राजनीतिक नेतृत्वको कामलाई कार्यान्वयन हुन नदिने प्रवृत्तिविरुद्ध कर्मचारीले हस्तक्षेप गर्नुपर्छ : प्रचण्ड

नेपालभ्युज

राजनीतिक नेतृत्वको कामलाई कार्यान्वयन हुन नदिने प्रवृत्तिविरुद्ध कर्मचारीले हस्तक्षेप गर्नुपर्छ : प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धीलाई मन नपराउने प्रवृत्ति कर्मचारी प्रशासनभित्र पनि रहेको टिप्पणी गरेका छन्।

जनताका पक्षमा राजनीतिक नेतृत्वले गरेका कामलाई प्रभावकारीरुपमा कार्यान्वयन हुन नदिने तथा त्यसको मर्मलाई आत्मसात् गर्न नचाहने प्रवृत्तिकाविरुद्ध कर्मचारीले नै सकारात्मक हस्तक्षेप गर्नुपर्ने उनको भनाइ छ।

नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष दाहालले कर्मचारीतन्त्रको यस्तो प्रवृत्तिलाई निरत्साहित गर्न कर्मचारीभित्रै अभियान चलाउनुपर्ने र सशक्त प्रतिवाद गर्नुपर्ने बताए।

परिवर्तन संस्थागत गर्ने संघर्षमा हामी सबैको साझा प्रयास र संकल्प आवश्यक रहेको उनको भनाइ छ। विगतमा विभिन्न कारणले फरकफरक कित्तामा रहेका पूर्वमाओवादी क्रमशः एक ठाँउमा उभिने वातावरण बन्दै गएकामा अध्यक्ष दाहालले प्रसन्नता व्यक्त गरे।

त्यस अभियानलाई क्रमशः सफलतामा पुग्ने वातावरण सिर्जना भएको तथा त्यसले विस्तारै सफलता हासिल गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो। पार्टी टुटफुट हुँदा विभिन्न समूहमा विभक्त भएका पूर्वमाओवादी क्रमशः एकीकृतरुपमा अगाडि बढ्ने वातावरण कर्मचारी सङ्गठनमा पनि बनेकामा अध्यक्ष दाहालले खुशी व्यक्त गरे।

संघीय निजामति विधेयकलाई कर्मचारीकै माथिल्लो तहबाट अवरोध भएको भन्ने सूचना आफूले प्राप्त गरेको भन्दै उहाँले त्यस प्रवृत्तिका विरुद्ध दबाव दिन कर्मचारीलाई अनुरोध गरे। उनले संगठन निर्माण गर्दै त्यसलाई गतिशील बनाउन आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved