टस जितेर बलियो टोली स्कटल्याण्डविरुद्ध फिल्डिङ गर्दै नेपाल

नेपालभ्युज

टस जितेर बलियो टोली स्कटल्याण्डविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्याण्डसँगको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ।

लिग–२ अन्तर्गत आयोजक स्कटल्याण्ड र नामिबियासँगको क्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा नेपालले आज दोस्रो खेल खेल्न लागेको हो।

नेपाल यस श्रृङ्खलाको पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो। बलिङमा राम्रो प्रदर्शन गर्दै नामिबियालाई २२० रनमा रोके पनि नेपालले खराब ब्याटिङका कारण खेल गुमाएको थियो।

आजको घरेलु टिमसँगको खेलमा पनि नेपालले नामिबियासँगको टिमलाई नै निरन्तरता दिएको छ। जारी शृंखलामा पहिलो जितको खोजीमा रहेको नेपालको लागि स्कटल्याण्ड तुलनात्मक रुपमा बलियो प्रतिद्वन्द्वी हो।

स्कटल्याण्डसँग नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न लागेको यो पहिलो पटक हो। यो श्रृङ्खलामा स्कटल्याण्ड र नामिबियासँग नेपालले दुई–दुई ओटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने तालिका छ।

लिग–२ अर्को वर्ष भारतमा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगिता खेल्ने बाटो हो। यस लिग–२ मा शीर्ष तीनभित्र पर्ने टिमले सीधै एकदिवसीय विश्वकप छनोटमा प्रवेश पाउनेछन्।

साथै आईसीसीको एकदिवसीय मान्यता जोगाउन पनि नेपालको लागि यो प्रतियोगिता निकै महत्वपूर्ण छ। सात राष्ट्र सहभागि यो लिग–२ को शीर्ष पाँचभित्र रहने सके नेपालको एकदिवसीय मान्यता यथावत् रहन सक्छ।

हाल लिग-२ मा नेपाल तालिकाको छैटौँ स्थानमा छ। १७ खेलमा सात जित, नौ हार र एक बराबरीसहित नेपालको १५ अंक छ। २१ खेल खेलेर मात्र पाँच खेल हारेको स्कटल्याण्ड ३० अंकसहित लिगको दोस्रो स्थानमा छ।

नामिबिया भने १६ खेलबाट १६ अंकसहित पाँचौँ स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved