प्राधिकरणले थप १११ मेगावाट विद्युत् बिक्रीका लागि भारतमा पठायो प्रस्ताव

नेपालभ्युज

प्राधिकरणले थप १११ मेगावाट विद्युत् बिक्रीका लागि भारतमा पठायो प्रस्ताव

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे-अहेड बजारमा वर्षायामको थप १११ मेगावाट विद्युत् प्रतिस्पर्धामार्फत बिक्रीको लागि भारतमा प्रस्ताव पठाएको छ ।

प्राधिकरणले ४ जलविद्युत् गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी आईएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेस गरेको हो । केन्द्रीय विद्युत् प्राधिकरणबाट अनुमति पाएपछि थप विद्युत् निर्यात सुरु हुनेछ । अहिले ३६४ मेगावाट बिजुली भारतमा बिक्री भइरहेको छ ।

प्राधिकरणले  ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखुखोला ‘ए’, २३.५ मेगावाटको सोलुखोला, २२.१ मेगावाटको चिलिमेको विद्युगृहबाट उत्पादित १११.८ मेगावाट विद्युत निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेश गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले थप विद्युत् निर्यातका लागि भारत सरकारबाट छिट्टै अनुमति प्राप्त हुने विश्वास व्यक्त गरे ।

चालु आर्थिक वर्ष (आव) २०७९/८०को पहिलो महिनामा झण्डै २ अर्ब रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिसकेको छ । नेपाल विद्युत् प्राधिकरणले चालु आवको साउन महिनामा १ अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत निर्यात गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved