के हो बालबालिकाको आँखामा हुने क्यान्सर रेटिनोब्लास्टोमा ?

नेपालभ्युज

के हो बालबालिकाको आँखामा हुने क्यान्सर रेटिनोब्लास्टोमा ?

काठमाडौं। तिलगंगा आँखा प्रतिष्ठानले आँखामा क्यान्सर भएका बालबालिकाहरूको निःशुल्क जाँच तथा उपचार गर्ने भएको छ।

विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताहको सन्दर्भमा तिलगंगा आँखा प्रतिष्ठानले २५ वैशाख देखि ३१ वैशाखसम्म आँखामा क्यान्सर भएका बालबालिकाहरूको निःशुल्क जाँच तथा उपचार गर्ने असपताल प्रशासनले जनाएको छ।

नेपाललगायत विकासोन्मुख देशहरूमा रेटिनोब्लास्टोमाबाट अधिकतम ५० प्रतिशत मृत्यु हुने डा.पूर्णिमा राजकर्णिकार बताउँछिन्। विकशित देशहरूमा भने ५ प्रतिशत भन्दा कम मृत्यु हुने उनले जानकारी दिइन्।

रेटिनोब्लास्टोमा एक जटिल रोग भए पनि यस रोगको लक्षणलाई बुझी प्रारम्भिक अवस्थामा नै चिकित्सककहाँ गई रोग पत्ता लगाएर उपचार गरेमा बालबालिकालाई पूर्ण रुपमा क्यान्सरमुक्त बनाउनुका साथै बालबालिकाको दृष्टि तथा ज्यान जोगाउन सकिने उनले बताइन्।

रेटिनोब्लास्टोमा भएमा बिस्तारै आँखाको बाहिर तथा शरिरको अन्य अगं जस्तै दिमाग, कलेजो, बोनम्यारोमा फैलिएर बच्चाको ज्यान जान सक्ने जोखिम हुने डा. राजकर्णिकार बताउँछिन्। हाम्रो समाजमा आँखा डेढो भएका तथा कालो भागको बीच भाग सेतो भएका बालबालिकाहरूलाई भाग्यमानी ठान्ने चलन रहेकाले समयमा अस्पताल नल्याउने उनले बताइन्।

उनी भन्छिन, “रेटिनोब्लास्टोमाको लक्षणबारे धेरै मानिसमा ज्ञान छैन। कतिपय मानिसले लक्षणका जटिलतालाई बुझेका हुदैनन् भने कतिपयले बच्चाको रोगलाई लुकाउन अस्पताल ल्याउन ढिला गर्छन्।”

रेटिनोब्लास्टोमा भएका बालबालिकालाई अस्पताल ल्याउँदा रोग जटिल अवस्थामा पुगिसकेको हुने उनी बताउँछिन्। रेटिनोब्लास्टोमा भएका बालबालिकामध्ये ६० प्रतिशतमा एउटा आँखामा मात्र असर देखिन्छ भने ४० प्रतिशतमा दुवै आँखामा देखिन सक्ने उनले जानकारी दिइन्।

उनका अनुसार दुवै आँखामा रेटिनोब्लास्टोमा देखिएमा वंशाणुगत हुने तथा शरिरका अन्य भागमा पनि क्यान्सर देखिने संभावना धेरै हुन्छ। यो रोग लागेका बिरामीका परिवारका अन्य सदस्यमा पनि रेटिनोब्लास्टोमा भएको हुन सक्ने भएकाले अन्य सदस्यको पनि जाँच गराउनुपर्ने उनी बताउँछिन्।

रेटिनोब्लास्टोमा के हो ?

रेटिनोब्लास्टोमा भनेको बालबालिकामा हुने एक वा दुवै आँखाको भित्री भागको पर्दा (रेटिना) बाट पलाउने क्यान्सर हो। यो नवजात शिशुदेखि पाँच वर्ष मुनिका बालबालिकामा देखापर्ने डा. राजकर्णिकार बताउँछिन्।

उनका अनुसार १५ हजार नवजात शिशु जन्ममध्ये एक जनामा देखिने रेटिनोब्लास्टोमाले बालबालिकामा हुने सम्पुर्ण क्यान्सरको ५ प्रतिशत ओगटेको छ। यो रोगको उपचार ढिलो भएमा आँखाको सम्पूर्ण भागमा फैलिएर ज्यान समेत जान सक्ने उनले जानकारी दिइन्।

आँखाको कालो नानीको बीच भागमा असाधारण सेतो ज्योति देखिनु रेटिनोब्लास्टोमाको प्रमुख लक्षण रहेको उनी बताउँछिन्। यस्तो लक्षण देखिए पनि बालबालिका भने स्वस्थ नै देखिने भएकाले बालबालिका तथा अभिभावकलाई यो विषयमा थाहा नहुने उनले जानकारी दिइन्।

लक्षण

आँखाको नानीमा सेतो टीका देखिनु वा दुवै आँखाको नानी उस्तै नदेखिनु,
आँखा डेढो हुनु,
आँखा रातो हुनु,
आँखा दुख्न,
दृष्टि कम हुनु,
आखाँको आकार ठूलो हुँदै जानु र बाहिरतिर आउनु
उपचार नभएमा आँखाको डल्लो बाहिर निस्कने तथा आँखाको आकार असामान्य रूपमा बढिरहनु

उपचार

लेजर तथा शल्यक्रियाबाहेक केमोथेरापी,थरमोथेरापी, क्रायथेरापी र रेडियोथेरापी गरी रेटिनोब्लास्टोमाको उपचार गरिने डा.पूर्णिमा बताउँछिन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved