‘राई जाति’ नटुक्र्याउन माग !

‘१२औं जनगणनामा ११औं जनगणनाको जस्तो गल्ती नदोहोरियोस् । अब राखिने विवरणचाहिँ राम्रोसँग तथ्य विश्लेषण गरेर मात्रै राखियोस् ।’

नेपालभ्युज

‘राई जाति’ नटुक्र्याउन माग !

काठमाडौँ । किरात राई समुदायको सर्वोच्च संस्था किरात राई यायोक्खा (किराया) ले जनगणनाको विवरणमा राई जातिलाई नटुक्र्याउन माग गरेको छ । आइतबार किराया अध्यक्ष जीवन हाताचो राईको नेतृत्वमा थापाथलीस्थित राष्ट्रिय तथ्यांक कार्यालय पुगेको टोलीले आफ्नो माग दोहोर्‍याएको हो ।

कार्यालयका महानिर्देशक ढुण्डिराज लामिछानेलाई ज्ञापनपत्र बुझाउँदै अध्यक्ष राईले भने, ‘विगतमा हाम्रो तथ्यांक बिगारिएको छ । तथ्यांक कार्यालयजस्तो जिम्मेवार निकायले त्यसरी तथ्यलाई तोडमोड गर्नु निकै दुखद् हो । अबचाहिँ यस्तो नहोस् ।’ ०६८ को ११‍औं जनगणनामा राईभित्रको भाषिक उपजातिलाई छुट्टै जातिको रूपमा सूचीकृत गरिएको स्मरण गराउँदै अध्यक्ष राईले थपे, ‘त्यो गम्भीर त्रुटि थियो । यस्तो गल्ती नदोहोरियोस् भनेर हामीले ध्यानाकर्षण गराएका हौँ ।’

राष्ट्रिय तथ्यांक कार्यालयका महानिर्देशक ढुण्डिराज लामिछानेलाई ज्ञापनपत्र बुझाउँदै किराया अध्यक्ष जीवन हाताचो राई।

किराया महासचिव भीम राईले पनि ०६८ को जनगणनामा गम्भीर त्रुटिपूर्ण विवरण राखिएको र त्यो किरात राई समुदायलाई मान्य नरहेको बताए । त्यसबेला १२ वटा भाषिक समुदायलाई छुट्टै जातिको रूपमा सूचीकृत गरिएको स्मरण गराउँदै महासचिव राईले भने, ‘१२औं जनगणनामा ११औं जनगणनाको जस्तो गल्ती नदोहोरियोस् । अब राखिने विवरणचाहिँ राम्रोसँग तथ्य विश्लेषण गरेर मात्रै राखियोस् । यो अनुरोध हामी समग्र राई समुदायको तर्फबाट हामी गर्न चाहन्छौँ ।’

महानिर्देशक लामिछानेले विवरण प्रशोधन कार्य सकिएको बताउँदै अन्तिम विवरण मंसिरमा आउने जानकारी गराए । उनले भने, ‘तपाईंहरूको विषयमा मेरो ध्यानाकर्षण भएको छ । प्रशोधन कार्य सकिएको छ । अब सम्भवतः मंसिर अन्तिम सातादेखि पुस पहिलो हप्ताभित्रमा विवरण सार्वजनिक हुन्छ । त्यसमा हामी जाति तथा पहिचानको कुरालाई विशेषरूपमा समेट्छौँ र सम्बोधन गछौँ ।’

विज्ञ, सरोकारवाला र संवैधानिक आयोगहरूको सहयोगमा यो विषय तथा मागलाई टुङ्ग्याउने महानिर्देशक लामिछानेले बताए । ‘तपाईंहरूको जस्तो माग धेरै जातिको आएको छ । यसलाई हामी विशेषरूपमा विज्ञहरूसहित टुङ्ग्याउँछौँ ।’

किरात राई जातिभित्र २६ भाषा बोल्ने समुदाय छन् । ती भाषाहरूमा थुलुङ पुमा, बान्तावा, दुमी, कोयीरकोयू, चाम्लिङ, वाम्बुले, साम्पाङ, कुलुङ, खालिङ, बायुङरबाहिङ, नाछिरिङ, मेवाहाङ, तिलुङ, दुङ्माली, आठपहरिया, छिन्ताङ, छिलिङरछुलुङ, फाङ्दुवाली, मुगारमुगाली, याम्फु, लोहोरुङ, बेल्हारे, जेरुङरजेरो, लुङ्खिम, देवास र नेवाहाङ छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved