काठमाडौंमा थपिए हैजाका शंकास्पद तीन बिरामी, दुई जना आईसीयूमा

सचेत रहन अस्पतालको आग्रह

नेपालभ्युज

काठमाडौंमा थपिए हैजाका शंकास्पद तीन बिरामी, दुई जना आईसीयूमा

काठमाडौँ । काठमाडौंमा थप तीन जना हैजाका शंकास्पद बिरामी फेला परेका छन्।

दुई पुरुष र एक महिलामा हैजाको शंकास्पद लक्षण देखिएर शुक्रराज अस्पतालमा भर्ना गरिएको अस्पतालले जनाएको छ। उनीहरू ललितपुर सानेपाका ५० वर्षीय पुरुष र सिन्धुपाल्चोकका २९ वर्षीया पुरुष छन्। त्यस्तै काठमाडौँ कुलेश्वरकी ६५ वर्षीया महिलामा पनि हैजाको शंकास्पद लक्षण देखिएको अस्पतालले जनाएको छ।

५० वर्षीय पुरुषलाई आज (आइतबार) दिउँसो एक बजे भर्ना गरिएको हो भने २९ वर्षीय पुरुषलाई दिउँसो २ बजे भर्ना गरिएको अस्पतालकी निर्देशक डा. मनीषा रावलले जानकारी दिइन्। उनका अनुसार ६५ वर्षीया महिलालाई भने आइतबार साँझ भर्ना गरिएको हो।

काठमाडौंको मोडेल अस्पतालमा उपचाररत २ जना युवतीहरू गम्भीर बिरामी भएपछि केही दिनअघि शुक्रराज अस्पतालमा भर्ना गरिएको थियो। उनीहरूलाई आईसीयूमा राखेर उपचार गरिएको थियो। अहिले भने उनीहरूको अवस्था खतरामुक्त भइसकेको अस्पतालले जनाएको छ। उनीहरूमा हैजा पुष्टि भएको छ। आज स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति नकाल्दै ती दुई जना युवतीमा हैजा पुष्टि भएको बताएको छ।

आज भर्ना गरिएका तीन जनामध्ये दुई जनालाई भने आईसीयूमा राखेर उपचार गरिएको छ।

काठमाडौंको फोहोर र दूषित पानीबाट हैजा सरेको हुन सक्ने चिकित्सकहरूले चेतावनी दिँदै आएका छन्। टेकु अस्पतालमा झाडापखालाका बिरामी पनि बढ्न थालेका छन्।

यसैबीच डा रावलले काठमाडौं उपत्यकामा दुषित पानीका कारण रोग फैलिन थालेको भन्दै सचेत हुन सुझाएकी छन्। बाहिर राखिएका खाना नखान र पानी उमालेर मात्र खान डा रावलले आग्रह गरेकी छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved