सोलुका २ प्रदेश सभा : ‘क्लिन स्वीप’ गर्ने गठबन्धनको दाबी, ‘मत स्थायी’ नहुने एमालेको तर्क !

यसपटकको निर्वाचनले पनि २०७४ सालकै लय पछ्याउने वाम-लोकतान्त्रिक गठबन्धनको दाबी छ । गठबन्धनको तर्फबाट प्रदेश सभा ‘क’ मा उम्मेदवारी दिएका गोम्बु शेर्पा ‘कर्ज्याङ’ भन्छन्, ‘२०७४ सालमा पनि वाम गठबन्धनले क्लिन स्वीप गरेको थियो । यसपटक पनि वाम-लोकतान्त्रिक गठबन्धनले क्लिन स्वीप नै गर्छ ।

सोलुका २ प्रदेश सभा : ‘क्लिन स्वीप’ गर्ने गठबन्धनको दाबी, ‘मत स्थायी’ नहुने एमालेको तर्क !

सोलुखुम्बु । एक प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला सोलुखुम्बु पनि चुनावमय बनेको छ । केन्द्रीय गठबन्धनअनुसार नै यहाँ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच चुनावी तालमेल भएको छ । गठबन्धनका दुई ठूला दलहरू  कांग्रेस र माओवादी केन्द्रले क्रमशः प्रत्यक्षतर्फ संघ र प्रदेशमा उम्मेदवारी दर्ता गराएका छन् ।

गठबन्धनले संघमा कांग्रेसका बलबहादुर केसीलाई पठाएको छ भने दुवै प्रदेश माओवादी केन्द्रले लिएको छ । प्रदेश सभा ‘क’ र ‘ख’ मा क्रमशः गोम्बु शेर्पा ‘कर्ज्याङ’ र शिवबहादुर बस्नेत ‘राजेन्द्र’ उम्मेदवार छन् ।

नेकपा (एमाले) ले शेर्पा र बस्नेतसँग निवर्तमान प्रदेश सांसदद्वय उत्तमकुमार बस्नेत र बुद्धिकुमार राजभण्डारी भिडाउँदैछ । २०७४ सालको प्रादेशिक चुनावमा पनि बस्नेत र राजभण्डारीले क्रमशः ‘क’ र ‘ख’ बाट जित निकालेका थिए ।

‘वाम-लाकतान्त्रिक गठबन्धनले क्लिन स्वीप गर्छ’

२०७४ सालमा यहाँबाट वाम गठबन्धन (एमाले-माओवादी केन्द्र) ले ‘क्लिन स्वीप’ गरेको थियो । संघमा माओवादी केन्द्रका हेमकुमार राई ‘सुरवीर’ले बाजी मारेका थिए भने प्रदेशमा एमालेका उत्तमकुमार बस्नेत र बुद्धिकुमार राजभण्डारी निर्वाचित भएका थिए ।

यसपटकको निर्वाचनले पनि २०७४ सालकै लय पछ्याउने वाम-लोकतान्त्रिक गठबन्धनको दाबी छ । गठबन्धनको तर्फबाट प्रदेश सभा ‘क’ मा उम्मेदवारी दिएका गोम्बु शेर्पा ‘कर्ज्याङ’ भन्छन्, ‘२०७४ सालमा पनि वाम गठबन्धनले क्लिन स्वीप गरेको थियो । यसपटक पनि वाम-लोकतान्त्रिक गठबन्धनले क्लिन स्वीप नै गर्छ । चुनावी नतिजा परिणाम हाम्रै पक्षमा, गठबन्धनको पक्षमा आउँछ ।’

यसपटकको चुनाव २०७४ सालको भन्दा सहजरूपमा जित्ने दाबी वाम-लोकतान्त्रिक गठबन्धनकै तर्फबाट प्रदेश सभा ‘ख’ मा उम्मेदवारी दिएका शिवबहादुर बस्नेत ‘राजेन्द्र’को पनि छ, भन्छन्— ‘जिल्लामा वाम-लोकतान्त्रिक गठबन्धनको अवस्था राम्रो छ । कांग्रेस-माओवादी केन्द्रको गठजोड अत्यन्तै मिलेको छ । यसले गठबन्धनको जित निश्चित भएको देखाउँछ ।’

विगतका उपलब्धि पनि कांग्रेस-माओवादी केन्द्रकै संलग्नताबाट हासिल भएको दाबी गर्दै बस्नेतले थपे, ‘अबको मुद्दा आर्थिक समृद्धि र सुशासन हो । यो पनि यही गठबन्धनले ल्याउँछ । त्यसका लागि हामी अहिले जनतामाझ छौँ ।’

उनले गठबन्धनले संघ र प्रदेश गरी तीनै सिट जित्ने दाबी गर्छन् । ‘यसपटक त वाम-लोकतान्त्रिक गठबन्धनले सहजरूपमा तीनै सिट जित्छ,’ बस्नेतले भने, ‘हामीसँग करिब ३५ हजार मत हुँदा एमालेसँग १५/१६ हजार मात्रै होला ।’

‘मत स्थायी हुँदैन, एमालेले बाजी मार्छ’

एमालेको दाबी पनि कमचाहिँ छैन । उसले सहजरूपमा जित निकाल्ने बताएको छ । प्रदेश सभा ‘क’ का उम्मेदवार उत्तमकुमार बस्नेत भन्छन्, ‘सोलुखुम्बुमा एमालेले सहजरूपमा जित्छ ।’

त्यसको आधार छ हो (?) भन्ने नेपालभ्युजको जिज्ञासामा बस्नेत भन्छन्, ‘मत स्थायी हुँदैनन् । चुनाव भनेको हरेक ५/५ वर्षमा हुने । ५ वर्षभित्र मत बदलिन्छ, मतभार परिवर्तन हुन्छ । हामीलाई थाहा छ कि यसबीचमा एमालेको मत बढेको छ र हामीले त्यसरी नै काम गरेका छौँ ।’

जिल्लामा दुईवटा गठबन्धन रहेको र सत्ता गठबन्धन जनताको चाहनाविपरीतको भएको आरोप लगाउँदै बस्नेतले भने, ‘यो जनाले मज्जाले बुझेका छन् र यहाँ रोज्नुपर्दा हामीलाई नै रोज्छन् जनताले । यसमा हामी विश्वस्त छौँ ।’

प्रदेश सभा ‘ख’का उम्मेदवार बुद्धिकुमार राजभण्डारी सोलुखुम्बुमा एमाले कहिल्यै नहाल्ने तर्क गर्छन् । आफूले ६ देखि ७ हजार बढी मत ल्याएर जित्ने दाबी राजभण्डारीको छ । ‘मेरो कुरा गर्नुपर्दा मैले ६ देखि ७ हजार बढी मतले जित्छु । माथि मानवीर राईजीलाई जनताले भोट हाल्छन् । त्यसो हुँदा यहाँ एमालेको जित सहज छ,’ उनी भन्छन् ।

कस्तो छ मतगणित ?

यहाँ १ नगरपालिकासहित ८ वटा स्थानीय तह छन् । ‘क’ र ‘ख’ मा ४/४ वटा पालिका पर्दछन् ।

प्रदेश सभा ‘क’ अन्तर्गत महाकुलुङ गाउँपालिका, सोताङ गाउँपालिका, नेचासल्यान गाउँपालिका र थुलुङ दुधकोशी गाउँपालिका पर्छन् भने ‘ख’ अन्तर्गत खुम्बु पासाङल्हामु गाउँपालिका, सोलुदुधकुण्ड नगरपालिका, दुधकोशी गाउँपालिका र लिखुपिके गाउँपालिका पर्छन् ।

प्रदेश सभा ‘क’

गत वैशाख ३० मा सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचनलाई आधार मान्ने हो भने यहाँ सबैभन्दा ठूलो पार्टी कांग्रेस हो । यो क्षेत्रमा पर्ने २४ वटा वडामध्ये उसले १२ वटा वडामा जित निकालेको छ । वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार कांग्रेससँग यो क्षेत्रमा ५ हजार ९ सय ४ मत छ ।

दोस्रो ठूलो पार्टी एमालेसँग यो क्षेत्रमा २ हजार २ सय २२ मत देखिन्छ । प्रदेश सभा ‘क’ मा पर्ने ४ पालिकामध्ये २ वटामा कांग्रेसले जित निकालेको छ भने एमाले र माओवादी केन्द्रले क्रमशः १/१ वटा जितेका छन् ।

यहाँ माओवादी केन्द्रसँग २ हजार ९ सय ८९ मत छ । उसले यही क्षेत्रमा पर्ने थुलुङ दुधकोशी गाउँपालिकामा दुईतिहाइसहित जितेको थियो । यो क्षेत्रमा एमाले र माओवादी केन्द्रले ६/६ वटा वडा जितेका छन् ।

यसो हुँदा प्रदेश सभा ‘क’ मा गठबन्धन नै बलियो देखिन्छ । कांग्रेस, माओवादी केन्द्रसँग नेकपा (एकीकृत समाजवादी) बीचको गठबन्धनसँग यो क्षेत्रमा झन्डै ९ हजार मत देखिन्छ भने एमालेसँग माओवादी केन्द्र एक्लै भएकोजत्ति नै मत छ । उसँग २ हजार २ सय २२ मत छ । यो भनेको गठबन्धनको भन्दा झन्डै ७ हजारले कम हो ।

प्रदेश सभा ‘ख’

प्रदेश सभा ‘ख’अन्तर्गत २७ वटा वडाहरू पर्दछन् । यसमा कांग्रेसले ११ वटा वडामा जित निकालेको छ । यसअनुसार ऊ जिल्लाको सबैभन्दा ठूलो पार्टी हो । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनअनुसार उसँग प्रदेश सभा ‘ख’मा ४ हजार ४ सय ४९ मत छ ।

यो क्षेत्रमा एमालेसँग कांग्रेससँग भन्दा बढी मत छ । उसँग ५ हजार २ सय २३ मत छ भने उसले १२ वटा वडा जितेको हो ।

यस्तै माओवादी केन्द्रले ३ वटा मात्रै वडा जितेको छ । उसँग १ हजार १ सय ५१ मत छ भने यही क्षेत्रमा पर्ने लिखुपिके गाउँपालिका ३ मा भने स्वतन्त्रले बाजी मारेको छ । हाँस चिह्न लिएर स्वतन्त्ररूपमा उम्मेदवारी दिएका ध्रुवबहादुर बस्नेतले १ सय ५२ मतका साथ जितेका थिए । यसपटक यहाँ यही मत पनि निर्णायक हुने देखिएको छ ।

यस क्षेत्रमा शिवबहादुर बस्नेत ‘राजेन्द्र’ र बुद्धिकुमार राजभण्डारी आमने-सामने हुँदैछन् । यसमा पनि गठबन्धन नै बलियो देखिन्छ । यहाँ गठबन्धनसँग ५ हजार ६ सय मत देखिन्छ भने एमालेसँग ५ हजार २ सय २३ मात्रै मत छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved