दलको विकल्प दिन स्वतन्त्ररूपमा चुनावी मैदानमा उत्रिएँ : इन्जिनियर साह

मतदाता जागे भने पक्कै पनि असल व्यक्ति संसदमा पुग्न सक्छन् भन्ने लागेको थियो । तर, त्यसपछिका निर्वाचनमा पनि असल व्यक्ति आउनै सकेनन् फेरि पनि उही पुरानै शैली र सोच भएका व्यक्ति नै आएको देखियो । बुझ्दै जाँदा विकल्पको अभावमा मतदाताले पुरानै सोच भएका व्यक्ति छनोट गरेका रहेछन् ।

नेपालभ्युज

दलको विकल्प दिन स्वतन्त्ररूपमा चुनावी मैदानमा उत्रिएँ : इन्जिनियर साह

काठमाडौं। वरिष्ठ मेकानिकल इन्जिनियर सत्यनारायण साह अहिले सबै काम छाडेर मत माग्न व्यस्त छन् । मंसिर चार गते हुने निर्वाचनका लागि उनले धनुषा क्षेत्र नंं. ३ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

१९७९ मा भारतबाट मेकानिकल इन्जिनियरिङ्गमा स्नातक गरेका उनले सन् १९९८ मा बर्मिंघम विश्वविद्यालय, यूकेबाट– निर्माण इन्जिनियरिङ्ग र व्यवस्थापनमा स्नातकोत्तर गरे । साह नेपाल इन्जिनियरिङ परिषद्को पूर्वअध्यक्ष पनि हुन् ।

लामो समय भौतिक पूर्वाधारको क्षेत्रमा काम गरेका उनी अहिले राजनीतिक परिवर्तनको एजेन्डा लिएर घरदैलोमा मत माग्न व्यस्त छन् । भ्रष्टाचार नियन्त्र गर्न र समाज रुपान्त्रणका लागि आफू उम्मेदवार बनेको उनको दाबी छ ।

एमालेकी जुलीकुमारी महतो र लोकतान्त्रिक समाजवादी पार्टीका अनिल झासँग उनी भिड्दैछन् । साहसँग नेपालभ्युजका लागि प्रकाश बस्यालले गरेको कुराकानीको सम्पादित अंश :

लामो समय इन्जिनियरिङ पेसामा हुनुहुन्थ्यो, उम्मेदवार बन्ने सोच कसरी आयो ?

यो देशमा जुन किसिमको राजनीति चलिरहेको छ म विगतदेखि नै हेरिरहेको थिएँ । यो राजनीतिले हाम्रो मुलुकलाई कता धकेल्दै छ भन्ने कुराको पनि जानकार नै थिएँ । यसले मलाई निकै चिन्तित बनाइरहन्थ्यो । म मात्र होइन यो राजनीति देखेर नेपालका अधिकांश जनता चिन्तित छन् । यसको परिवर्तन अपरिहार्य छ भन्ने हामी सबैलाई लागेको छ ।

तर, असल व्यक्तिहरू निर्वाचनमा छनोट भएर जानै नसक्ने अवस्थाले देश सधै पछाडी नै परिरह्यो । संसदमा केही असल व्यक्तिको आवाज नै सुनिनँ छाडेको देखेर निरास थिएँ । तर यसरी समास्याको समाधान हुँदै सुधार गर्न लाग्नैपर्छ भनेर मैले मतदाता जागरण अभियान सुरु गरेँ ।

मतदाता जागे भने पक्कै पनि असल व्यक्ति संसदमा पुग्न सक्छन् भन्ने लागेको थियो । तर, त्यसपछिका निर्वाचनमा पनि असल व्यक्ति आउनै सकेनन् फेरि पनि उही पुरानै शैली र सोच भएका व्यक्ति  नै आएको देखियो ।

बुझ्दै जाँदा विकल्पको अभावमा मतदाताले पुरानै सोच भएका व्यक्ति छनोट गरेका रहेछन् । मलाई केही अग्रज र वौद्धिक जमातले विकल्प नभई सिद्धान्तले मात्र परिवर्तन सम्भव हुँदैन भन्न थाल्नुभयो । मलाई यो कुरा ठीक  लाग्यो र  उम्मेदवार हुने निर्णय गरेँ । 

प्रचार-प्रसारमा कस्तो प्रतिक्रिया पाउनुभएको छ ? 

आफ्नो अनुभव सम्हालेर एउटा परिचय पर्चा बनाएको छुँ मतदातालाई त्यही बाँडेको छु । भौतिक रुपमै मतदातासँगको भेटघाटलाई तीव्रता दिएको छुँ । अहिलेको निर्वाचनमा मतदाता निकै सचेत भएको पाएँ । उनीहरुले सामाजिक रूपान्तरण र परिवर्तन चाहेका छन् । वर्षौंदेखि झुटा आश्वासन सुनेका जनताले योपटक भने आफूहरू सधैं ठगिएको अनुभूति गरेका रहेछन् ।

आफूहरूलाई सधैं झुक्याइँदो रहेछ भन्ने बल्ल बुझ्न थालेछन् । यो क्षेत्रमा न राम्रो शिक्षा छ, न स्वास्थ्यको अवस्था ठीक छ, न कृषि उत्पादनमा कसैको ध्यान छ । सडकको अवस्था पनि दयनीय नै छ । सधैँ भोट दिए पनि उपलब्धि के भन्ने प्रश्न आउन थालेको छ । उनीहरू योपटक आफूहरूलाई झुक्याएको बदला लिन खोज्दै छन् । विकास र समृद्धि खोजिरहेका छन् ।

मेरो विगतबारे सबै जानकार नै हुनुहुँदोरहेछ, केही नयाँ पुस्तालाई मैले परिचय दिइरहेको छु । मेरो शैक्षिक योग्यताले बलियो भूमिका खेलेको छ । मलाई धेरै जनाले प्रशंसासँगै शुभकामना दिइरहनुभएको छ । उहाँहरूको उस्साहले मेरो आत्मविश्वास पनि बढेको छ । साँच्चै म विकल्प बन्न सक्छु भन्ने लागेको छ ।

तपाईं अरूभन्दा फरक हुनुहुन्छ भनेर विश्वास गर्ने आधार के ?

पहिलो कुरा त, मेरो दुष्टिकोण नै स्पष्ट छ । मैले विगतमा सरकारी सेवामा होस् या सामाजिक क्षेत्रमा गरेका काम पारदर्शी छन् । मेरो इमान्दारितामा कसैले प्रश्न उठाउन सकेको छैन । मेरा एजेन्डा पनि धेरै महत्त्वाकांक्षी छैनन् ।

साधारण तर महत्त्वपूर्ण एजेन्डाले गर्दा पनि म अरुभन्दा फरक छु । मलाई विश्वास छ यहाँका मतदाताले अमूल्य मत दिनुहुनेछ । मेरो अनुभवलाई आधार मानेर जनताले पाएको दु:ख कष्टलाई हृदङगम गर्दै आवश्यक कानुन निर्माणमा महत्त्वपूर्ण भूमिका निभाउँछु भन्ने विश्वास पनि दिलाउन चाहन्छु ।

तपाईंका प्राथमिकता के के छन् ?

सबैभन्दा पहिले त भ्रष्टाचार नियन्त्रण नै हो । संसद् विकास कोषको नाममा पैसा लिएर जुन दुरुपयोग भइरहेको छ । त्यो शैली हटाउने मेरो संकल्प छ । विधायकबाट त्यस्तो काम हुनुहुँदैन भन्ने मेरो भनाइ हो । विधायकले त कानुन बनाउने हो । आवश्यक कानुन बनाएर जनतालाई सहजता दिने हो ।

सुशासनका कुरा गरिरहँदा तपाईको आर्थिक श्रोतबारे पनि प्रश्न उठेका छन् नि । तपाईं कतैबाट परिचालित हुनुहुन्छ भन्ने आरोप पनि छ ।

म कसैबाट परिचालित छैन यो कुरा स्पष्ट पार्न चाहन्छु । म परिचालित भएको छु त केवल जनताको दु:ख कष्टबाट । जनताको दु:ख-कष्ट देखेर नै म राजनीतिमा होमिएको छुँ ।

जनतामा देखिएको परिवर्तनको चाहना नै मेरो प्रेरण हो । त्यसैले उम्मेदवारी दिएको हुँ । म जनताप्रति समर्पित छु । विकल्पको रूपमा आफूलाई प्रस्तुत गरेको छु यो मेरो समर्पण हो । मेरो समर्पण सकारात्मक परवर्तन र सामाजिक रूपान्त्रणका लागि हो ।

अब मेरो निर्वाचन खर्चको कुरा गर्नुपर्दा अरूको तुलनामा अत्यन्तै नगण्य मात्र छ । मेरो आर्थिक श्रोत भनेको वर्षौ‌देखि इन्जिनियरिङ पेसामा काम गरेर जोडेको बचत नै हो ।

स्वतन्त्र उम्मेदवारका चुनौती के रहेछन् ?

नेपालका अधिकांश नागरिक कुनै न कुनै दलमा आबद्ध छन् जुन अरू देशमा हुँदैन । यसले गर्दा मतदाता भन्दा बढी कार्यकर्ता हावी भएका छन् । दलका कार्यकर्ता धेरै भएकाले स्वतन्त्र उम्मेदवारलाई सहज हुने कुरै भएन । तर, मेरो विगतको पुष्टभूमिले गर्दा  त्यति असहज छैन । अन्य दलका कार्यकर्ताले पनि मलाई समर्थन गर्नुभएको छ ।

राजनीतिमा निखारिएका र मन्त्रीसमेत भइसकेका व्यक्ति प्रतिस्पर्धामा छन्, कत्तिको चुनौती देख्नुभएको छ ?

पक्कै पनि मेरा प्रतिस्पर्धीलाई कमजोर आँक्न मिल्दैन, तर मेरो राजनीतिक बुझाइ भनौं या संलग्नता अरूभन्दा कम छैन । म विद्यार्थी कालदेखि नै लागिरहेको थिएँ । सरकारी कर्मचारी भएर काम गर्दा पनि खाली समय समाजसेवामा सक्रिय थिएँ । त्यो हिसाबले हेर्दा यो क्षेत्रमा मेरो सामाजिक प्रतिष्ठा ती दलीय उम्मेदवारको भन्दा कम छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved