त्रिवि प्रश्नपत्रमा लापरवाही गर्नेलाई कारवाही गर्न सरकारलाई शिक्षा समितिको निर्देशन

१८ जेठमा सम्पन्न स्नात्तकोत्तर तह तेस्रो सेमेष्टरको पब्लिक इकोनोमिक्स र २३ जेठमा सम्पन्न स्नातकोत्तर तह राजनीतिशास्त्रको पहिलो सेमेष्टरको ‘इन्टरनेशनल पोलिटिक्स’को प्रश्नपत्र हुबहु मिलेको थियो।

नेपालभ्युज

त्रिवि प्रश्नपत्रमा लापरवाही गर्नेलाई कारवाही गर्न सरकारलाई शिक्षा समितिको निर्देशन

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्रमा लापरवाही गर्नेलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले विश्वविद्यालयको प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेलाई कारवाही गर्न निर्देशन दिएको हो। बैठकले प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्ने विषयमा छानविन समिति गठन गर्न पनि निर्देशन दिएको छ।

समिति सभापति जयपुरी घर्तीले छानबिन समितिको प्रतिवेदन समितिमा पेश गर्न पनि निर्देशन दिएका छन्। उनले विश्वविद्यालयको प्रश्नपत्रमा लापरवाहीको जिम्मेवारी विश्वविद्यालयका उपकुलपतिलगायत सबै पदाधिकारीले लिनुपर्ने बताए।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेलाई तत्काल कारबाही हुने बताए। देशको करीब ८० प्रतिशत व्ययभार बोकेको त्रिभुवन विश्वविद्यालयले आफ्नो गल्तीलाई सच्चाउँदै आगामी दिनमा यस्तो कार्य गर्न नदिनेमा आफू सजग भएको उनले बताए। प्रश्नपत्र हुबहु निकाल्नेमाथि छानबिन भइरहेको बताउँदै उनीहरूमाथि कडा कारबाही हुने आश्वासन उनले दिए।

बैठकमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले स्नातक र स्नातकोत्तर तहका ४ वटा प्रश्नपत्र बाहिरिएको र हुबहु दोहोरिएको बताए। उनले हुबहु प्रश्नपत्र बाहिर आएपछि केही विषयहरूको परीक्षा पुन: गर्ने निर्णय गरिएको जानकारी दिए।

अर्थशास्त्र विभागले १८ जेठमा संचालन गरेको स्नात्तकोत्तर तह तेस्रो सेमेष्टरको पब्लिक इकोनोमिक्स र मानविकी तथा सामाजिक विज्ञान संकायअन्तर्गत डिन कार्यालयले २३ जेठमा सञ्चालन गरेको स्नातकोत्तर तह राजनीतिशास्त्रको पहिलो सेमेष्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved