नेकपा एमालेबाट दामोदर भण्डारी र सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजय सुन्दर) चुनावी मैदानमा छन् ।

२०७४ सालमा वाम गठबन्धनका लागि सँगै मत मागेका सहयात्री यतिबेला आमने-सामने भएर प्रतिस्पर्धामा होमिएका छन् । नेकपा एमालेको सुदूरपश्चिम अध्यक्ष रहेका भण्डारी तेश्रोपटक संसद् छिर्ने दाउमा छन् । उनलाई रोक्न वाम लोकतान्त्रिक गठबन्धनबाट माओवादी पोलिटब्युरो सदस्य कुँवर कस्सिएका छन् ।

२०६४ सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्रबाट कुँवर र एमालेबाट भण्डारी नै चुनावी प्रतिस्पर्धामा थिए । त्यतिबेला कांग्रेस र एमालेलाई पराजित गर्दै कुँवर निर्वाचित भए । तर २०७० सालको संविधानसभा निर्वाचनमा भने एमालेका भण्डारीले बदला लिए । दोश्रो पटकको प्रयासमा संसद्को यात्रा तय गरेका भण्डारी २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका साझा उमेदवार बने र कांग्रेस उम्मेदवार नरबहादुर चन्दलाई फराकिलो मतान्तरले पराजित गरे ।

तत्कालीन ओली नेतृत्वको ९ महिने सरकारमा अर्थ राज्यमन्त्री बनेका भण्डारी यसपटक आफूलाई चुनाव जित्न सहज भएको बताउँछन् । बैतडीको विकासमा आफूले महत्त्वपूर्ण योगदान दिएको बताउँदै उनी अब बाँकी काम पूरा गरेर समृद्ध बैतडी बनाउन लाग्ने बताइरहेका छन् ।

भण्डारीलाई जितको ह्याट्रिक गर्न नदिन नरेन्द्र कुँवर लागिपरेका छन् । १० वर्ष निरन्तर सांसद बनेर राज्यमन्त्री बन्दा समेत भण्डारीले जिल्लामा कुनै विकास नगरेको कुँवरको आरोप छ । संविधान जोगाउन र बैतडीको विकासका लागि आफू चुनावी मैदानमा उत्रिएको उनी बताउँछन् ।

बैतडीमा स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई आधार मान्दा एमाले सबैभन्दा ठुलो दल हो । तर गठबन्धनको मत एकै ठाउँमा राख्दा भने एमाले ठुलो मतान्तरले पछि छ । यहाँ एमालेको ३५ हजार ४८, कांग्रेसको ३३ हजार ६८३, माओवादीको १४ हजार ९९८, एकीकृत समाजवादीको ३ हजार १४० र राप्रपाको २ हजार ४ मत छ ।

स्थानीय तहको मतका आधारमा गठबन्धनको मत एमालेको भन्दा करिब १६ हजार बढी छ । तर नेपाली कांग्रेसका नेता तथा पूर्व सहायकमन्त्री केशव चन्द गठबन्धनबाटै बागी उम्मेदवार बनेका छन् । जसका कारण चुनाव रोचक बनेको छ ।

लामो समयसम्म एमालेमै रहेर राजनीति गरेका एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य परमानन्द भट्टले पनि संघीय संसद्का लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै सुर्नया गाउँपालिकाको अध्यक्षमा पराजित भएका समाजवादीका नरेन्द्र विष्टले प्रदेशसभा (क) मा गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका छन् । गठबन्धनभित्र देखिएको किचलोको फाइदा उठाएर भण्डारी ह्याट्रिक गर्ने रणनीतिमा छन् । गठबन्धनको मत धेरै यताउता नभए भण्डारीलाई निकै कठिन हुनेछ । स्वतन्त्र र बागी उम्मेदवारले धेरै मत पाए भने गठबन्धनका उम्मेदवार संकटमा पर्नेछन् ।

यद्यपी सत्ता गठबन्धनका नेताहरु बागी र स्वतन्त्रका कारण खासै ठुलो असर नपर्ने बताइरहेका छन् । एमालेले भने स्थानीय तहको परिणामलाई आधार मानेर संघको चुनाव नहुने भन्दै जित निकाल्ने दाबी गरिरहेको छ । जे भए पनि मुख्य प्रतिस्पर्धा भने भण्डारी र कुँवरकै बिचमा हुने निश्चित छ । दुईमध्ये कसले बाजी मार्ला भन्ने अझै स्पष्ट भइसकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved