‘हेड’ र ‘स्पाइनल इन्जुरी’को उपचार सेवाबाट बिरामी लाभान्वित

“कर्णाली प्रदेश सरकारको एकमात्र अस्पताल प्रदेश अस्पताललाई उपकरण र जनशक्ति सम्पन्न बनाउनु प्रदेश सरकारको जिम्मेवारी हो,” सचिव काप्रीले भने, “प्रदेश सरकारले अब यहाँ एमआरई सेवा थप्न प्रयास गरिरहेको छ।”

नेपालभ्युज

‘हेड’ र ‘स्पाइनल इन्जुरी’को उपचार सेवाबाट बिरामी लाभान्वित

सुर्खेत। टाउको (हेड इन्जुरी) र हड्डी (स्पाइनल इन्जुरी) भएका सबै बिरामी यस अघि नेपालगञ्ज वा काठमाडौं जानुपर्ने बाध्यता थियो। यतिबेला त्यो बाध्यता भने बिस्तारै हट्दो छ।

एक वर्षयता यी दुवै रोगको उपचार कर्णालीमा हुन थालेको छ। कर्णाली प्रदेश अस्पताल सुर्खेतमा दुवै खाले समस्याका सामान्य तथा जटिल खालका उपचार हुन थालेपछि यहाँका नागरिकको स्वास्थ्य, समय र पैसाको बचत भएको छ।

वीरअस्पताल ट्रमा सेन्टरमा कार्यरत डा. निलमकुमार खड्का प्रमुख कन्सल्ट्यान्टका रुपमा कर्णाली आएपछि १५ वैशाख २०७८ देखि न्यूरो सर्जरी सेवा शुरु भयो। न्यूरो सर्जरी सेवाको एक वर्ष पुगेपछि प्रदेश अस्पतालले हालै पहिलो वार्षिकोत्सव मनाएको छ।

उक्त कार्यक्रममा डा. निर्मल रसाइलीले कर्णालीमा महिला तथा पुरुष गरी ५४४ ले बहिरङ्ग सेवा लिएको बताए। जसमा महिला २९२ र पुरुष २५२ थिए। वार्ड केसमा महिला १६१ र पुरुष ७४ गरी २३५ ले सेवा लिएको उनले बताए। यसमा सबैभन्दा बढी (३६.५५) २१ देखि ४० वर्ष उमेर समूह लाभान्वित भएका छन्।

वरिष्ठ नर्सिङ अधिकृत प्रभा रावलले उमेर समूहका आधारमा एक वर्षमुनिका ६, १५ वर्षमुनिका १५, ३० वर्षसम्मका १२, ४५ वर्षसम्मका १६, ६० वर्षसम्मका १७, ७५ वर्षसम्मका १० र त्यसभन्दा माथि तीन जनाले टाउको तथा हड्डीको उपचार लिएको बताए।

ठूला खालका समस्यामा पनि कर्णालीमा समाधान हुन थालेपछि अहिले कर्णाली प्रदेश अस्पताल बिरामीको विश्वास र आकर्षणको केन्द्र बन्दै गएको उनको भनाइ थियो।

डा. खड्काले सबै क्षेत्रको सहयोगबाट न्यूरो सर्जरी विभागले यो सफलता पाएको बताए। उनले ध्यान, ज्ञान र विज्ञानको संयोजनबाट मानिसलाई स्वस्थ जीवन जीउन सहयोग पुग्ने जनाए। उनले मेडिकल अधिृकत, रेसिडेन्ट र कन्सल्ट्यान्टको जनशक्ति बढाउन मन्त्रालयसहित अस्पताल प्रशासनलाई अनुरोध गरे।

“हेड र स्पाइनल इन्जुरीको उपचार सेवा शुरु भएपछि कर्णाली प्रदेश अस्पतालबाट यससँग सम्बन्धित जटिल रोगका बिरामीले चैत १ गतेबाट एक लाख पाउछन्,” उनले भने, “यो उपलब्धि अस्पताल परिवारको सहयोगबाट भएको हो।” डा. खड्काले दैलेखमा हेड र स्पाइनल इन्जुरीको सचेतना जगाउने तथा जुम्लामा घुम्ती सेवा सञ्चालन गरिएको बताए।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रलायका सचिव कृष्णप्रसाद काप्रीले न्यूरो सर्जन डा. खड्काले अध्यात्म, योग ध्यानसँग जोडिएको उपचार सेवा थालनी गरेर कर्णालीको स्वास्थ्यमा ठूलो योगदान दिएको भन्दै प्रशंसा गरे। उनले एक वर्षमा प्रदेश अस्पतालको उपचार सेवामा गुणस्तर वृद्धि हुँदै गएको जनाए।

“कर्णाली प्रदेश सरकारको एकमात्र अस्पताल प्रदेश अस्पताललाई उपकरण र जनशक्ति सम्पन्न बनाउनु प्रदेश सरकारको जिम्मेवारी हो,” सचिव काप्रीले भने, “प्रदेश सरकारले अब यहाँ एमआरई सेवा थप्न प्रयास गरिरहेको छ।”

कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा.डा. डम्बर खड्काले कर्णालीमा थप दक्ष जनशक्ति ल्याउन पहल गर्ने बताए। उनले भने, “हामीले मिर्गौला प्रत्यारोपण सेवाका लागि सम्झौता गरिसकेका छौँ। अब नेफ्रोलोजी सेवाको लागि पहल थाल्छौँ र कर्णालीबासीलाई राम्रो उपचार सेवा प्रदान गर्छौं।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved