जुम्लामा बाढीपहिराले १० को मृत्यु, एक बेपत्ता

जुम्लामा बाढीपहिराले १० को मृत्यु, एक बेपत्ता
फाइल फोटो

जुम्ला ।  एक सातादेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट जुम्लामा १० जनाको मृत्यु भएको छ । एक जना अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए । मंगलबार विपद् व्यवस्थापन समितिको बैठकमा जिल्लामा विपद्ले पारेको धनजनको क्षतिबारे जानकारी दिँदै उनले कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर भत्कँदा आठ जनाको मृत्यु भएको बताए ।

प्रजिअ केशरीले भने, ‘गुठीचौर गाउँपालिकामा एक र हिमा गाउँपालिका एक जनाको मृत्यु भएको छ । हिमा गाउँपालिकाकै एक जना अझै बेपत्ता रहेका छन् । सदरमुकाम खलङ्गामा विद्युत्, सञ्चार एक सातादेखि अवरुद्ध छ ।’ उनका अनुसार जिल्लाभर ८५ भन्दा बढी घर पूर्णरूपमा र दुई सयभन्दा बढी घर आंशिकरूपमा क्षति भएको छ । अहिले सुरक्षा निकाय परिचालन गरी क्षतिपूर्तिको एकिन तथ्याङ्क सङ्कलन गर्ने कामदेखि राहत र उद्धारमा सबै निकाय लागि परेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको जानकारी दिए। उनका अनुसार अझै दुई सातासम्म राजमार्ग सञ्चालन हुने छैन । सडक डिभिजन कार्यालयले सडकमा डोजर लगाएको छ । नाग्म गमगडी सडकखण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको कार्यालयले जनाएको छ ।

तीन सय घर परिवारलाई राहत दिने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । घरवारविहीन परिवारलाई उचित राहत र बासको व्यवस्थापन गर्न स्थानीय तहले विशेष भूमिका खेल्नुपर्ने जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले बताए। स्थानीय तहको विपद् व्यवस्थापन समितिसँग सहकार्य र समन्वय गर्न जिल्ला विपद् व्यवस्थापन समितिलाई सुझाव दिइएको चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतले जानकारी दिए ।

सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले पालिकाभित्रका ९९ घर पूर्णरूपमा क्षति भएको जानकारी दिए। सिञ्जाका सबै वडामा भएको क्षतिपूर्तिको तथ्याङ्क सङ्कलन गर्न वडाध्यक्षलाई खटाइएको उनको भनाइ थियो । अविरल वर्षाले धानबालीमा पारेको क्षतिबारे स्थानीय तहका कृषि शाखालाई सही तथ्याङ्क सङ्कलन गर्न लगाइएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved