पदमार्ग नबनाई रकम निकासा गर्ने छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

नेपालभ्युज

पदमार्ग नबनाई रकम निकासा गर्ने छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

काठमाडौं। पदमार्ग नबनाइकनै काम सकिएको झुटो बिल बनाई रकम निकासा गरी मास्ने ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

हुँदै नभएको कामको समेत बढी मूल्यांकन गरी नापी किताब तयार पारेर झुटा बिल बनाई रकम निकासा गरी ८ लाख ८७ हजार ६५३ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुगुको डिभिजन वन कार्यालयका वन अधिकृत भरत बहादुर बुढथापा, सब–इन्जिनियर तथा निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत ६ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ।

अख्तियारले मुगुको डिभिजन वन कार्यालयका बुढथापा, सब–इन्जिनियर गोरसिंह बडुवाल र डिभिजन वन कार्यालय, मुगुमा तत्कालीन कार्यरत असिस्टेन्ट सब–इन्जिनियर (सब–ओभरसियर) रवीन्द्र शाही र काछदेखि छोटासम्म पर्यटन पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष बास्तोला शाही, सचिव विसु नेपाली र कोषाध्यक्ष हरी बहादुर शाहीविरुद्ध आरोपपत्र दायर गरेको हो।

मुगुको सोरु गाउँपालिका–१ को जवलधारास्थित काछदेखि छोटासम्म पदमार्ग निर्माणको लागि मुगुको डिभिजन वन कार्यालयले २०७५-०७६ मा रकम विनियोजन गरेको थियो।

तर लागत इस्टिमेटमा उल्लेख गरेअनुसार काम नगरेको र भएको कामभन्दा बढी परिमाण उल्लेख गरी नापी किताब, भुक्तानी बिल तयार गरी, फिल्डमा काम नगरी ८ लाख ८७ हजार ६५३ रुपैयाँ सरकारी रकम मासेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved