मेयरसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

नेपालभ्युज

मेयरसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

जनकपुरधाम । राजविराज नगरपालिकाका मेयर भीमराज यादवसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ।

स्थानीय राज रंगशाला स्तरन्नति कार्यमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर यादव सहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

आर्थिक वर्ष २०७४/०७५ मा भएको रंगशाला स्तरन्नोति कार्यमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार मेयर यादव सहित सात जनाबिरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो।

यादवविरुद्ध मेयरको रुपमा नभई रंगशाला निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी न्यू गहिल कन्स्ट्रक्सनका सञ्चालकको रुपमा भ्रष्टाचार मुद्दा दायर भएको हो।

रंगशाला निर्माणका लागि जिल्ला खेलकुद विकास समिति र न्यू गहिल कन्स्ट्रक्सनबीच सम्झौता भएको निर्माण कार्यमा यादवले निर्धारित शर्त तथा मापदण्डविपरीत कार्य गरी वा त्यस्तो कार्यलाई गुणस्तरयुक्त, शर्त तथा मापदण्ड बमोजिम भएको हो भनी प्रमाणित वा स्वीकृत गराई २ लाख ६३ हजार ४ सय ६८ काम गरेको भन्दा बढी भुक्तानी लिएको देखिएको अख्तियारको भनाइ छ।

न्यू गहिल कन्स्ट्रक्सन र सञ्चालक यादवले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको भन्दै कन्स्ट्रक्सन र सञ्चालक यादवको हकमा २ लाख ६३ हजार ४६८ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) अनुसार कैद एवं जरिवाना र बिगो जफत गर्न माग गरिएको छ।

न्यू गहिल कन्स्ट्रक्सनका संचालक यादव ३० वैशाखमा भएको निर्वाचनमा जनता समाजवादी पार्टीको तर्फबाट मेयरमा निर्वाचित भएका हुन्।

अख्तियारले रंगशालाको स्तरन्नोति काममा अनियमितता गरेको भन्दै उदय निर्माण सेवाका सञ्चालक उदय श्रेष्ठलाई १० लाख ६३ हजार ९६२, जिल्ला विकास समितिका तत्कालीन इन्जिनियर विकास श्रेष्ठविरुद्ध १३ लाख २७ हजार ४३०, जिल्ला खेलकुद विकास समिति, सप्तरीका तत्कालीन प्रमुख लक्ष्मण मण्डलविरुद्ध ५ लाख ६९ हजार, ८१० बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ।

यही मुद्दामा जिल्ला खेलकुद विकास समितिका तत्कालीन कार्यालय प्रमुख महेन्द्रप्रसाद यादवविरुद्ध ७ लाख ५७ हजार ६२०, जिल्ला खेलकुद विकास समितिका तत्कालीन अध्यक्ष एजेट न्यासुरविरुद्ध १३ लाख २७ हजार ४३० र तत्कालीन उपाध्यक्ष धिरु बर्माविरुद्ध २ लाख बिगो कायम गरी मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ।

बर्माले २ लाख पेश्की लिएर फर्स्यौट गर्न नसकेको अख्तियारले जनाएको छ।

उनलाई पेश्की दिने तत्कालीन अध्यक्ष न्यासुर र तत्कालीन कार्यालय प्रमुख लक्ष्मण मण्डलविरुद्ध पनि उक्त रकम बिगो कायम गरी असुलउपर गर्न माग गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved