लमजुङमा दुई गुरुङको प्रतिस्पर्धामा कसले मार्ला बाजी ?

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा लमजुङमा एमाले वडाध्यक्षका उम्मेदवारहरूले ४० हजार एक सय ९७ मत प्राप्त गरेका छन् । गठबन्धनका उम्मेदवारले ४१ हजार चार सय ७२ मत पाएका छन् ।

नेपालभ्युज

लमजुङमा दुई गुरुङको प्रतिस्पर्धामा कसले मार्ला बाजी ?

काठमाडौं। मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा लमजुङमा सत्तागठबन्धनबाट देवप्रसाद गुरुङ र एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङबीच प्रतिस्पर्धा हुँदै छ ।

संघतर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका महासचिव गुरुङ र एमालेका उपमहासचिव गुरुङबीच प्रतिस्पर्धा हुने भएको हो ।

यसअघि, २०७४मा सँगै रहेका दुई गुरुङ अहिले प्रतिस्पर्धी बनेका छन् ।

एमालेका महासचिव गुरुङ ०७४ मा प्रदेश सभा ‘ख’ बाट निर्वाचित भएर गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका थिए ।

६ वटा चुनाव लड्दा दुईमा मात्र विजयी

०४३ मा राष्ट्रिय पञ्चायतको चुनाव लडेका पृथ्वीसुब्बा त्यसपछि भएका हरेक निर्वाचनमा उम्मेदवार हुँदै आएका छन्  । यसअघि, ६ पटक चुनाव लड्दा उनले दुईपटक मात्र जिते ।

०४८, ०५१, ०५६ को चुनावमा पराजय भोगेका पृथ्वीसुब्बाले ०६४ मा पहिलो संविधानसभामा जित निकाले । तर त्यसपछि ०७० को संविधानसभामा भने पराजित भए ।

०७४ को प्रदेश सभा निर्वाचनमा लमजुङ (ख) बाट विजयी भई गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री बने पनि कार्यकाल पुरा गर्न भने पाएनन् ।

गुरुङ यो पटक पनि प्रदेशमै लडेर मुख्यमन्त्री बन्न चाहन्थे तर अध्यक्ष केपी शर्मा ओलीले उनलाई संघको उम्मेदवार बनाए । प्रदेश सभा (ख) उनको आफ्नै क्षेत्र हो । क्व्होंलासोंथार उनको गृह गाउँपालिका हो, जहाँ एमालेले गत स्थानीय निर्वाचनमा क्लिन स्विप गरेको थियो ।

देव गुरुङ पाहुना उम्मेदवार

देव गुरुङले मनाङ र कास्की १ बाट उम्मेदवार हुने प्रस्ताव आउँदा लमजुङलाई नै रोजे । ०७४ को निर्वाचनमा उनी यहीँबाट विजयी भएका थिए । त्यतिबेला एमाले–माओवादी गठबन्धनको साझा उमेदवारका रूपमा प्रतिस्पर्धा गरेका उनले फराकिलो अन्तरले जितेका थिए ।

जन्मथलो मनाङ भएर पनि उनले कर्मथलोको रूपमा लमजुङलाई रोजेका छन् । ०४८ यता देव गुरुङ तेस्रो संसदीय चुनाव लड्न लागेका हुन्  । ०४८ मा उनी संयुक्त जनमोर्चाबाट लमजुङ १ मा उम्मेदवार थिए ।

०६४ मा मनाङ र कास्की १ दुवै क्षेत्रबाट जिते । उनले त्यतिवेला मनाङ रोजे र कास्कीमा उपनिर्वाचन भयो ।

कुनै दिन मिलेर चुनाव लडेका र एकै पार्टीमा रहेर काम गरेका नेताको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ ।

अझ रोचक त दुवैजना उम्मेदवार एउटै जातीय समुदायका छन् । देव गुरुङलाई चुनाव जित्न कांग्रेसको भर पर्नु पर्छ। पछिल्लो समय गठबन्धनप्रति कांग्रेस कार्यकर्ता सकारात्मक बन्दै गएका छन् । त्यसले देव गुरुङलाई फाइदा हुन सक्छ ।

यस्तो छ स्थानीय तहको अंकगणित

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा लमजुङमा एमाले वडाध्यक्षका उम्मेदवारहरूले ४० हजार एक सय ९७ मत प्राप्त गरेका छन् ।

गठबन्धनका उम्मेदवारले ४१ हजार चार सय ७२ मत पाएका छन् । स्थानीय तहमा वडाध्यक्षले प्राप्त गरेको मतपरिणामअनुसार गठबन्धन एक हजार दुई सय ७५ मतले अगाडि देखिन्छ ।

राप्रपाका उम्मेदवारले एक हजार एक सय ९६ मत र अन्य दल तथा स्वतन्त्र उम्मेदवारले दुई हजार पाँच सय ६३ मत पाएका छन् ।

०७४ को निर्वाचनमा कांग्रेसले ३२.९ प्रतिशत प्राप्त गरेको थियो । ०७९ को स्थानीय निर्वाचनमा ३३.३ प्रतिशत प्राप्त गरेको छ । एमालेले ०७४ मा ३३ प्रतिशत र ०७९ मा ३४ प्रतिशत मत प्राप्त गरेको छ ।

माओवादीले ०७४ मा १७ प्रतिशत मत प्राप्त गरेको थियो भने ०७९ मा ११.९ प्रतिशतमा खुम्चिएको थियो ।

स्थानीय तहको परिणाम हेर्दा दुईबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । यसमा पृथ्वी सुब्बालाई जिल्लाकै बासिन्दा हुनुको केही फाइदा अवस्य पुग्नेछ । देवलाई कांग्रेसका कति मत आउँछन् भन्नेले पनि नतिजा तय गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved