नागरिकता विधेयक पारित, विदेशी महिलाले विवाहलगत्तै नागरिकता पाउने

नेपालभ्युज

नागरिकता विधेयक पारित, विदेशी महिलाले विवाहलगत्तै नागरिकता पाउने

काठमाडौं। प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले नागरिकता विधेयक पारित गरेको छ। विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएपछि यो कानुन कार्यान्वयनमा आउने छ।

अब २०७२ साल असोज ३ भन्दाअघि जन्मका आधारमा नागरिकता लिएका बाबु र आमाका सन्तानले अब वंशजका आधारमा नागरिकता पाउने बाटो खुला गरेको छ। संविधान जारी भएपछि त्यसअनुसार नागरिकता कानुन संशोधन नभएका कारण नागरिकता नपाएकाहरूले अब नागरिकता पाउने भएका छन्।

‘०७२ असोज ३ भन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ’ पारित विधेयकमा भनिएको छ।
एमालेको असहमतिका बीच विदेशी महिलाले नेपालीसँग विवाह गरे लगत्तै नेपालको नागरिकता प्राप्त गर्ने पुरानै व्यवस्थालाई यथावत् राख्दै नेपाल नागरिकता पहिले संशोधन विधेयक पारित गरेको छ ।

विधेयकका केही प्रावधानहरूमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूको असहमति सहित संशोधन हालेका थिए। उनीहरूले विशेष गरी नेपालीसँग विवाह गर्ने महिलाले प्राप्त गर्ने नागरिकताको हदम्यादबारे असहमति राखेका थिए।

प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले २२ महिना लगाएर छलफल गरेको पुरानो विधेयक फिर्ता लिएर सरकारले गत असार २४ मा नयाँ विधेयक ल्याएको थियो। उक्त विधेयकलाई संसदीय समितिमा नलगी शुक्रबार प्रतिनिधि सभाको बैठकमै छलफल गरी पारित गरिएको हो।

अब नागरिकता ऐनको दफा ५ ले व्यवस्था गरे अनुसार नै अङ्गीकृत नेपाली नागरिकता प्राप्त हुनेछ। दफा ४ मा छ,‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारीसमक्ष निवेदन दिनु पर्नेछ । निवेदन दिँदा नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्धको र आफूले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पेस गर्नुपर्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved