सन्दर्भः रिमाल जन्मजयन्ती

यसरी रचियो ‘रातो र चन्द्र सूर्य, जंगी निशान हाम्रो…’

गोपालले भने, “आहा मलाई ‘मूड’ आयो। म अहिल्यै लेख्छु।” त्यति भनेर फटाफट विजेश्वरी (विजयेश्वरी) को मन्दिरतिर लागे। कृष्णप्रसाद रिमाल र म पनि उनको पछिपछि गयौँ। गोपालप्रसाद गम्भीर भएका थिए। उनी मन्दिरको बहालभित्रको काठको फलैंचामा बसे।

यसरी रचियो ‘रातो र चन्द्र सूर्य, जंगी निशान हाम्रो…’

१८ जेठ १९७५ मा जन्मिएका गोपालप्रसाद रिमाल नेपाली साहित्यमा गद्य कविताका आरम्भकर्ताका रूपमा परिचित छन्। उनको कविता संग्रह ‘आमाको सपना’ मदन पुरस्कारबाट सम्मानित छ। साथै उनी एक सफल नाटककार पनि हुन्। ‘यो प्रेम’ र ‘मसान’ उनका चर्चित नाटक हुन्। साहित्यकार रिमालको अर्को खासै नखुलेको पाटो पनि छ। उनी राजनीतिक व्यक्तित्व पनि थिए। २००३ सालमा भारतको बनारसमा बीपी कोइरालाहरूको नेतृत्वमा ‘नेपाली राष्ट्रिय कांग्रेस’ स्थापना भएको खबर पाएपछि क्षुब्ध रिमाल ‘स्वदेशमै राजनीतिक दल स्थापना हुनुपर्ने’ मान्यता राख्थे। आफ्नै नेतृत्वमा उनले दमनराज तुलाधर, विजयबहादुर मल्ल, गोपालदास श्रेष्ठ, श्यामदास वैष्णव आदिसँग मिलेर ‘नेपाल नेशनल लिग’ गठन गरे। सोही पार्टीमार्फत राजनीतिक गतिविधि गर्ने क्रममा उनले रचेका चर्चित गीत ‘रातो र चन्द्र सुर्य, जंगी निसान हाम्रो…’। उक्त पार्टीको स्थापना र यो गीत रचनाको प्रसंग रिमालका मित्र दमनराज तुलाधरले आफ्नो संस्मरण ‘दमनराज तुलाधर’ मा गरेका छन्। यो स्मृति त्यसै पुस्तकको अंश हो।


काठमाडौमा एउटा खुला राजनीतिक दल खोल्न गोपालप्रसाद रिमाल र म साधन र उपायको खोजीमा व्यस्त थियौं। यसै बेला भाइ तीर्थराज बम्बैबाट पढाइ छोडी घर आइपुगे। रजिस्टर्ड एकाउन्टेन्सी पढ्न ६ महिना भित्रमा रू. २५ हजार बैड डिपोजिट राखी आर्टिकल्ड क्लर्क हुन अनिवार्य थियो। त्यति रूपियाँ धरौटी राख्न म शिक्षा डाइरेक्टर मृगेन्द्रशमशेरको चाकडी गर्दै थिएँ। उनले सो रकम नियमित बजेटमा व्यवस्था नभएको र महाराजको हुकुमबाट थप निकासा गर्नुपर्ने भनेर आलटाल गरिराखे। उता भाइ बम्बैमा बेखर्ची भइ घरै फर्कन बाध्य भयो। उसको झुकाव साहित्यतिर बढी भएकाले काठमाडौंमा नै बी. ए. पढाउने विचार गरें। बम्बईसम्म देखाउनुमा नै मैले चित्त बुझाएँ। यसपछि भाइ पनि राजनीतिक क्रियाकलापमा संलग्न भए। पछि ‘प्रदीप्त पुस्तकालय’ खोलेर त्यसमार्फत आफ्नो अलग स्वतन्त्र विचार अभिव्यक्त गर्ने अवसर पाए।

अब गोपालप्रसाद र म बसेर तरहतरहका सङ्घर्षका उपायहरू सोच्यौं। हामी दुवै दरबारको सम्पर्कमा आएका मानिस भएकाले हामीलाई हाम्रा प्रगतिशील साथीहरूको विश्वास पाउन अति नै गाह्रो भयो। जसकहाँ गएर कुरा गरे पनि हामी सि. आई. डी. हौं भनेर हामीसँग टाढा-टाढा भए। ती साथीहरू कलकत्ता, बनारस ओहर-दोहर गरी विश्वेश्वरप्रसाद कोइरालाको व्यक्तित्व एवम् वाक्पटुताबाट र गणेशमान सिंहको जोशबाट निकै प्रभावित भएर काठमाडौं, पाटन र भादगाउँमा स-साना भूमिगत कांग्रेसी सङ्गठन खोले। जेलमा भएका टङ्कप्रसाद आचार्यलाई नै नेपाली राष्ट्रिय कांग्रेसको सभापति बनाएकाले भूमिगत प्रजापरिषद् पनि नेपाली राष्ट्रिय कांग्रेसमै परिणत भयो।

हामीलाई साथ दिनेमा विजयबहादुर मल्ल, गोपालदास श्रेष्ठ, श्यामदास वैष्णव यस्तै दुई-चार जना उत्साही नवयुवक मात्र भए। तर यस परिस्थितिमा पनि गोपालप्रसाद रिमाल रत्तिभर विचलित भएनन्। एक दिन बिहान सबेरै उनी मकहाँ आएर भने, “लौ दमन, मैले एउटा तरिका पत्ता लगाएँ। यी कांग्रेसीहरू त कोठामा बसी खासखुस कुरा मात्र गर्ने हुन्। हामी मैदानमा उत्रिएर बुलन्द आवाज गरौं। यहाँ जनसभा गरेर सार्वजनिक भाषण दिन सकिंदैन। यो पशुपतिनाथको राज हो। त्यसैले पशुपतिनाथलाई गुहारौं। ल, मैले एउटा भजन पनि लेखेर ल्याएको छु। ‘सुन’ भनेर उनले यो गीत गाए–

‘म गर्छु देश सेवा बल देऊ लौ मलाई
मबाट होस् सबैको आनन्द औ भलाई।’

(यो प्रार्थनाको सम्पूर्ण श्लोक सम्झना भएको कुनै मित्र पनि भेट्टाउन सकिएन।)

यो गाइसकेपछि उनले लौ मैले एउटा पर्चा पनि लेखिसकेको छु, पढ भनेर हातमा दिए। त्यस कागजमा लेखिएको रहेछ–

हाम्रा राजनीतिक अधिकारहरू सबै कास्की, लमजुङका राजा, नेपालका प्रधानमन्त्रीको हातमा सुरक्षित रहेकाले अहिले तत्काल हामीलाई राजनीतिक कार्यक्रम लिई अगाडि बढ्न आवश्यक छैन अहिले केवल जनतालाई श्री ५ महाराजाधिराजको सर्वोपरि नेतृत्वको अवगत गराउने र राष्ट्रियताको भावना जागृत गर्न अत्यावश्यक भएकोले नेपाल नेशनल लिग (नेपाल राष्ट्रिय सङ्गठन) भन्ने नाम दिएर एउटा सङ्गठन खोल्ने भएका छौ यस सङ्गठनले देशको शान्ति सुरक्षामा कुनै किसिमबाट खलबल नहुने गरी एवम् वर्तमान सरकारप्रति अनास्था तथा वेषको भावना आउन नदिन सतर्क भई काम गर्नेछ जनतामा राजनीति तथा सामाजिक चेतना शून्यप्रायः भएकाले हामी आमसभा, जुलुस इत्यादिमा विश्वास गर्दैनौं केवल राष्ट्रियताको अभिवृद्धि हुने किसिमबाट सरल नेपाली, नेवारी, भोजपुरी, मैथिली भाषामा पुस्तक, पुस्तिका, पर्चाहरू लेखी उपत्यका र तराईमा पनि वितरण गर्नेछौ अहिले हाम्रो कार्यक्रम निम्न विषयमा सीमित रहनेछ:

(१) अछुत उद्धार

(२) सैनिक सेवामा जातिभेदको बन्देज हटाउने

(३) नेपाली मात्रलाई गढीको राहदानी नपर्ने गराउने हिन्दूस्थान
जाँदामात्र सिमानामा राहदानीको व्यवस्था गर्ने

(४) नारी-शिक्षा प्रचार गर्ने

हामीले परस्परमा भेट हुँदा ‘जय नेपाल’ ! भनेर अभिवादन गर्ने चलन ल्यायौं।

यो पढिसकेपछि यसलाई के गर्ने भनेर मैले सोद्धा गोपालप्रसादले भने, “सय कापीजति छापी रोलवाला राणाजीहरूका घरमा पठाइदिने र बुद्धिजिवीहरूलाई खामबन्दी गरी हुलाकबाट पठाइदिने। छपाउनेका हकमा विजयलाई एकपल्ट भनौं, मानेन भने त्यहाँको एउटा कम्पोजिटरलाई हात लिई छपाउने।”

मैले भनेँ, “लौ गोपाल, तिमीले जेजे गर्नुपर्छ गर, म तिम्रो साथमा आउँछु।”

मलाई लागेको थियो, सरकार-विरोधी कुनै काम नगर्ने भएपछि कसरी पक्राउ खाइएला र ?

भोलिपल्टदेखि गोपालप्रसाद रिमाल टोलका दुई-चार जना कार्यकर्ता साथ लिएर पशुपतिमा प्रार्थना गर्न जान लागे। मैले भने ट्युशनको लन्ठाले गर्दा उनलाई साथ दिन सकिनँ। पशुपतिमा ‘शम्भो’ र ‘जय शङ्कर’को हो-हल्लाले गोपालप्रसादको प्रार्थनालाई सलक्क निलिदियो। दुई हप्ताजति प्रार्थना गर्दा पनि कसैको ध्यानाकर्षण गर्न नसक्दा उनले अर्को उपाय सोच्न पर्‍यो। अनि उनले अर्को भजन लेखेर मकहाँ आए। उनले भने, “हेर दमन, पशुपति टाढा पनि भएको र त्यहाँ आउने मान्छेहरू पनि धर्मभीरूहरूमात्रै भएकोले हाम्रो प्रार्थनाको लक्ष्य प्राप्त भएन। अनि शोभा भगवतीको प्रार्थना गर्न भनेर त्यहाँ गाउन एउटा गीत पनि कोरेको छु। हेर त, तिमीलाई कस्तो लाग्छ ?” गीत यस प्रकारको थियो—

बखत भयो अब यही छ बेला
नजर उघारी हेरिदेऊ
यो दिलबाट तमस हटाई
उज्यालो आभा फैलाइदेऊ

जो देख्छ्यौ हालत भित्री तहको
तिमीलाई अन्धी भनूँ म कसरी
के हाल हाम्रो कुन दशा छ
बस् एकचोटि हेरिदेऊ
जो सुन्छ्यौ आवाज भित्री मनको
तिमीलाई बहिरी भनूँ म कसरी
हे देवी दुर्गे जगत्की आमा
पुकार हाम्रो सुनिदेऊ

यो देश सुधोस् यही छ आशा
बुद्धि सबैको सपारी देऊ
हामी नेपाली नेपाल हाम्रो
यो भाव सबमा जगाइदेऊ

पढिसकेपछि मैले भनें, “लौ गोपाल, यो गीतले काम दिन्छ। पशुपतिमा बिहान प्रार्थना गर्ने कार्यक्रम नछाडी शोभा भगवतीमा हामी साँझमा प्रार्थना गरौं, दुई-चार दिनमै हाम्रो गीत सुन्न मान्छेहरूको वैरो लाग्नेछ। मैले पनि साँझको ट्युशन छाड्ने भएँ। अर्को शनिबारदेखि कार्यक्रम थाल्नुपर्छ।”

शनिबारका दिन साढे चार बजे हामी कार्यक्रम प्रारम्भ गर्न शोभाभगवतीको मन्दिरअगाडि उभियौं। आँखा चिम्लिएर, हात जोरी शिर निहुराई हामीले स्वर मिलाएर गाउन थाल्यौं। चालीस-पचास जना मान्छेजम्मा भएर ध्यानसँग सुन्न लागे। गीत सकिएपछि हामीले उपस्थित सबैलाई ‘जय नेपाल’ भनी अभिवादन गयौं। सबैको मुखबाट जय नेपाल, जय नेपाल’ भन्ने आवाजले हाम्रो छाती ढक्क भयो। हामी फर्किन लाग्दा एक जनाले सोधे, ‘भोलि पनि यो भजन हुन्छ कि ? मैले भनें, ‘आजदेखि घाम-पानी जे भए पनि हाम्रो कार्यक्रम निरन्तर चल्नेछ। दिनदिनै श्रोताहरूको सङ्ख्या बढ्दै गयो। छ-सात दिनमा दशौं हजारको तायदातमा मान्छे जम्मा भए।

अनि गोपालप्रसाद रिमालले भने, “अब हामीले राष्ट्रियता जगाउन राष्ट्रिय झण्डाको एउटा स्तुति पनि गर्नुपर्‍यो।”

मैले भनें, “हुन्छ, लेखेर ल्याऊ न। गोपालले भने, “अहा मलाई ‘मूड’ आयो। म अहिल्यै लेख्छु।”

त्यति भनेर फटाफट विजेश्वरी (विजयेश्वरी) को मन्दिरतिर लागे। कृष्णप्रसाद रिमाल र म पनि उनको पछिपछि गयौं। गोपालप्रसाद गम्भीर भएका थिए। उनी मन्दिरको बहालभित्रको काठको फलैंचामा बसे। हामी दुई जना बाहिर बसेर चुरोट खान लाग्यौं। आधा घण्टाजति पछि गोपालप्रसाद फुई-फुई गर्दै बाहिर आएर मलाई कागजको एउटा खोस्टो दिएर ‘लौ पढ’ भने। कहीं केरमेट नगरीकनै यो गीत लेखेछन्-

रातो र चन्द-सूर्य जङ्गी निशान हाम्रो
ज्युँदो रगत सरी यो बल्दो यो शान हाम्रो
हिमालझै अटल यो झुकेन यो कहिल्यै
लत्रेन यो कहिल्यै जङ्गी निशान हाम्रो !

यो जन्मँदै जगत्मा कैयौं प्रहार आए
साम्राज्य दुई हारे हारेन शान हाम्रो
जबसम्म चन्द्र-सूर्य आकाशमा रहन्छन्
तबसम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो।

गाई सरी छन् साधु जो-जो यहाँ जगत्मा
सबको शरण बलियो जड़ी निशान हाम्रो !

भोलिपल्टदेखि शोभा भगवतीको भजन सकिएपछि गोपालप्रसादले उपस्थित जनसमूहलाई सम्बोधन गरेर भने, “बुझ्नुभो साथीहरू हो, सूर्यचन्द्र अङ्कित हाम्रो झण्डा अहिले सिंहदरबारमाथि मात्रै फर्फराइरहेको छ। हामीले हाम्रा प्रधानमन्त्रीलाई झण्डावाल भन्ने पनि गर्दछौ। तर वास्तवमा त्यो झण्डा हाम्रो राष्ट्रियताको प्रतीक हो। त्यो झण्डालाई सम्मान गर्न सिकेपछि मात्र देशसेवा गर्ने काममा लाग्न सक्छौं। त्यसैले अब हाम्रा हातमा सूर्य-चन्द्र भएको झण्डा बोकेका छौं भन्ने कल्पना गरेर यो झण्डा-स्तुतिलाई भक्तिपूर्वक सुनिदिनोस्।”

त्यसो भनेपछि हामी तीन जनाले झण्डा समातेको अभिनय गरेर स्तुति गर्न थाल्यौं। त्यस स्तुति-गानको लय फौजी जवानहरू पंक्तिबद्ध भई अगाडि बढ्दाको तालमा भएकोले जनसमूहले पनि खुट्टा बजारेर ताल दिए। स्तुति सकिएपछि हामीले ‘जय नेपाल’ भनी अभिवादन गर्दा जनसमूहबाट अति जोशिलो स्वरमा प्रतिध्वनित भयो।

हाँडी गाउँमा बम विस्फोट भयो भन्ने व्यापक हल्ला काठमाडौमा चल्यो। सरकारले हामीलाई फसाउने निहुँ बनाएको हो कि भन्ने लागेर हामी सतर्क भयौ। तत्काल शोभा-भगवतीको भजन र झण्डाको स्तुति सकिएपछि मैले जनसमूहलाई सम्बोधन गरेर एउटा भाषण दिएँ।

भाषणमा मैले भनेँ, “साथीहरू हो ! हाँडी गाउँमा बम पड्कियो भन्ने हल्ला तपाईहरूले पनि सुन्नुभएकै होला तर हामीजस्ता देशभक्त, राजभक्त जनताले आवाद भएको यो पवित्र एवम् शान्तिप्रिय मुलुकमा कुनै ध्वंसात्मक काम होला भनेर हामी कदापि विश्वास गर्न सक्तैनौं। हामीलाई फसाउने यो एउटा चालबाजीमात्रै हो भन्ने कुरामा म विश्वस्त छु। तपाईंहरूका मनमा यस्तो भजन गरेर के गर्न लागेको होला भन्ने खुलदुली हुनु स्वाभाविकै छ। त्यसैले तपाईंहरूलाई यस मौकामा हाम्रो कार्यक्रमका विषयमा केही शब्द बोल्न पनि आवश्यक ठान्दछु। तपाईंहरूले सुन्नुभएकै होला, कलकत्तामा केही उत्साही नवयुवकहरूले ‘नेपाली राष्ट्रिय कांग्रेस’ भनेर एक राजनीतिक सङ्गठन खोलेका छन्। तर त्यसरी बाहिर बसी राजनीतिक कारबाही गर्नु त झुलबाहिर लामखुट्टे कराउनुजस्तो मात्रै हुनेछ। तर हिन्दुस्थान स्वतन्त्र भइसकेकोले नेपालमा पनि कुनै प्रकारको सङ्गठन हुनु आवश्यक दर्शाई त्यस्तो सङ्गठन खोल्न अनुमतिका लागि हामीले सरकारमा बिन्ती-पत्र पनि चढाइसकेका छौं। हाम्रा मागहरूमा कुनै राजनीतिक रङ नभएकोले ढिलो-चाँडो सरकारबाट अनुमति पाउनेछौं भन्ने विश्वासमा अटल छौ। अनुमति प्राप्त भएपछि सङ्गठन कार्य सुचारू रूपले चलाउनका लागि पूर्वाधार तयार पार्न नै यो प्रार्थना कार्यक्रम चलाएका हौ। गुप्ततवरले कुनै सङ्गठन बनाएका छैनौं। सरकारबाट औपचारिक अनुमति पाएपछि सङ्गठनको उद्देश्य, कार्यक्रम र त्यसको विधानसमेत जनसमक्ष ल्याई रायसल्लाहबमोजिम त्यसमा जे-जस्तो थपघट गर्नुपर्छ, गरी अगाडि बढ्नेछौं। तपाईंहरूसित एउटै नम्र-निवेदन छ, कुनै होहल्लाबाट आतङ्कित नभईकन हाम्रो कार्यक्रमलाई शान्तिपूर्वक सघाउनुहोला।”

शोभा-भगवतीको प्रार्थनाको कार्यक्रम सुचारू रूपले चल्दै थियो। उता पशुपतिको कार्यक्रम पनि पहिलेझै बामे सर्दै थियो। कांग्रेसको प्रभावमा परेका हाम्रा जागरूक मित्रहरूले हामीलाई मोहनशमशेरका पिठ्ठु हुन् भन्ने प्रचार जताततै गरे तर हामी उनीहरूसँग वादविवाद गर्नपट्टि लागेनौ। हाम्रो हृदय सफा थियो र कार्यक्रम प्रष्ट भएकाले हामीलाई कतैबाट डर थिएन।

केही दिनपछि पुलिसका हाकिम चन्द्रबहादुर कर्णेल र गोरखापत्रका सम्पादक प्रेमराज शर्मा पनि हाम्रो भजनमा सामेल भए। हाम्रो प्रार्थना कार्यक्रम सकिनेबित्तिकै उनीहरू हाम्रो अगाडि आएर ‘महाराजबाट कत्रोकत्रो सुधार हुन लागेको छ, तिमीहरूले प्रार्थना गर्ने ढोंग रचेर महाराजको पवित्र इच्छामा बाधा पुयाइरहेका छौ’ भने |

गोपालप्रसादले अगाडि बढेर भने, “महाराजले सुधार गरे भने त्यस सुधारमा सहभागी हुन परमेश्वरबाट हामीलाई बल मिलोस् भनेर नै यस स्वतन्त्र हिन्दूराज्यमा हामीले साक्षात् भगवतीको आशीर्वाद प्राप्त गर्न हामीले यसरी प्रार्थना गरेका हौं।”

यस्तो जवाफ दिएर गोपालले ‘हाम्रो आत्मा कति पवित्र छ, देख्न सक्छौ भने हेर’ भन्दै जोशमा आएर छातीको कमिज दुई हातले समातेर तान्दा कमिज नै घ्यार्र भएर च्यातियो। जनसमूहमा उत्तेजना आयो | पुलिसका हाकिम र गोरखापत्रका सम्पादकको भागाभाग भयो।

अब हामीहरू पक्राउमा पर्ने भयौं भन्ने कुरा हामीलाई पक्का भयो। तीनै जना मेरो डेरामा गई भाइ तीर्थराजलाई समेत मेरो कोठामा डाकी त्यस दिनको घटना सबै बतायौं। तीर्थलाई भने, “यति भएपछि आज राति हामी सुतेको बेलामा पनि हामीलाई पक्रेर लान सक्छ, तिमीले यो कागजमा लेखेजति साथीहरूलाई एक-एक जना गरी प्रार्थनामा पठाउनू। सबैभन्दा पछि आवश्यकता परेमा मात्र तिमी आउनू। तिमी आएपछि हाम्रो कार्यक्रम टुङ्गियो भन्ने सम्झछौं। जे-जसो गरेर भए पनि डेढ-दुई महिना हाम्रो आन्दोलन चल्यो भने पासा अवश्य पल्टिनेछ। हाम्रो धन्दा मान्नु पर्दैन भनेर तिम्री भाउजूलाई सम्झाई राख्नू।”

भोलिपल्ट बिहान आठ बजेतिर हरिहजुर (शारदाशमशेर)को चाकरीमा गएँ। हरिहजुरसँग दुई-चारवटा मात्रै कुरा भएको थियो, एउटा आठपहरिया आई हरिहजुरलाई कानमा खासखुस केही कुरा भन्यो। हरिहजुरको मुख रातो भएर आयो। यसो टाउको हल्लाए। आठपहरियाले मलाई ‘ल आउनुहोस्’ भनेर लक्ष्मी-निवासको दायाँपट्टि नयाँ बनेको गारतको भुइँ तलामा लगेर राख्यो। तत्कालै एउटा चपटे आई मेरो पालो बस्यो। साढे नौ-दश बजेतिर गोपालप्रसाद र कृष्णप्रसादलाई पनि उनीहरूका घरघरबाट पक्रर ल्याई म बसेकै गारत कोठामा थुन्न ल्याए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved